बढ्दैछ विदेशिने युवाकाे भीड: रहर होईन बाध्यता

बढ्दैछ विदेशिने युवाकाे भीड: रहर होईन बाध्यता

पोखरा । सहरका साँघुरा गल्लीमा बिहानको घाम पस्नासाथ जीवनको चहलपहल सुरु हुन्छ । कोही स्कुल जाने बच्चा लिएर दौडिन्छन्, कोही पसलको सटर खोल्दैछन् । म भने आफ्नै कोठामा कुर्सीमा बसेको छु—हातमा तातो चियाको कप, तर कपको तापभन्दा बढी तातो दिमागमा दौडिरहेका विचारहरू हुन् ।

चियाको पहिलो घुट्को नपिउँदै दिनको सूची तयार भइसकेको छ—कोठा भाडा, बिजुलीको बिल, औषधि, अनि कहिल्यै नटुट्ने स–साना खर्चहरू । मध्यमवर्गीय नेपालीको जीवन सधैं एउटा अदृश्य हिसाब–किताब हो—जसको खाता दिमागमै खुल्छ । एक सय रुपैयाँ खर्च गर्नलाई २०० पटक सोच्नुपर्ने बाध्यता ।

यो सोच्ने क्रममा जीवनका स–साना खुसीहरू पनि कहिलेकाहीँ छायामा परेर हराउँछन् । जस्तै, साथीको जन्मदिनमा स–सानो उपहार किन्ने इच्छा, वा बच्चालाई मनपर्ने खेलौना ल्याउने चाहना, सबै हिसाब–किताबको खातामा हराउँछन् ।

केही नयाँ सुरु गर्ने सपना पलाउँछ, तर तुरुन्तै प्रश्न आउँछ—पुँजी कहाँबाट ल्याउने? बैंकले धितो माग्छ, ऋणको ब्याजदर सपना मार्ने हतियार जस्तै हुन्छ । त्यसमाथि राजनीतिक अस्थिरता—आजको नीति भोलि बदलिन्छ, सुरु गरेको योजना आधा बाटोमै अलपत्र पर्छ ।

समाजको नजर
यस्तो संस्कृतिमा, सफलता भन्दा पनि देखावटी प्रमाणको महत्व हुन्छ—जसले गर्दा वास्तवमा मेहनत गरेर बाँच्नेहरूलाई भन्दा, बाहिरबाट चम्किलो देखिनेहरूलाई बढी मूल्य दिइन्छ ।

मोबाइलको स्क्रिनमा देख्छु, विदेशिएका साथीहरू रमाइरहेका छन् । अस्ट्रेलिया, अमेरिका, युके, क्यानडामा । नयाँ घर, गाडी, ब्रान्डेड लुगा र छुट्टिको तस्बिरहरू तर म जान्दछु, ती तस्बिरहरूको पछाडि कस्तो श्रम, पसिना र आँसु लुकेको छ ।

समाजलाई त्यो देखिँदैन् । उनीहरूको नजरमा विदेश गएकै मानिस मात्र ‘सफल’ हुन्छ । यहाँ देशमा १ लाख कमाउनेभन्दा विदेशबाट ३० हजार पठाउनेको इज्जत बढी हुन्छ।

यस्तो मानसिकताबीच आफ्नो इज्जत जोगाउनु यही सबैभन्दा ठूलो युद्ध हो । कसैको प्रगति देख्दा साथ दिने सट्टा तुच्छ पार्ने शब्दको वर्षा हुन्छ । “तँ अझै नेपालमै?” भन्ने मौन प्रश्नले कहिलेकाहीँ शब्दभन्दा गहिरो चोट मनमा दिन्छ ।

परिवारलाई सुनायो भने चिन्ता मात्र बढ्छ, समाजलाई भन्यो भने मूल्य झन् घट्छ । त्यसैले पीडा मनमै थुनिन्छ । कहिलेकाहीँ त यस्तो लाग्छ, यो समाजलाई हाम्रो वास्तविकता भन्दा हाम्रो बाहिरी आवरण बढी महत्वपूर्ण छ । लुगा ब्रान्डेड भए, फोटो चम्किलो भए, अनि मात्र मान्छेले ‘तिमी राम्रो भैरहेका छौ’ भन्छन् ।

बढ्दैछ विदेशिने युवाकाे भीड: रहर होईन बाध्यता

विदेशको मोह कि बाध्यता ?
देशमै बसेर केही गर्ने चाहना अझै मरेको छैन । तर यथार्थ के हो भने,देश छोड्नु अहिले बाध्यता बन्दै गएको छ । यहाँ काम गर्ने वातावरण छैन, अवसर निष्पक्ष छैन, र मेहनत गर्नेको सम्मान अझै दुर्लभ छ ।

