बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

ढोरपाटन (बागलुङ), १८ फागुन । बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरीहुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो ।
बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पातलमा आउने गरेका छन् भने गाउँ–गाउँमा भने बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने गर्दै आएका छन् ।
अहिले हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। पहिले बजार आसपासका गर्भवतीमात्रै स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने गरे पनि ग्रामीण क्षेत्रबाट कम आउने गरेको उनको भनाइ छ ।
हाल गाउँका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जनशक्ति व्यवस्थापनपछि टाढाका गर्भवतीलाई सहज हुँदै गएको प्रमुख खनाल बताउँछन् । कहिलेकाहीँ टाढाबाट स्वास्थ्य संस्थामा आउँदाआउँदै बाटोमा समेत नवजात शिशु जन्मने गरेको उनको भनाइ छ ।
“अहिले नागरिकमा चेतनाको वृद्धि भएको छ, पहिलेजस्तो घरमै शिशु जन्माउनुपर्छ भन्ने सोचको अन्त्य भएको छ, गर्भवतीको घरघरमा स्वयंसेविका पठाउने, फोन, एसएमएसमार्फत जानकारी गराउने गर्छौँ, जनचेतना फैलियो, उहाँहरू पनि सचेत हुनुभयो, त्यही भएर घरमा बच्चा जन्माउने अवस्थाको अन्त्य भयो”, उनले भने, “अहिले त गर्भवतीको मोबाइलमा गर्भ जाँच्न आउनु भनेर म्यासेज जान्छ, त्यही भएर पनि कसैले घरमा नवजात शिशु जन्माउनुहुन्न ।”
उनका अनुसार बागलुङ नगरपालिकाको १४ वटा वडामा २३ स्वास्थ्य संस्था छन् । ती मध्ये सात स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा छ । नगरपालिकामा एउटा नगर अस्पताल, नौवटा स्वास्थ्य चौकी, तीनवटा आधारभूत स्वास्थ्य केन्द्र, आठवटा सहरी स्वास्थ्य एकाइ र एउटा मातृ तथा शिशु क्लिनिक रहेका छन् । स्वास्थ्यसम्बन्धी सेवासुविधा बढेपछि नागरिकले समस्या भोग्नु नपरेको उनको भनाइ छ । गत वर्षको तथ्याङ्कमा धवलागिरि अस्पतालमा मात्रै एक हजार महिला सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले सबै नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउनका लागि नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको बताए । आमा र शिशुको ज्यानको सुरक्षाका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुन जरुरी रहेको हुँदा नगरपालिकाले सोहीअनुसार प्रोहोत्सन गर्दा अहिले पालिका शून्य होमडेलिभरी हुन पुगेको उनको भनाइ छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष ठूलो लगानी गर्दै आएको र नागरिकले सोहीअनुसार सेवासुविधा पाउन थालेको उनको भनाइ छ ।
उनले भने, “सबैभन्दा ठूलो स्वास्थ्य हो, नागरिकको स्वास्थ्य बचाउनु हाम्रो दायित्व हो, यसमा हामी प्रतिबद्ध भएर लागेका छौँ, बजार क्षेत्रका नागरिकले त धवलागिरि अस्पतालबाट सेवा लिन सक्नुहुन्छ, गाउँबाट आउनेलाई समस्या हुन्छ, त्यसले गर्दा गाउँगाउँका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने र गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ, नगरपालिकाभरि एम्बुलेन्स सेवा पनि सञ्चालन गरिरहेका छौँ ।” रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३९हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर
समाचार२०८२ भाद्र ३०, सोमबार १२:५७मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ
समाचार२०८२ भाद्र ३०, सोमबार १२:३३नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
कला, विचार/मनोरञ्जन२०८२ भाद्र २९, आईतवार २१:११‘रिमै’ सोमबारबाट हल सञ्चालनमा आएसँगै प्रदर्शनमा आउने