चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल

काठमाडौँ । नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग शीर्ष कलाकार, निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा भएको उक्त भेटमा चलचित्रलाई रोजगार, पर्यटन र राष्ट्रिय पहिचानसँग जोडिने उद्योगका रूपमा स्थापित गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको सामूहिक धारणा राखिएको थियो।
अध्यक्ष डिसीले नयाँ सिनेमा हल खोल्ने लगानीकर्तालाई तीन वर्षसम्म कर छुट र भन्सार सुविधा, प्राकृतिक विपत्ति वा द्वन्द्वका कारण बन्द भएका हल पुनः सञ्चालनमा दुई वर्षसम्म कर छुट, र सञ्चालनमा रहेका हलका उपकरण तथा प्रविधि स्तरोन्नतिमा भन्सार छुटको प्रस्ताव प्रस्तुत गरे। साथै, चलचित्र ऐन संशोधन, राष्ट्रिय स्टुडियो निर्माण, चलचित्र कल्याणकारी कोष, तथा हातहतियार प्रयोग र सेन्सर प्रक्रियाबारे स्पष्ट तथा पारदर्शी नीतिको आवश्यकतामा समेत जोड दिइयो।
भेटमा कलाकार केदार घिमिरे, दीपकराज गिरी, जितु नेपाल, प्रदीप खड्का, दीपा श्री निरौला, आर्यन सिग्देल, नीति शाह, रामकृष्ण ढकाल, शिव श्रेष्ठ, रविन्द्र खड्का, सुरेश अधिकारी लगायतको उपस्थिति थियो। निर्देशक दीपेन्द्र के. खनाल, दिनेश राउत, प्रदीप भट्टराई, जनक खड्का, सरोज पौडेल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि सहभागी थिए।
कलाकार दीपकराज गिरीले चलचित्रकर्मीहरू निरन्तर समाज र राष्ट्रको अभियानमा अगाडि रहेको उल्लेख गर्दै मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरे। संघका प्रतिनिधिहरूले कर्णाली प्रदेशमा एक मात्र सिनेमा हल रहेको तथ्य उठाउँदै हल विस्तारमा सरकारी सहजीकरण माग गरे। कलाकार र निर्देशकहरूले सेन्सर बोर्डको मनपरी, विदेशी लगानी नआउनुको समस्या र ड्रोन चित्रीकरणका कानुनी जटिलताबारे पनि चिन्ता व्यक्त गरे।
भेटघाटले चलचित्र उद्योग र सरकारबीच सहयोग र संवादको ढोका अझ खुला गराएको छ। चलचित्र क्षेत्रका प्रतिनिधिहरूले चलचित्रलाई राष्ट्रिय प्राथमिकतामा समेटेर ठोस नीतिगत परिवर्तन हुने आशा व्यक्त गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









