रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

धादिङ, जेठ ०५ गते ।
रुवीभ्याली गाउँपालिका–१, लिन्जोमा चौरी तथा भेडा पालक किसानलाई लक्षित खर्क व्यवस्थापनसम्बन्धी ५ दिने तालिम सुरु भएको छ।
डिभिजन वन कार्यालय धादिङ, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा गण्डकी जलाधार कार्यालयको संयुक्त आयोजनामा आजदेखि तालिम सुरु भएको हो ।
डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यको अध्यक्षता भएको तालिमको उद्घघाटन गाउँपालिका अध्यक्ष राम सिं तामाङले गर्नु भएको थियो । कार्यक्रममा एलिना आले मगरले स्वागत मन्तव्य राख्नु भएको थियो ।
तालिममा चौरी तथा भेडा पालनमा किसानले भोग्दै आएका समस्या, खर्क व्यवस्थापनमा देखिएका चुनौतीहरू, जलवायु परिवर्तनका कारण वनस्पति प्रजातिमा आएको परिवर्तन, खोर र गोठको व्यवस्थापनबारे विस्तृत छलफल हुने बताइएको छ । तालिममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सुनिल सापकोटाले सहजीकरण गरिरहेका छन्।
कार्यक्रमको क्रममा स्थानीय चौरी तथा भेडाका खर्क र गोठहरूको स्थलगत अध्ययन पनि गरिनेछ । त्यहाँका प्राकृतिक स्रोतसाधनको उपयोग, खर्क क्षेत्रको सुधार, र घाँसीय वनस्पतिको संरक्षण तथा बृद्धिका उपायहरूमाथि व्यवहारिक अभ्यास गरिने डिभिजन वन अधिकृत आचार्यले बताउनुभयो ।
किसानहरूले हाल सामना गरिरहेका समस्या जस्तै उत्पादनमा कमी, बजार पहुँचको अभाव, परम्परागत विधि र प्रविधिको सीमित प्रयोग, र खर्कमा रुख तथा झाडीहरू विस्तार भएसँगै घाँसको क्षेत्र घट्दै गएको विषयहरू उठाएका छन्। तालिमले यिनै समस्यालाई सम्बोधन गर्ने र समाधानका उपायहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ।
डिभिजन वन कार्यालयका अनुसार तालिमको मुख्य उद्देश्य परम्परागत पशुपालन पद्धतिमा आधुनिक प्रविधिको समावेशीकरण गर्दै किसानलाई व्यावसायिक तथा दिगो प्रणालीतर्फ अभिमुख गराउनु हो। कार्यक्रममा पशु विज्ञ डा. उमेश घले लगायत डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्य, सुनिल सापकोटा, र एलिना आले मगरले विभिन्न विषयमा सहजीकरण गर्नुहुनेछ ।
पालिका अध्यक्ष रामसिं तामाङले तालिमका अवसरमा बोल्दै रुवीभ्याली–१ र २ मा उल्लेख्य संख्यामा चौरी र भेडा पालक किसान रहेको उल्लेख गर्दै, पालिकाले किसान हितमा थप पहल र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
५ दिनसम्म चल्ने तालिमबाट किसानहरूले व्यवहारिक ज्ञान हासिल गरी नयाँ दृष्टिकोणका साथ खर्क व्यवस्थापनमा सुधार ल्याउने विश्वास लिइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २०:१०चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १९, शनिबार ०७:१३११ वर्षीया प्रियंकाको आठ वर्षपछि आँखाको ज्योति फर्किँदा…
समाचार२०८३ बैशाख १९, शनिबार ०६:४२सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना








