भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकैलाई कारबाही हुनैपर्छ : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उहाँले सुशासनको प्रत्याभूति नागरिकले बालेर मात्रै महसुस नगर्ने भन्दै यसका लागि सरकारको काम गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले भन्नुभयो, “कुनै घटना मात्रैका आधारमा संसद्ले पनि आफ्ना मत बनाउनुहुँदैन । सार्वजनिक जग्गा हडप्ने, कीर्ते नागरिकता बनाउने, सहकारीमा जनताले जम्मा गरेको रकम ठगी गर्ने काण्डमा संलग्न जोसुकै व्यक्ति, जुनसुकै दलको वा जतिसुकै आर्थिकरुपमा सम्पन्न होस्, त्यस्ता व्यक्तिलाई कानुनबमोजिम कारबाही हुनुपर्छ ।”
उहाँले संविधान कार्यान्वयनसँग जोडिएका कानुन बनाउन, अर्थतन्त्र चलायमान बनाउन, सङ्घीयता कार्यान्वयन गर्नेलगायत विषयमा सरकारले पनि प्रयत्न अघि बढाएको बताउनुभयो । यस विषयमा संसद्ले पनि नयाँ ढङ्गले प्रभावकारी रुपमा बैठक सञ्चालन गर्ने योजना अघि बढाएको सन्दर्भमा सबै जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्ने उहाँको भनाइ थियो । अब आरोप प्रत्यारोपभन्दा सकारात्मक रुपमा काम गर्न सबैलाई आग्रह गर्दै महामन्त्री थापाले आफ्नो पार्टीले पनि यस पटक थप जिम्मेवारीपूर्वक प्रस्तुत हुने सङ्कल्प गरेको अवगत गराउनुभयो ।
मुलुकको शिक्षा क्षेत्रमा आमूल सुधार गरी व्यवहारिक बनाउन सकेमा केही हदसम्म अध्ययनका लागि विदेश जाने विद्यार्थी रोकिन सक्ने धारणा व्यक्त गर्दै उहाँले मुलुकमा दक्ष जनशक्ति उत्पादनका लागि पनि शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याउनुभयो । “सदनमा सांसदले लोकरिझाइका लागि नभई मुलुक र जनताको हितका लागि समय तालिकामा काम गर्नुपर्नेछ । अनि मात्र हाम्रो जिम्मेवारी निर्वाह हुनेछ”, उहाँले भन्नुभयो । महामन्त्री थापाले स्वास्थ्य सेवालाई पनि गुणस्तरीय र सुलभ बनाएर आमजनतामा सेवा पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले आफूले केही दिन अघि मात्र पार्टीको अभियानका क्रममा मुलुकका विभिन्न स्थानमा पुग्दा पूर्वाधारको अवस्था बेहाल अवस्थामा भएको पाएको बताउनुभयो । “हामीले पूर्वाधार समयमै निर्माण गर्न सकिरहेका छैनौँ, यो कुनै दल र व्यक्तिको मात्र सरोकारको विषय नभई समग्रतामा असफलता हो”, उहाँले भन्नुभयो, “यसमा कुनै कानुनमा समस्या भएमा त्यस्तो कानुन बदल्ने अधिकार यो संसद्सँग छ । यस पटक संसद्मा यस्ता विषयमा घनिभूतसँग छलफल गरेर समाधानको बाटो पहिल्याउनुपर्ने छ । अनिमात्र नागरिकमा परिवर्तनको आशा र भरोसा जाग्नेछ । यो सबैको जिम्मेवारी हो ।”
सरकार वा सम्बन्धित निकायले निर्देशन दिएर मात्र जनताका समस्या समाधान नहुने तर्क गर्दै महामन्त्री थापाले यसका लागि अतिरिक्त कार्य गर्नुपर्नेमा जोड दिनुभयो । काम गर्ने तरिका नबदली परिणाम फरक नआउने उहाँको भनाइ थियो ।
उहाँले रुसी सेनामा काम गर्न गएका युवाको उद्धारका लागि सरकारले थप पहल गर्नुपर्ने धारणा राख्नुभयो । विभिन्न प्रलोभन दिएर रुसमा युवा लैजाने गिरोहलाई पनि कारबारी गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
फरक प्रसङ्गमा उहाँले जङ्गली जनावरबाट किसानको बालीनाली जोगाउन सरकारले काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले मुलुकमा विप्रेषण भित्र्याउने युवाका कारण नै आज अर्थतन्त्र जोगिएको उल्लेख गर्दै आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन पुँजीगत खर्च बढाउन सुझाव दिनुभयो । अर्थतन्त्रमा सुधारका लागि संरचनागत सुधार आवश्यक रहेकामा जोड दिँदै उहाँले त्यसका लागि सर्वप्रथम जनतामा आत्मविश्वास जगाउने गरी सरकारले काम गर्नुपर्ने धारणा राख्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “हामी संसद्मा ठूलो दल भएका नाताले जनजीविकालगायतका यावत सवालमा सरकारसँग सहयात्रा र सहयोग गर्न चाहन्छौँ । संसद्लाई सार्थक बनाउन शतप्रतिशत जिम्मेवारी निर्वाह गरौँ ।” साथै उहाँले संसद्ले सदनमा राखेका विषय सरकारले निरन्तर जवाफ दिने अवस्थाका लागि काम गर्न आग्रह गर्नुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
समाचार२०८२ फाल्गुन २०, बुधबार ०७:३६निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति
समाचार२०८२ फाल्गुन १९, मंगलवार १९:५९धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा








