Home समाचार मानसिक रोगले ग्रसित फुरदिकु : उपचार गर्न खर्च नहुँदा खोरभित्र

मानसिक रोगले ग्रसित फुरदिकु : उपचार गर्न खर्च नहुँदा खोरभित्र

3
0

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो ।

श्रीमान्‌को मृत्युपछि छ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किनुभएकी फुरदिकु गत माघ ३ गतेदेखि आफैँ बिरामी पर्नुभएको छ । मानसिक रोगले ग्रसित फुरदिकुलाई अहिले परिवारका अन्य सदस्यले माइती घर अगाडि काठको खोर बनाएर त्यसभित्र राखेका छन् ।

काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोरजस्तो ठाउँमा राखिएकी फुरदिकुलाई परिवारका अन्य सदस्यले त्यही ठाउँमा खाना खाने र सुत्ने व्यवस्था मिलाइ दिएका छन् । बुबा पेमाछेतर र आमा निम्ले शेर्पाकी जेठी छोरी फुरदिकुलाई गत माघ १६ गतेदेखि खोरमा राखिएको छिमेकीले बताएका छन् ।

मानसिक रोगले ग्रसित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पालाई नियन्त्रण गर्न राखिएको खोर ।

घर छाडेर हिँड्ने, गालीबेइज्जत बोल्ने तथा आफ्नो अगाडि देखा परेका जोकोही मानिसमाथि जाइलाग्ने व्यवहार देखाउन थालेपछि छोरी फुरदिकुलाई नियन्त्रण गर्न खोरभित्र राख्नुपरेको बुबा पेमाछेतरले बताउनुभएको छ ।

“फुरदिकु १६ वर्षकै उमेरदेखि मानसिक रोगी थिइन् । उनलाई दुई वर्षअघि पाटन अस्पताल काठमाडौँमा लगेरसमेत उपचार गरियो । दुई महिना पाटन अस्पताल राखेर ल्याएपछि ठीक भएको थियो”, उहाँले भन्नुभयो, “उनीलाई पुनः सोही प्रकृतिको बिरामी बल्झिएको छ । उनीलाई सम्झाएर नियन्त्रण गर्न नसक्ने अवस्था छैन । बिगार गर्न नदिनका लागि खोरमा राख्न बाध्य भएका छौँ । उसको उपचारमा रु सात लाखभन्दा बढी खर्च भइसक्यो । आम्दानीको स्रोत छैन । पुनः उपचार गर्न पाएको खण्डमा ठीक हुन्छ भन्ने लाग्छ । तर, हामीसँग खर्च छैन । कसैको सहयोग पाए उपचारमा लैजान्थ्यौँ ! छोरी हो । माया लाग्छ ! तर, बाध्य भएर खोरमा राख्नुपरेको छ ।”

यो पनि पढ्नुहोस् :  बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

आमा फुरदिकुलाई खोरभित्र राखिएपछि कक्षा–३ मा अध्ययनरत छोरा पसनुरीको हेरचाह बाजे÷बजूले गर्दै आएका छन् । बुबा÷आमाको रेखदेख तथा हेरचाह आवश्यक पर्ने अवस्थामा बुबाको मृत्यु तथा आमा बिरामी भएपछि छ वर्षीय बालक (पसनुरी)को भविष्य अन्यौलमा परेको देखिएको छ ।

फुरदिकुलाई गत माघ २१ गतेदेखि जिल्ला अस्पताल खोटाङबाट मानसिक रोगसम्बन्धीको औषधि खरिद गरेर सेवन गराइरहेको आमा निम्लेले बताउनुभएको छ । “औषधि खाएको केही समयसम्म ठीक हुन्छ । औषधिले काम गर्न छाड्ने बित्तिकै मनलाग्दी बोल्छ । बेसुरमा गीत गाउँछ । आफ्नो अगाडि मान्छे आएको देख्नासाथ मुखमा जे आउँछ त्यही बोल्छ । गाउँमा बसिएको छ । आफन्तहरु आउँछन् ।

उनीहरुलाई बसिसक्नु दिँदैनन्”, उहाँले भन्नुभयो, “फकाएर औषधि सेवन गराएपछि होसमा आएको समयमा खाना तथा खाजा माग्छ । खाना तथा खाजा राम्ररी खान्छ । बाहिर निकाल्यो भने हिँडिहाल्छ ! यसअघि पनि तीन÷चार दिनसम्म हराएपछि खोजी गरेर ल्याएका थियौँ । उसको गोठाला गरेर बसौँ घर खेती गर्नुपर्छ ! नगरौँ सबै थोक बित्छ । ”

सामान्य घरखेतीबाट परिवार चलाउँदै आएका शेर्पा दम्पतीलाई जेठी छोरी फुरदिकुमा देखिएको समस्याले झनै समस्या भएको छिमेकी दोर्जे शेर्पाले बताउनुभयो । “पाँच सन्तानका बुबा-आमा पेमाछेतर र निम्लेलाई ठूलो समस्या आइलागेको छ ।

छिमेकमा बसेका हामीले गर्नसक्ने भनेको अर्मपर्म हो । त्यस्तो सहयोगले उनीहरुको समस्या समाधान हुनेवाला छैन”, उहाँले भन्नुभयो, “पेमाछेतर र निम्लेलाई परेको समस्यामा सरकारको ध्यान जान जरुरी छ । उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन । यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ ।”

विसं २०६६ मा नुनथलास्थित जालपा माध्यमिक विद्यालय नुनथलाबाट प्रवेशिका उत्तीर्ण गर्नुभएकी फुरदिकुलाई सुरुमा धामीझाँक्रीसमेत लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।

विसं २०५० साउन १५ गते जन्मनुभएकी फुरदिकुमा देखिएजस्तो लक्षण यसअघि बुबा पेमाछेतर र आमा निम्लेलाई समेत देखिएको र उनीहरुको समस्या विस्तारै ठीक भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् :  उपत्यकाका पालिका र मातहतका निकायमा आइतबार सार्वजनिक बिदा

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleकवि सृजना अर्यालको बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पण
Next articleनारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने