गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न मुख्यमन्त्री शर्माको आग्रह

कर्णाली, फागुन ८ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिनुपर्ने बताएका छन्। कर्णाली प्रदेश अस्पतालको १८ औं स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल प्रशासनको विशेष हात रहेको बताएका छन्।
‘धेरै अस्पतालले बिरामी बढ्दा सेवामा प्रभाव बढेको ठान्छन्, ‘ उनले भने, ‘बिरामी होइन, हामीले रोग बढ्न नदिने गरी गुणस्तरीय सेवाको विकास र विस्तार गर्नुपर्दछ।’
प्रदेश सरकारले दशवटै जिल्लामा स्वास्थ्य सेवाको विकासमा विशेष जोड दिएको बताउँदै संघीय सरकारको केन्द्रीकृत मानसिकताले केही अप्ठ्यारो परेको टिप्पणी गरे। उनका अनुसार स्वस्थ र शान्त नागरिकमात्र समाजमा खुसी र सुखी हुन सक्छ। नेतृत्वले त्यो वातावरण निर्माणतर्फ सोच राख्नुपर्दछ। अस्पतालको सेवा वृद्धि र जनशक्ति व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश अस्पताल प्रदेश सरकारको बजेटमा उच्च प्राथमिकतामा परेको जनाए। उनले भने, ‘नागरिक सेवा सर्वसुलभ बनाउन गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरौं। जनसरोकारका सवालहरूलाई बृहत्रुपमा छलफलको विषय बनाऔं।’
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश अस्पताल प्रदेश सरकारको गर्व गर्न लायक स्वास्थ्य संस्था बन्दै गएकाले यसलाई विशिष्ट स्वास्थ्य संस्थाका रुपमा विकास गर्नुपर्ने सुझाए। कर्णाली सरकारका प्रमुख सचिव चुडामणि पौडेलले अस्पतालको सेवालाई आधुनिकीकरण गरी विशेषज्ञ सेवालाई गाउँमा पुर्याउनुपर्ने सुझाव दिए
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले आठ वर्षको कार्यकालमा आठ उपलब्धि हासिल गरेको बताए। भौतिक पूर्वाधारमा भएको विकास, जनशक्तिको पर्याप्तता, आधुनिक स्वास्थ्य उपकरण जडान, अस्पतालको सेवामा सुधार तथा विस्तार, जटिल खालका रोगको निदान तथा उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र कोरोना महामारीसँगको साहसिक लडाइँ, अस्पतालको सर्वांगीण विकासका लागि सरोकारवालासँगको प्रगाढ सम्बन्ध र सहकार्य तथा यी सबै प्रयासबाट आर्जित जनविश्वास प्रमुख उपलब्धि भएको उनले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा. मंगल रावलले पश्चिम नेपालको हिमाली क्षेत्र अवस्थित प्रतिष्ठान र प्रदेश अस्पतालबीचको सहकार्यले कर्णालीका नागरिकको स्वास्थ्य अवस्था जुरुक्कै माथि उठ्ने बताए। उनले भने, ‘बिरामी चाप बढ्नुले कतै हामीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन सकेनौं कि भन्नेबारे गम्भीररूपले सोच्नै पर्दछ।’
प्रतिष्ठानमा ९० भन्दा बढी विशेषज्ञसहित तीन सय ५० जनशक्ति रहेको जनाउँदै उपकुलपति रावलले ग्रामीण स्वास्थ्यको अध्ययन केन्द्र जुम्ला बन्ने जिकिर गरे। प्राज्ञिक संस्था र अस्पताल दुवै एक अर्काका परिपूरक भएकाले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न








