विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गरिने भएको छ ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेशन, नयाँदिल्लीको संयुक्त आयोजनामा चैत १४ देखि १६ गतेसम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेका सन्दर्भमा सम्मेलनमा छलफल हुनेछ । नेपाल र भारतमा संस्कृतका धेरै विश्वविद्यालय, महाविद्यालय र विद्यालय छन् । नेपाल, भारतबाहेकका विभिन्न विदेशी विश्वविद्यालयमा समेत संस्कृत अध्ययन गर्ने, गराउने धेरै शोधार्थी, प्राध्यापक रहेका छन् ।
  प्राचीन संस्कृतका ग्रन्थको ज्ञानलाई वर्तमानमा पनि प्रयोग गर्ने परिपाटी विकसित हुँदै आएको छ । विश्वभरिको संस्कृतको नेतृत्व संशाधन एवं जनशक्तिका दृष्टिले नेपाल र भारतले मात्र गर्न सक्छन् र गर्नुपर्दछ भन्ने अपेक्षा विश्वले नै गरेकाले यससम्बन्धी छलफल गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक डा प्रेमराज न्यौपानेले जानकारी दिनुभयो ।
नेपाल–भारत संस्कृत सम्मेलन यसअघि पनि नेपालमा भएका थिए । नेपालमा विसंं २०२४ मा पहिलो पटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यस सम्मेलनले नेपालमा संस्कृत विश्वविद्यालय स्थापना गरिनुपर्ने घोषणापत्र जारी गरेको थियो । त्यही सम्मेलनदेखि संस्कृत विश्वविद्यालय स्थापनाका बारेमा बहस सुरु भएको थियो । फलस्वरुप विसं २०४३ मा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना भयो । विसं २०६३ वैशाख ११ गतेको परिवर्तनपछि विश्वविद्यालयको नाम फेरि नेपाल संस्कृत विश्वविद्यालय राखिएको हो ।
त्यसैगरी दोस्रो पटक २०५१, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौँमा नेपाल–भारत संस्कृत सम्मेलन भएको थियो । यस वर्ष हुने सम्मेलनले नेपालको संस्कृतको  गतिविधिलाई भारतमा एवं भारतमा भइरहेको संस्कृतको कामबारे पनि नेपालमा परस्पर बोध गराउने संयोजक न्यौपानेले बताउनुभयो ।
नेपाल तथा भारतको भूमि संस्कृत भाषा, साहित्य, ज्ञान–विज्ञान आदि अनेकौँ विषयवस्तुको उद्गमस्थल मानिन्छ । नेपाल र भारत दुवैको सामरिक एवं साझा सम्पत्तिका रूपमा संस्कृतभाषा प्राचीनकालदेखि रहेको छ । नेपाल एवं भारतमा पनि वर्तमान औपचरिक शिक्षाको प्रारम्भ हुनुभन्दा पहिलेदेखि नै संस्कृतको अध्ययन अध्यापन विभिन्न व्यक्ति तथा संस्थाका माध्यमबाट हुँदै आएको छ ।
भारत र नेपालका विभिन्न स्थानमा पनि संंस्कृतको सुदीर्घ परम्परा अझै विश्वले नै देखिरहेको सम्मेलन आयोजक समितिले जनाएको छ । दुवै देश अहिलेको राजनीतिक सीमामा स्थापित हुनुभन्दा पहिलेदेखि नै संस्कृत भाषा र यसमा नीहित ज्ञानको भण्डारलाई साझा सम्पत्तिकारूपमा सहजै आदानप्रदान गर्ने गर्दथे । यसको आज अझ बढी आवश्यकता रहेकैले सम्मेलन आयोजना गरिएको जनाइएको छ । ‘विद्या हराए काशी जानु’ भन्ने उखान अहिले पनि जनजनमा स्मरणीय छ ।
नेपाल तथा भारतका संस्कृतका विशिष्ट विद्वानले गर्ने आपसी संवादबाट संसारको कल्याणका लागि संस्कृतको महत्वपूर्ण भूमिका हुने विषयलाई सम्मेलनले स्थापित गर्ने जनाइएको छ । साथै आगामी गन्तव्य के कस्तो हुनुपर्दछ भन्ने निर्धारण गर्नु आजको आवश्यकता हो भन्नेमा विद्वान्को एकमत रहेको सन्दर्भमा तीन दिवसीय संस्कृत सम्मेलन आयोजना गर्न लागिएको हो । “दुवै देशको विकासको आधार संस्कृत हो । परिवर्तित वैश्विक सन्दर्भमा संस्कृतले कसरी हामीलाई दिशानिर्देश गर्न सक्दछ भन्ने गहन पृष्ठभूमिका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो”,आयोजक समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल र भारतका संस्कृतसम्बन्धी साझा धारणा यस सम्मेलनबाट निश्चित हुने जनाइएको छ । त्यसबाट विश्वभरिकै नेतृत्व दुवै देशका संस्कृतज्ञले लिन सक्षम हुने र ऐतिहासिक संस्कृत सम्मेलन बन्नेछ भन्ने विश्वास लिइएको छ ।
‘नेपाल र भारतको विकासमा संस्कृतको योगदान ः दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्धिक विकासको विशिष्ट अध्ययन गर्नु’, ‘संस्कृतको वैश्विक प्रभाव ः विश्वका विभिन्न भाषाहरूमा संस्कृतका प्रभाव’का बारेमा छलफल गर्दै त्यसको सान्दर्भिकताका विषयमा चिन्तन गर्नु सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनमा नेपाल र भारतका गरी ८० जना विद्वान्को सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
संस्कृत सम्मेलनको उद्घाटन पहिलो दिन चैत १४ गते गरिने छ । चैत १५ र १६ गते दुई दिन विशेषज्ञबाट प्रस्तुति हुने आयोजक समितिले जनाएको छ । सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय तथा केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीका उपकुलपतिलगायत अन्य विभिन्न विश्वविद्यालयका उपकुलपति तथा विशिष्ट आचार्यको उपस्थितिमा अनुसन्धानमूलक कृतिको प्रस्तुतीकरणसमेत गरिनेछ ।
सम्मेलनमा नेपाल र भारतका संस्कृतसँग सम्बन्धित विषयवस्तुमाथि गहन विमर्श गरिनेछ । वरिष्ठ प्राध्यापकबाट अनुभव, ज्ञान र विज्ञतामा आधारित विषयवस्तुको प्रस्तुतिले सम्मेलनलाई विद्वत्तापूर्ण बनाउने विश्वास गरिएको छ । नवीन चिन्तन प्रणालीलाई संस्कृतले कसरी धारण गर्नुपर्छ भन्ने विषयमा समेत परामर्श हुनेछ । विश्वभर संस्कृतको विस्तार गर्न नेपाल र भारतका विद्वान्को योगदानबारे चर्चा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *