काठमाडौं। दसैँको फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘बलिदान’ ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो।
निर्देशक सन्तोष सेनका अनुसार, टिजर सार्वजनिक हुनु अगावै चलचित्रका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक सेनले भनेका छन्, “यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन्।”
यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। यस्तै, चलचित्रको प्रचार प्रसारलाई नयाँ उचाइमा पुर्याउँदै निर्माताले देशभर ‘बलिदान ब्यानर’ अभियान चलाएका छन्, जसमा देशैभर विशाल ब्यानरहरू राखिएका छन्। ‘बलिदान’लाई फरक कथावस्तु, सशक्त प्रस्तुतीकरण र भावनात्मक गहिराइका साथ विदेशी चलचित्रहरूको भीडमा समेत नेपाली सिनेमाको अलग पहिचान बनाउने उद्देश्य लिइएको निर्देशक सेनले जनाएका छन्। ‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।