नवलपरासीपूर्वमा ३० कुष्ठरोगीको उपचार हुँदै

मध्यविन्दु (नवलपरासी), ११ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अहिले ३० कुष्ठरोगीको उपचार भइरहेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का का कुष्ठरोग फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आठ नयाँ कुष्ठरोगीको पहिचान भएको छ । जिल्लामा हाल १२ महिला र १८ पुरुष कुष्ठरोगीको उपचार भइरहेको छ ।
उनले भने, “चालु आवमा मात्र एक महिला र सात पुरुष कुष्ठरोगी भेटिनुभएको छ ।” यस अवधिमा चार महिला र ६ पुरुष नियमित औषधी सेवनपछि निको भएका छन् । आठ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै देवचुली नगरपालिकामा आठ कुष्ठरोगी रहेको फोकल पर्सन तिवारीले जानकारी दिए ।
त्यसैगरी, कावासोती नगरपालिकामा सात, मध्यविन्दु र गैँडाकोट नगरपालिकामा पाँच–पाँच, हुप्सेकोट र विनयी गाउँपालिकामा दुई–दुई र बौदीकाली गाउँपालिकामा एक कुष्ठरोगीले औषधी सेवन गरिरहेका छन् । कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छ्युँ गर्दा रोग सर्ने सम्भावना रहने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशवप्रसाद चापागाईँले बताए ।
“जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरहेको छ”, उनले भने, “समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या क्रमिक रूपमा घट्दै गइरहेको छ ।”
उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन । मुख्य रूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै प्रमुख चापागाईँले भने, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांसपेशीलाई कमजोर पार्छ ।”
छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरू आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिनेजस्ता कुष्ठरोगका लक्षण हुन् । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २३:०४‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २०:५२५ वर्षको प्रतीक्षापछि ‘एक मुठ्ठी बादल’मा अविरलको डेब्यु
समाचार२०८३ बैशाख १५, मंगलवार २०:३७बुधबार देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने,सतर्कता अपनाउन आग्रह
समाचार२०८३ बैशाख १५, मंगलवार १९:२२सरकारी विज्ञापनमा विभेदकारी निर्णय कार्यान्वयन नगर्न समन्वय समिति मार्फत धादिङका स्थानीय तहलाई पत्रकार महासंघको आग्रह








