श्री सिद्ध बराह आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सव एक वर्षसम्म मनाइने

पाेखरा । कास्कीको गुन्टेचौर क्षेत्रमा अवस्थित श्री सिद्ध बराह आधारभूत विद्यालयले स्थापना भएको ६० वर्ष पूरा गरेको अवसरमा हीरक जयन्ती महोत्सव आयोजना गर्ने भएको छ। विद्यालयले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवसम्बन्धी विस्तृत कार्यक्रम सार्वजनिक गरेको हो।
वि.सं. २०२३ सालमा स्थानीय समुदायको श्रम, समर्पण र प्रतिबद्धताबाट स्थापना भएको यो विद्यालय ऐतिहासिक कास्कीकोट क्षेत्र, धार्मिक आस्थाको केन्द्र श्री गुप्तकालिका मन्दिरको छायाँमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण परिवेशमा अवस्थित छ। विद्यालय केवल पठन–पाठनको संस्था मात्र नभई समाज रूपान्तरणको महत्वपूर्ण आधारशिलाका रूपमा स्थापित हुँदै आएको छ।
६० वर्षको अवधिमा यस विद्यालयबाट शिक्षा आर्जन गरेका हजारौँ विद्यार्थी आज देशका विभिन्न क्षेत्रमा शिक्षक, कर्मचारी, उद्यमी, समाजसेवी वैदेशिक राेजगार तथा जिम्मेवार नागरिकका रूपमा सक्रिय छन्। विद्यालयमा अहिले ६२ जना विद्यार्थी र १२ जना शिक्षक, कर्मचारी छन् ।
विद्यालयले समावेशी, गुणस्तरीय, प्रविधिमैत्री तथा समुदाय केन्द्रित शिक्षा प्रदान गर्ने लक्ष्यसहित हिरक जयन्ती मनाउन लागेको जनाएको छ। विद्यालयको ऐतिहासिक यात्रा अभिलेखीकरण, स्मारिका प्रकाशन, शैक्षिक गुणस्तर सुधार तथा अक्षयकोष स्थापना गर्नु महोत्सवको उद्देश्य हाे ।
हिरक जयन्ती महोत्सव २०८२ माघ १० देखि २०८३ माघ १० गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन समारोह २०८२ माघ १० गते शनिबार बिहान ८ः१५ बजे प्रभातफेरीसहित विद्यालय प्राङ्गणमा आयोजना गरिनेछ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व विद्यार्थी तथा स्मारिका तथा ईतिहास संकलन संयाेजक लोकनाथ सुवेदीले विद्यालयले आफूजस्ता हजारौँ विद्यार्थीको जीवन दिशा परिवर्तन गरेको उल्लेख गरे। उनले हिरक जयन्तीलाई विगतको स्मरण मात्र नभई विद्यालयको शैक्षिक उन्नयन र भावी पुस्ताको भविष्य सुरक्षित गर्ने अभियानका रूपमा लिइएको बताए।
त्यस्तै प्रधानाध्यापक रिना शाहले विद्यालयको ६० वर्षे यात्रामा समुदायको भूमिका निर्णायक रहेको बताइन्। उनका अनुसार हिरक जयन्ती महोत्सवमार्फत शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक संरचना सुधार तथा शिक्षक–विद्यार्थी क्षमता विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशीराम सुवेदीले हिरक जयन्तीले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले महोत्सवका क्रममा स्थापना गरिने अक्षयकोष र भौतिक पूर्वाधार विकासले विद्यालयलाई स्थानीय तहकै नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए।
कार्यक्रमकाे प्रचारप्रसार संयाेजक साजन सुवेदीले कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।
महोत्सव अवधिभर शैक्षिक गोष्ठी, शिक्षक तालिम, विज्ञान तथा साहित्य कार्यक्रम, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, कक्षा कोठा, पुस्तकालय, शौचालय र खानेपानीजस्ता भौतिक पूर्वाधार सुधारका कार्य गरिनेछन्। साथै पूर्व शिक्षक तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम पनि आयोजना गरिनेछ।
समापन चरणमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा दाताहरूलाई सम्मान गर्ने, आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने र हीरक जयन्ती स्मृति स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ।
विद्यालय परिवारले स्थानीय सरकार, सञ्चार माध्यम, पूर्व विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी तथा सम्पूर्ण समुदायलाई हिरक जयन्ती महोत्सव सफल बनाउन सहयोग र सहभागिताका लागि हार्दिक आह्वान गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20497, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष २९, मंगलवार २०:१९पोखरामा उद्यम क्लिनिक सुरु
समाचार२०८२ पुष २९, मंगलवार २०:०८१४ औं पोखरा महोत्सव सुरु
समाचार२०८२ पुष २९, मंगलवार ०३:१६मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा वि.क.लाई
समाचार२०८२ पुष २९, मंगलवार ०३:१२टान गण्डकीद्धारा पत्रकार सागर ढकाल सम्मानित






