पोखरामा यु-14 अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सुरु

पोखरा । सुशान्त आमा समूहको आयोजना र सुशान्त बाल क्लबको व्यवस्थापनमा यु-14 अन्तरविद्यालय पुरुष–महिला ह्यान्डबल प्रतियोगिता पोखराको रंगशालामा सुरु भएको छ।
कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोग तथा गण्डकी प्रदेश खेलकुद परिषद्को सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा पोखराका २१ वटा विद्यालयका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिता असार ३ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य पञ्चराम गुरुङले यस्ता प्रतियोगिताले बालबालिकामा अनुशासन, नेतृत्व विकास र सामूहिक कार्यको भावना जागृत गर्ने विश्वास व्यक्त गरे। उनले यस्ता गतिविधिहरू खेलकुदमा मात्र सीमित नभई बालबालिकाको समग्र व्यक्तित्व विकासमा समेत सहयोगी हुने बताए । साथै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको उल्लेख उनले जोड दिए।
प्रतियोगिताको उद्देश्य बालबालिकामा खेलप्रतिको रुचि जगाउनु र उनीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ। छात्र र छात्रा दुवैतर्फ सञ्चालित यो प्रतियोगिताको प्रारम्भिक चरणमा नगरका विभिन्न विद्यालयहरूबीच प्रतिस्पर्धा भइरहेको छ।

सुशान्त आमा समूहकी अध्यक्ष पवित्रा थापाले बालबालिकालाई खेलकुदमा सक्रिय बनाउने र उनीहरूको प्रतिभा देखाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्। यस्ता कार्यक्रमले भविष्यका खेलाडी तयार पार्न मद्दत गर्ने र बालबालिकाले आत्मविश्वास र अनुशासन सिक्ने वातावरण पाउने उनकाे भनाई छ।
प्रतियोगिताको व्यवस्थापन गर्दै आएको सुशान्त बाल क्लबले पनि बालमैत्री कार्यक्रमहरू सञ्चालन गर्ने गरेकाे छ । क्लबले बालबालिकाको विकासलाई पहिलो प्राथमिकता दिएको छ।
सुशान्त बाल क्लबका अध्यक्ष परिवेश थापाले खेलकुदले हामीजस्ता बालबालिकामा आत्मबल र सामाजिक कौशल विकास गर्न सहयोग पुग्ने बताए। उनले यस्ता प्रतियोगिताले हामीमा सहकार्य, आत्मविश्वास र मित्रताको भावना जागृत गर्नुका साथै उज्ज्वल भविष्यतर्फ डोर्याउन मद्दत पुग्ने उल्लेख गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र, शिल्ड र मेडल दिइनेछ। पहिलो स्थान प्राप्त टोलीलाई १३ हजार, दोस्रो स्थानलाई १० हजार र तेस्रो स्थानलाई ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, प्रत्येक खेलमा उत्कृष्ट खेलाडी र प्रदर्शनी खेलाडीलाई सम्मान स्वरूप प्रमाणपत्र दिइनेछ। अनुशासित टोलीलाई पनि प्रमाणपत्रबाट सम्मान गरिनेछ।
सचिव सुदर्शन कोइरालाले सञ्चालन गरकेाे कार्यक्रममा वडा नं. १७ की अध्यक्ष राधिका कुमारी शाही योगी, गण्डकी प्रदेश ह्यान्डबल सङ्घका अध्यक्ष केशव पाठक, कास्की जिल्ला ह्यान्डबल सङ्घका अध्यक्ष चित्रबहादुर थापा, मुख्य रेफ्री रामबहादुर क्षेत्री, रेफ्री साइमन कार्की लगायत उपस्थित थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18651, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









