गुन्द्रुक र तोमयाम सुप एउटै मेनुमा

गुन्द्रुक र तोमयाम सुप एउटै मेनुमा

भक्तपुर – नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमा राखेर प्रस्तुत गरिने भएको छ । भक्तपुरको रोयल थाई हस्पिटालिटीमा आगामी भदौ ४ मा हुने भोजन लिपि स्वादको छैटौँ संस्करणमा नेपाली र थाई परिकारको फुड सेलिब्रेसनका क्रममा यी दुई सुपलाई विशेष परिकारका रूपमा प्रस्तुत गरिने भएको हो । भक्तपुरको राधे-राधे स्थित रोयल थाईमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

खाना प्रस्तुतिमा दुवै देशका गरी करिब १ दर्जन परिकार प्रस्तुत गरिने नेपाली खाना प्रवर्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो । यसअघि नेपाली खानाका परिकारहरुमात्र प्रस्तुत गर्दै आएको अभियानले आगामी संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रूपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीहरूको इच्छा पूरा गर्न लागेको संयोजक सापकोटाले बताउनुभयो ।

नेपालमा पहिलो पटक नेपाली र थाई परिकारको संयुक्त खाना उत्सव आयोजना गर्न लागिएको रोयल थाई हस्पिटालिटीका सञ्चालक सेफ गणेश ढकालले जानकारी दिनुभयो । नेपाली उत्पादन गुन्द्रुकलाई विश्व बजारमा लैजान विभिन्न अभियान आवश्यक भएको पनि उहाँले बताउनुभयो ।

भदौ ४ गते खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजको अवसरमा महिलाहरूलाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको सेफ ढकालले पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभयो । कार्यक्रमलाई भव्य बनाउन नेपाल र थाइल्यान्डका उच्च अधिकारीलाई पनि आमन्त्रण गरिने सेफ ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले नेपाली खानालाई विश्व बजारमा लैजान धेरै मिहिनेत गर्नुपर्ने भएकाले यसतर्फ जिम्मेवार सबै निकायले पहल गर्नुपर्ने बताउनुभयो ।

भोजन लिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाल र नेपाल बाहिरका तारे होटेलका मेनुमा नेपाली खाना राख्न सकिने गरी भोजन लिपि स्वादले अभियान अघि बढाएको प्रतिबद्धता जनाउनुभयो ।

त्यस बखत युवा सेफ विक्रम भिक्स, इङ्वा सुब्बा, मानबहादुर तामाङ लगायतले नेपाली खाना प्रवर्धन अभियानमा सहयोगको निरन्तरताको प्रतिबद्धता जनाउनु भयो । अभियानले यसअघि नेपाली खाना प्रवर्धन केन्द्रित विभिन्न पाँच संस्करण सम्पन्न गरिसकेको छ । नेपाली खाना प्रवर्धन अभियानको संयोजकत्वमा भोजन लिपि स्वाद र रोयल थाई हस्पिटालिटी राधेराधेले संयुक्तरुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् । भोजन लिपि स्वाद अन्तर्राष्ट्रिय सेफ द्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित अनुसन्धानमूलक प्रस्तुति हो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   6   =  

Protected by Spam Master