नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवस : दोस्रो दिनको कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव साझा गर्दै दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार प्रस्तुत गरे। उनले हरेक दशकमा दर्शकको मनोवृत्तिमा आएको रूपान्तरणबारे चर्चा गर्दै अहिलेको विश्वव्यापी प्रविधिक क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौतीसँगै अवसर पनि ल्याएको बताए।
त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डका हालका योजना र कार्यसमिक्षा प्रस्तुत गर्दै नेपाली चलचित्रलाई जोगाउन र रोजगारी सिर्जनामा हमालको योगदानको प्रशंसा गरे। उनले हमाललाई “महानायक” भन्नेमा कुनै विवाद नरहेको उल्लेख गर्दै भने, “उनी निर्देशक, निर्माता वा प्राविधिक को भन्ने नसोची निरन्तर काममा लागे, जसले धेरैलाई रोजगारी दियो र संकटमा पनि चलचित्रलाई बचाउन मद्दत गर्यो।”
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा विशिष्ट कलाकार मोहन निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरे। सो अवसरमा चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले कलाकारको बोली र व्यवहारले दर्शकमा पार्ने प्रभावबारे सचेत गराए। विश्लेषक एवं निर्देशक डा. घनश्याम खतिवडाले चलचित्रमा भाषाको महत्वबारे आफ्ना विचार प्रस्तुत गरे।
कार्यक्रममा अभिनेत्री अन्जना बराईलीले आफूले चलचित्र क्षेत्रमा प्रवेश गर्दा कुनै प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउँदै नयाँ महिला कलाकारलाई “डराउनुपर्ने कारण छैन, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ” भन्ने सन्देश दिइन्।
कार्यक्रमको सञ्चालन गोपाल ढकालले गरेका थिए। संयोजकमा अभिनेता सबिन श्रेष्ठ र व्यवस्थापनमा निर्देशक देवेन्द्र पाण्डे सक्रिय थिए। अध्यक्ष निरौलाले संघ सधैं चलचित्र क्षेत्रको विकासका लागि सहकार्य गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गरे।
चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रका दिग्गज कलाकार तथा प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यसअघि, पहिलो दिन राजधानीको भण्डारखालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ३०, सोमबार ११:५४गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र ३०, सोमबार ०७:२८धदिङमा १ अर्ब ५० करोडको फ्रेन्च फ्राइ उद्योगले लेख्दै छ,नयाँ आर्थिक इतिहास
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?








