महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन

पाेखरा ।
महोत्सवको दशौ दिन शनिवार कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका डा. बोधराज ढकाललाई अभिनन्दन गरिएको हो ।
स्याङ्जाको आँधीखोला–६ मा जन्मिएर हाल पोखरा–८ सिमलचौर निवासी ढकाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधामा अध्यापनरत छन् । उनले अनुसन्धानमूलक तथा समीक्षात्मक कृतिहरू प्रकाशन र शोध निर्देशनजस्ता महत्वपूर्ण योगदान गरेका छन्।
कार्यक्रममा साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक डा. कुशुमाकर न्यौपानेले नेपाली भाषा र साहित्यमा ढकालको योगदानको कदर गरिएकोमा खुसी व्यक्त गरे। महोत्सवका मूल संयोजक जानुका अधिकारीले लेखनाथ महोत्सव २०८२ का अवसरमा प्रदान गरिएको यो सम्मान कवि शिरोमणिप्रतिको श्रद्धाको प्रतीक भएको उल्लेख गरिन् ।
साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने पोखरा साहित्य प्रतिष्ठानका स्थापनाकालीन अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरूको वाचनसमेत गरिएको थियो।
अभिनन्दित स्रष्टा डा. बोधराज ढकालले सम्मानले आफूलाई थप जिम्मेवारी र प्रेरणा मिलेको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. जगन्नाथ रेग्मीलगायतले कवि शिरोमणिको साहित्यिक योगदानको स्मरण गरेका थिए।
साथै, कवि लेखनाथसँग सम्बन्धित प्रश्नोत्तरमा सही उत्तर दिने सात जनालाई जनही एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । महोत्सवका अन्य नियमित कार्यक्रमहरू यथावत सञ्चालन भइरहेका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20391, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास







