‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ।
५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन्। यी हलहरूमा चलचित्रले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ।
नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गर्दै ५१ दिनसम्म ४० भन्दा बढी हलमा प्रदर्शन भई करिब १२ करोड रुपैयाँ आम्दानी गरेको ‘ऊनको स्वीटर’ ले भारतमा पनि सशक्त उपस्थिति जनाएको हो। आर्टमान्डू नेपाल प्रा.लि.ले निर्माण गरेको यस चलचित्रको भारत यात्रा सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोबाट सुरु भएको थियो। प्रारम्भिक शोहरूबाट चलचित्र हाउसफुल चलेको थियो।
गान्तोकबाट सुरु भएको यात्राले नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतमा बलियो पकड बनायो। त्यसपछि चलचित्र आसामका गुवाहाटी, तेजपुर, विश्वनाथ चाराली, मार्गेरिटा तथा अरुणान्चल प्रदेशको ईटानगरसम्म विस्तार भयो। कोलकाताका हलहरूमा चलचित्रले आफ्नै दर्शक वर्ग बनाएको छ भने दिल्लीमा नयाँ दर्शक पायो।
पूर्वोत्तर र उत्तर भारतमा पाएको सफलतापछि ‘ऊनको स्वीटर’ महाराष्ट्रको मुम्बईदेखि दक्षिण भारतसम्म पुग्न सफल भयो। केरला, बैंगलोर र हैदराबाद जस्ता सहरहरूमा भाषा फरक भए पनि भावनात्मक अनुभूति एउटै रहेको प्रतिक्रिया दर्शकबाट आएको निर्देशक नवीन चौहानले बताएका छन्।
पश्चिम र उत्तर भारततर्फ मुम्बई, पुणे, चण्डिगढ, लुधियाना, शिम्ला, देहरादून र लखनउसम्म पुगेको यो यात्राले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएको निर्देशक चौहानको भनाइ छ। ५१ दिनको सफलतापछि उनले भनेका छन्, “नोभेम्बर २१ बाट सुरु भएको यात्राले पहिला हिमाल छोयो, त्यसपछि पूर्व, दक्षिण, पश्चिम र उत्तर भारतसम्म फैलियो। भाषा फरक थियो, तर अनुभूति एउटै रह्यो।”
यस चलचित्रमा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ। भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूह ले रिलिज गरेका हुन्। भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि लामो समय भारतमै रहेका थिए।
निर्माण संस्था आर्टमान्डू नेपाल प्रा.लि. ले भारत तथा नेपालभरका दर्शक र साझेदारप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ को अन्तर्राष्ट्रिय यात्राले नेपाली चलचित्रलाई नयाँ बजार र पहिचान दिलाएको विश्वास व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार २०:१२नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार १६:५०कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो








