जिम्मेवारीबाट पन्छिँदै प्रधानमन्त्री ओलीले भने– घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न

जिम्मेवारीबाट पन्छिँदै प्रधानमन्त्री ओलीले भने– घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न

मानवीय क्षतिभन्दा भौतिक संरचनाको सुरक्षामा चिन्ता

जेन–जी पुस्ताको प्रदर्शनमा भएको १९ जनाको मृत्यु र बर्बर दमनको नैतिक जिम्मेवारी लिनुको सट्टा प्रधानमन्त्री केपी ओली अरूलाई नै आरोपित गर्दै पन्छिने प्रयास गरेका छन् । सोमबार साँझ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न भएको बताएर नैतिक जिम्मेवारीबाट पन्छिएका छन् । जबकि घटनाको नैतिक जिम्मेवारी लिएर गृहमन्त्री रमेश लेखकले भने राजीनामा गरेका छन् ।

‘जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रूपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न भयो,’ प्रधानमन्त्री ओलीको वक्तव्यमा छ ।

सुरक्षाकर्मीबाट अत्यधिक र अनावश्यक बल प्रयोग हुँदा धेरै मानवीय क्षति भए पनि प्रधानमन्त्री ओलीले संवैधानिक संस्थाका संरचनाहरू जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भएको जिकिर गरेका छन् । ओलीले वक्तव्य मानवीय क्षतिभन्दा भौतिक संरचनाको सुरक्षालाई मुख्य बनाएका छन् । ‘जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौँ । तर, प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरूका कार्यालयहरूमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरू भए र ती संस्थाका संरचनाहरू जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो,’ उनले भनेका छन्, ‘आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरूले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नुपर्ने स्थिति उत्पन्न भयो ।’

भ्रष्टाचारको नियन्त्रण र सुशासनका लागि जेन–जीले सोमबार देशैभरि प्रदर्शन गरेका हुन् । तर, प्रधानमन्त्रीको वक्तव्यमा सामाजिक सञ्जालको विषयमा मात्र उल्लेख छ । भ्रष्टाचार नियन्त्रणबारे प्रधानमन्त्री केही बोलेका छैनन् ।

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति नलिएको दाबी गरेका छन् । ‘राज्यको कानुन र अदालतको आदेशबमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचीकरण गरी व्यवस्थित रूपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबिच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्नेछ । यसका लागि प्रदर्शन गरिरहनुपर्ने थिएन । र, गरिरहनुपर्ने स्थिति रहन दिइनेछैन,’ उनले भनेका छन् ।

ओलीले प्रदर्शनको क्रममा नागरिकहरूले ज्यान गुमाउनुपरेकोमा अत्यन्तै दु:खी भएको बताएका छन् । ‘यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनुभएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्नेछ र घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्नेछ,’ ओलीले भनेका छन्, ‘आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारणसमेतको छानबिन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरू हुन नदिन चालिने कदमहरूको सिफारिससमेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु ।’नयाँपत्रिका दैनिकबाट साभार 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   8   =  

Protected by Spam Master