चलचित्र ‘बोक्सीको घर’ मा केकीको ‘बोक्सी लुक्स’ सार्वजनिक

चलचित्र ‘बोक्सीको घर’ मा केकीको ‘बोक्सी लुक्स’ सार्वजनिक

काठमाडौँ। आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’ को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो ।

उक्त लुक्सलाई सिनेमाकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । ‘बाेक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।

प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । ‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले भनिन् ।

लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दाेबल्दाे सामाजिक विषयवस्तुमा सिनेमा बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।
सिनेमा ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले यो सिनेमा निर्माण गरेका हुन् । बद्री अभिनेत्री केकीका पिता हुन् । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ ।

अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण गरिएको उनको भनाई छ ।

सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । सिनेमाका कार्यकारी निर्माता राज घिमिरे हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।

यो पनि पढ्नुहोस् :  शंकर र उषाको ‘मायाको राज्य’ सार्वजनिक (भिडियो)

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।