क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

धादिङ,०७ पुस ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति धादिङले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै आगामी संसदीय निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ। पार्टीले आज धादिङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त घोषणा सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा संसदीय लोकतान्त्रिक गणतन्त्रले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्रले देशलाई समृद्धि र जनतालाई रोजगारी दिन असफल भएको छ। भ्रष्टाचार मौलाएको छ, युवाहरू बेरोजगारीका कारण विदेशिन बाध्य भएका छन्।”
पार्टीले २०६२/६३ को जनआन्दोलन र जनयुद्धबाट स्थापित उपलब्धिहरूलाई हालको संसदीय व्यवस्थाले उल्ट्याएको आरोप लगाएको छ। संविधान, कानुन र राज्य संयन्त्र जनताको हितभन्दा सत्तारुढ दल र दलाल पुँजीवादको सेवामा केन्द्रित रहेको दाबी पनि विज्ञप्तिमा गरिएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान सरकारलाई “कठपुतली सरकार” को संज्ञा दिँदै जनयुद्धका मर्म र भावना विपरीत सत्ता सञ्चालन भइरहेको बताएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, दलहरूबीचको सत्ता गठबन्धनले राष्ट्रिय स्वाधीनता, जनजीविका र लोकतान्त्रिक मूल्यलाई कमजोर बनाएको पार्टीको ठहर छ।
आगामी संसदीय निर्वाचनमार्फत जनताको वास्तविक प्रतिनिधित्व नहुने भन्दै पार्टीले त्यसलाई अस्वीकार गरेको छ। निर्वाचन प्रक्रियाबाट निर्वाचित प्रतिनिधिहरू समाजवाद र राष्ट्रिय हितको पक्षमा नभई विस्तारवाद र साम्राज्यवादको प्रतिनिधि मात्र हुने पार्टीको दाबी छ।
विज्ञप्तिमा समाजवाद र वैज्ञानिक समाजवादको स्थापना नै देशको वैकल्पिक मार्ग भएको उल्लेख गर्दै त्यसका लागि संयुक्त सरकार गठन, जनसंघर्ष र नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्न आम जनसमुदायलाई आह्वान गरिएको छ।
पत्रकार सम्मेलनको अन्त्यमा पार्टीले न्यायप्रेमी जनता, मजदुर, किसान, युवा तथा बुद्धिजीवीहरूलाई संसदीय निर्वाचन बहिष्कार गर्दै जनसंघर्षमा सहभागी हुन आग्रह गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ७, मंगलवार २१:२९चुनावी उत्साहाले मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भएको छ: प्रधानमन्त्री
समाचार२०८२ माघ ७, मंगलवार १९:५०देशभर उम्मेदवारको मनोनयन दर्ता उत्साहपूर्ण-आयोग
समाचार२०८२ माघ ७, मंगलवार १९:२८धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)
समाचार२०८२ माघ ७, मंगलवार १९:११नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता







