जिल्ला समन्वय समिति कास्कीद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले आर्थिक वर्ष २०८१?०८२ को कार्यसम्पादन प्रगति र २०८२/०८३ का वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको छ।
मंगलबार समितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका प्रमुख लिलाधर पौडेलले संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐनअनुसार समितिले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए।
उनले समन्वय र सहजीकरणमा कुनै कसर नराखेको दाबी गर्दै क्षेत्राधिकारभित्रका विकास निर्माणलगायतका कामबारे छलफल गरी आवश्यक प्रतिवेदन प्रदेश र संघ सरकारलाई बुझाइएकै स्पष्ट गरे। तर, आवश्यक कानून नबनाएकाले प्रदेश सरकारकै कारण कतिपय काम प्रभावित भएको उनको भनाइ थियो।
“व्यवहारिक समस्या, लेनदेनका झन्झट पनि आएका छन्, तर हामीले त्यस्ता धेरै समस्याको समाधान गरेका छौं,” प्रमुख पौडेलले भने। समितिमा संघ सरकारबाट १३ कर्मचारी र आन्तरिक स्रोतबाट ३ जना कार्यरत भए पनि आर्थिक पाटोमा राज्यबाट पूर्ण सहयोग नभएको गुनासो उनले राखे। “१ करोड ६० लाखको बजेटले के पुग्छ र? प्रदेशले छुट्ट्याएको भनिएको १० लाख पनि अहिलेसम्म पाएका छैनौं,” उनले थपे।
यस वर्ष आन्तरिक खर्च कार्यविधि तयार गरिएको उल्लेख गर्दै पौडेलले अब त्यसअन्तर्गत रकम खर्च गर्ने बाटो खुल्ने अपेक्षा व्यक्त गरे। उनले कास्कीमा ढुंगा, गिट्टी, बालुवा जस्ता नदीजन्य वस्तुको ठेक्कापट्टा नलाग्दा करोडौं रुपैयाँ राज्यले गुमाइरहेको तथ्य पनि प्रस्तुत गरे। “यसबारे पटक–पटक छलफल भएको छ, तर ठोस नतिजा आएको छैन। स्थानीय तहले ठूलो राजस्व गुमाइरहेका छन्,” उनले बताए।
सो अवसरमा उनले कानुनमै जिल्ला समन्वय समितिको जिम्मेवारी प्रष्ट परिभाषित नभएकाले पनि काममा चुनौती आउने गरेको बताए।
कार्यक्रममा समितिले २०८२/०८३ का लागि ३७ बुँदे कार्यतालिका सार्वजनिक गरेको छ। त्यसमा तिथिमिति तोकेरै गतिविधि सञ्चालन गर्ने योजना बनाइएको छ। हरेक वर्षको प्रतिवेदन सम्बन्धित मन्त्रालय र गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइने समितिले जनाएको छ।
कार्यतालिकामा स्थानीय तहका प्रमुख–उपप्रमुख तथा प्रशासकीय अधिकृतहरुसँग असल अभ्यास आदान–प्रदान, आन्तरिक नियन्त्रण प्रणाली र आय–व्यय व्यवस्थापन कार्यविधि पारित गर्ने, यातायात क्षेत्रमा देखिएका समस्या र सुधारबारे छलफल, अनुगमन तथा मूल्यांकन, स्थानीय तह साझेदारी कार्यक्रम, अपांगता भएका व्यक्तिका समस्या र कार्यक्रम लगायतका विषय समेटिएका छन्।
कार्यक्रममा समितिकी उपप्रमुख सरिता मालले सहभागीलाई स्वागत गरेकी थिइन् भने जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालन गरेका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19431, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २१:४६साेमबार राति १२ बजेपछि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन
समाचार२०८२ फाल्गुन १७, आईतवार १९:३२मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला
समाचार२०८२ फाल्गुन १७, आईतवार १५:३८कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
समाचार२०८२ फाल्गुन १७, आईतवार १३:४९इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा








