ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

टीकापुर, १ चैत । ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ । पचहत्तर वर्ष उमेर लागेकी उनलाई ग्याष्ट्रिकको समस्याले सताएको छ । यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहनुपरेको उनी बताउँछन् । “चिसोमा पनि दमले सताउने, गर्मीमा पनि गाह्रो हुने गर्छ”, उनले भने, “खानपानमा निकै ध्यान दिनुपर्छ । शरीर कमजोर हुँदै गएको छ । स्वास्थ्यमा पनि विभिन्न समस्या देखिने गरेका छन् ।”
कैलालीकै कृष्णादेवी सञ्याजललाई मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी समस्याले सताउने गरेको छ । “नियमित औषधि खान्छु, दीर्घरोगले सतायो”, उनी भन्छन्, “ बुढेसकालमा हाम्रो स्याहारसुसार गर्न परिवारलाई पनि समस्या हुने गरेको छ ।” उमेर ढल्कदै जाँदा मानिस शारीरिक रुपमा कमजोर हुँदै जान्छ । शारीरिक कमजोरी र उचित स्याहारसुसारको कमी र खानपान असन्तुलनले बुढेसकालमा विभिन्न खाले स्वास्थ्य समस्या देखा पर्दछन् । उनीहरु बुढेसकालमा ज्येष्ठ नागरिकलाई उचित स्याहार र परिवारको माया चाहिने बताउँछन् ।
अर्का ज्येष्ठ नागरिक शिव गौचनलाई पनि विभिन्न खाले रोगले सताएको छ । नियमित औषधि खानुपर्ने समस्या रहेको उहाँको भनाइ छ । “शरीरमा कहिल्यै आराम छैन, औषधिको सहारामा ज्यान बाचेको छ”, उनले भने, “शरीरमात्र होइन मन पनि उमेर ढल्कदै जाँदा कमजोर हुने रहेछ ।”
टीकापुरकै मनबहादुर रावललाई पनि उच्च रक्तचापको समस्या रहेकाले नियमित औषधि सेवन गरिरहेका छन् । उनी सरकारले भत्ता उपलब्ध गराएर राम्रो गरिरहेको बताउँछन् । “म जस्ता नागरिकलाई सरकारले भत्ता उपलब्ध गराएर राम्रो काम गरेको छ”, उनी भन्छन्, “त्यही भत्ताले आफ्नो खर्च चलाउन पुगेको छ । सरकारले स्वास्थ्य बीमा गरिदिएर औषधि उपचारमा सहज भएको छ ।”
मोती ढोली पनि विभिन्न खाले स्वास्थ्य समस्याबाट ग्रसित छन् । छोरा बुहारी भारतमा भएकाले उनलाई कामकाजमा समस्या हुने गरेको छ । असी वर्ष पुग्न थालेकी धना ढुङ्गानालाई मधुमेहका कारण बढी समस्या हुने गरेको छ । उमेर ढल्केसँगै हातखुट्टा दुख्नेलगायतका समस्याले सताएको छ ।
टीकापुरकै गजमति थारु पनि नियमित औषधि खान्छन् । गजमतिले घरमा सबै काम गर्छन् । कृपाराम सञ्जाललाई उच्च रक्तचापले असर गर्दा राम्ररी बोल्न समस्या हुने गरेको छ । दुई वर्षदेखि उनको स्वास्थ्यमा समस्या छ । छोराहरु रोजगारीका सिलसिलामा अन्य मुलुक रहेकाले बूढाबूढी मात्र बसिरहेका उनी बताउँछन् ।
ज्येष्ठ नागरिक अधिकांश दीर्घरोगको समस्या झेलिरहेका छन् । यस्तो बेलामा स्थानीय सरकारले उनीहरुको उपचार सहजताका लागि ज्येष्ठ नागरिक शिविर, स्वास्थ्य बीमाजस्ता कार्यक्रम गरिरहेको छ । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल पालिकाले नसर्ने जटिल रोग भएका ज्येष्ठ नागरिकलाई उपचार खर्चमा समेत सहयोग गरिरहेको बताए । “हामी ज्येष्ठ नागरिकका समस्यामा गम्भीर छौँ । हामीले उनीहरुलाई उपचारमा प्राथमिकता दिने गरेका छौँ”, उनले भने, “ज्येष्ठ नागरिकको मनोसामाजिक अवस्था बुझेर परिवारले स्याहार गर्न आवश्यक छ ।”
टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ६८ वर्षमाथिका चार हजार ६२१ र ६० वर्षमाथिका ज्येष्ठ नागरिक दलित ७४० जना छन् । ज्येष्ठ नागरिक एकल महिला ६० वर्षमाथिका ६२७ जना छन् । ज्येष्ठ नागरिकलाई उपचार र स्याहार मात्र होइन मनोसामाजिक रुपमा बलियो महसुस गराउन, उनीहरुलाई सामाजिक तथा व्यक्तिगत काममा सक्रिय बनाउने प्रयास हुनुपर्ने ज्येष्ठ नागरिकका अगुवा सरोज रेग्मीले बताए ।
“हामीजस्ता उमेर ढल्केकालाई पनि दैनिकी जीवनमा सक्रिय राख्नुपर्छ, जसका लागि परिवार महत्वपूर्ण हुन्छ”, उनी भन्छन्, “म सामाजिक काममा सक्रिय छु । यसले मानिसलाई ऊर्जावान् बनाउँछ । मनमा उत्साह भएमा बुढ्यौलीले पनि हार्छ । मानिसले काम गरिरहेमा शरीर पनि फुर्तिलो हुन्छ ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार २२:०४जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार १६:४२चारु : श्रीकृष्ण शर्मा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार ०८:५०कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल








