काठमाडौँमा वायु प्रदूषण बढ्यो: सुख्खा मौसम र हावा नचल्नु प्रमुख कारण

काठमाडौँ- काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।
आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो ।
“औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ”, उहाँले भन्नुभयो, “पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।” सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको जानकारी दिनुभयो ।
विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो सङ्केत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। १५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ ।
यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ ।
साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








