शक्ति बल्लभ र बाबुराम पोखरेलको सहकार्यमा ‘सिर्जनाका फूलहरु’

काठमाडौं । संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघको सभाहल विजुलीबजारमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो । गीतकार विश्व बल्लभको प्रमुख आतिथ्यतामा ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रह सार्वजनिक गरिएको हो ।
‘सिर्जनाका फूलहरु’मा प्रतिष्ठित संगीतकार शक्ति बल्लभको एकल संगीत सिर्जना रहेको छ भने गीतकार बाबुराम पोखरेलको एकल शब्द सिर्जना रहेको छ । एल्बममा मनोहर सुनाम र निरज श्रेष्ठको संगीत संयोजन रहेको छ भने भोला पौडेलको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ । एल्बममा आनन्द कार्की, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का, माण्डवी त्रिपाठी, बानिका प्रधान र गीतकार पोखरेलकै स्वर रहेको छ ।
गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइरालाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठित संगीतकार शक्ति बल्लभ, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ, कराँते महासंघका उपाध्यक्ष डा.ओमकृष्ण प्रसाईँ, वरिष्ठ संगीतकार तथा संगीत संयोजक मनोहर सुनाम, रेकर्डिष्ट भोला पौडेल, गायिका माण्डवी त्रिपाठी, पत्रकार सबिता पोखरेल, गायक नवीन कार्की, संगीतकार ज्योतिप्रकाश, गायक चिरञ्जीवि भण्डारी लगायत गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य संघकी सचिव शितल कादम्बिनीले दिएकी थिइन् भने कार्यक्रम संचालन गीतकार तथा पत्रकार सुमन बैरागीले गरेका थिए ।
‘सिर्जनाका फूलहरु’ गीतिसंग्रहमा असाध्यै राम्रो गीत बनेको बताउँदै गायक आनन्द कार्कीले गीतकार बाबुराम पोखरेललाई शुभकामना दिए । संगीतकार शक्ति बल्लभले संगीत उद्योगमा सुरुदेखि आजसम्म निरन्तर सफल यात्रा गर्ने संगीतकारको रुपमा पाएको र आफूले पनि रेडियो नेपालमा ‘जीवनमा धेरै खोला तर्नुछ’ पहिलो गीत गर्दादेखि हालसम्म पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उहाँले छोएका गीतहरु सफल भएका र उहाँको आशिर्वादले आफू पनि सफल भएको बताउँदै संगीतकार बल्लभको प्रशंसा समेत गरे ।
‘सिर्जनाका फूलहरु’ गीतिसंग्रह सार्वजनिकसँगै कार्यक्रमका अतिथि लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले गीतकार पोखरेलाई शुभकामना व्यक्त गर्दै श्रद्धेय संगीतकार शक्ति वल्लभका सिर्जनामा विगतदेखि वर्तमानसम्म कुनै पनि दुर्घटनामा नपरेको बताए । संगीतकार बल्लभले सिर्जना गरेका गीतहरु आफैंमा अब्बल रहेको बताउँदै गीतकार पोखरेलको शब्द सिर्जना पनि मौलिक र शुद्धता रहेको बताए । गाउँमा छँदा नै संगीतकार बल्लभका गीत सुनेर यो क्षेत्रमा लागेको हुँदा उहाँको संस्कारलाई दोस्रो पुस्ताले सिक्नुपर्ने कुरा धेरै भएको बताए ।
त्यसैगरी गीतकार बाबुराम पोखरेलले ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रहमाथि आफ्ना अनुभव सुनाउँदै गाउँमा छँदाको रोधीदेखि साथीभाइको प्रेरणाले गर्दा गीतिलेखनमा लागेको बताए । कृषि विकास बैंकमा छँदा संगीतकार शक्ति बल्लभको संगत गर्न पाएको र उहाँ सिर्जनाले आफूलाई आकर्षित गरेको बताए । गीतकार पोखरेलले आफैंले लेखेको गीतमा २०४२ सालमा नाटक गरिएको अनुभव बताउँदै हरेक शब्द सिर्जनामा कथा बुनेको हुँदा एउटा इतिहास निर्माण भएको बताए ।
त्यस्तै गीतिसंग्रहका संगीतकार शक्ति बल्लभले गीतकार पोखरेलको शब्दमा नै संगीतको लाइन रहेको बताउँदै उहाँका सिर्जना अब्बल रहेको बताए । शब्द लेखनमा फरक शैली र गीतका भाव हुनुमा उहाँसँग रहेको संगीतको ज्ञानले सहज भएको बताउँदै उहाँ राम्रो गायक पनि भएको बताए । सरल शैलीमा अब्बल गीत लेख्न सक्ने क्षमता भएको गीतकारको रुपमा आफूले पाएको संगीतकार बल्लभले बताए ।
कार्यक्रमका प्रमुख अतिथि सम्मानित गीतकार विश्व वल्लभले गीतकार बाबुराम पोखरेलको लेखनमा इमान्दारिता झल्किएको बताए । गीतकार पोखरेललाई शुभकामना दिँदै यो क्षेत्र अति गाह्रो रहेको र लेखनमा अझैं प्रतिस्पर्धा रहेको बताए । संगीतकार, गायक गायिका अब्बल छान्नुभएको कारण गीतकार पोखरेलको शब्द सिर्जनाले पनि मूर्त रुप पाउने बताउँदै ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रहको सफलताको शुभकामना दिए ।
कार्यक्रमलाई समापन गर्दै सभापति रमेश कोइरालाले गीतकार बाबुराम पोखरेलका गीतहरु नेपाली समाजलाई अग्रपंक्तिमा लैजाने गीत भएको बताए । गीतले समाज, मानवजीवनमा प्रभाव पार्नुका साथै व्यक्तिको परिचयलाई अमर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गीतकारहरु पछिल्लो समय मरेर बाँचिरहेका छन् भन्दै ९० प्रतिशत गीतहरु गीतकारको लगानीमा रहेको बताए । गीतसंगीतको क्षेत्रमा प्रष्ट नीति नआएको हुँदा संगीत क्षेत्रमा गीतकारहरु झन् धरापमा रहेको बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार ०८:२३अभिनेता रमित ढुंगानालाई मातृशोक | Celebrity Nepal