जब युवाले आफ्नो जीवनका महत्वपूर्ण वर्षहरू रोजगारी खोज्दै र असफल योजनाहरू टाल्दै बिताउँछन्, तब विदेशको बाटो सजिलो मात्र हैन, सुरक्षित विकल्प झैँ लाग्छ । त्यहाँ पनि संघर्ष छ, तर कम्तीमा मेहनतको मूल्य पाइन्छ ।

नेपालमै बसेर त्यसै किसिमको मूल्य पाउने वातावरणको खोजी गर्नेहरू पनि छन्, तर राजनीतिक अनिश्चितता, अवसरमा पहुँचको असमानता र भ्रष्ट संरचनाले गर्दा त्यो खोज प्रायः असफलमा टुंगिन्छ ।

अहिले स्थिति यस्तो छ कि देशभित्र बस्न चाहनेहरूलाई ‘असफल’ भन्ने सोच हावी छ, अनि विदेश गएकाहरूलाई ‘सफल’को ट्याग सजिलै दिइन्छ । यस्तै सोचले गर्दा, यहाँ मेहनत गर्ने मान्छेलाई सम्मान गर्नभन्दा सजिलो विदेशको हवाई टिकट किनेर जानु ठानिन्छ ।

सामाजिक प्रतिस्पर्धाको चपेटा

शब्दले गर्ने प्रहार खुकुरीभन्दा पनि धारिला हुन्छन् । आजको समाजमा अरूलाई तल पारेर, औकात देखाएर, वा पीडामा रमाउने सोच गहिरो बनेको छ । साथ दिने वाचा सबैले गर्छन्, तर दिने बेला कोही हुँदैन । र, जब आवश्यकता पर्छ, त्यही मानिस प्रयोग मात्र हुन्छ—साथ कहिल्यै पाइँदैन् ।

सहरका चिया पसलदेखि फेसबुकका कमेन्टसम्म, सबै ठाउँमा अरूको जीवनको हिसाब गर्नेहरू भरेका छन् । को कहाँ गयो, के किने, के खायो—यी कुरा चर्चा गर्न सबैलाई समय छ, तर कसैको संघर्ष बुझ्न समय छैन् ।

मध्यमवर्गीयको अदृश्य संघर्ष
मध्यमवर्गीय जीवनमा सपना देख्नु सजिलो छ, तर त्यस्ता सपना पूरा गर्न दिनरात पसिना बगाउनु मात्र पर्याप्त हुँदैन । यहाँ त्यस्तो वातावरण छैन जहाँ अवसर बराबरी होस् । धेरै युवाको क्षमताभन्दा पनि पहुँच, चिनजान र सिफारिसको आधारमा काम बाँडिन्छ ।

यसरी, जब तपाईं मेहनत गरेर पनि नतिजा पाउनु हुँदैन, तब तपाईंको आत्मविश्वास बिस्तारै हराउँदै जान्छ । अनि विदेशको बाटो केवल पैसाको लागि मात्र होइन, आफ्नो आत्मसम्मानको लागि पनि देखिन थाल्छ ।

किनकि यहाँ रहँदा आफूलाई प्रमाणित गर्न धेरैपटक योग्यताको भन्दा पनि पहिचान र सम्बन्धको प्रमाण चाहिन्छ, जुन सबैको हातमा हुँदैन् ।
यो समाजमा सम्मान र इज्जतको मापन विदेशको हवाई टिकटले गरिन्छ । यसैले, हरेक बिहान उठ्दा मनमा एउटै प्रश्न घुम्छ-‘यहाँ सम्मानको वातावरण कहिले आउला? कि भविष्य सुरक्षित गर्न विदेशको बाटो नै समाउनु पर्ने हो?’

त्यो दिन, जब देशमै बसेर इज्जत कमाउन सकिन्छ, जब मध्यमवर्गीयको संघर्षलाई सम्मान दिइन्छ, अनि जब अवसर निष्पक्ष हुन्छ । त्यस दिन यो भीड घट्छ । तर त्यो दिन अझै धेरै टाढा छ ।

त्यस दिनसम्म, कतिपय हामीजस्ता मान्छेहरू बिहानको चियाको कपसँगै विदेशिने योजनाको तातो वाफ फुकिरहेका रहनेछौं—रहरले होइन, बाध्यताले।

तस्बिर: एआईबाट तयार गरिएको

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19226, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =  

Protected by Spam Master