सुशासन, पूर्वाधार र पर्यटन विकास एमाले कास्की–३ को प्राथमिकतामा

सुशासन, पूर्वाधार र पर्यटन विकास एमाले कास्की–३ को प्राथमिकतामा

पोखरा, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभा निर्वाचन–२०८२ लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । निर्वाचन परिचालन समितिले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासन, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाइएको छ ।

एमालेले मुलुकको स्वाधीनता, सार्वभौमिकता र संविधानको संरक्षण गर्दै जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता पत्रमा कास्की क्षेत्र नम्बर ३ लाई शिक्षा, पर्यटन, कृषि र पूर्वाधार विकासको नमूना क्षेत्रका रूपमा विकास गर्ने योजना समेटिएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार दामोदर बैरागीलाई विजयी गराउन आह्वान गर्दै एमालेले विगतमा सुरु भएका विकास आयोजनालाई पूर्णता दिने र नयाँ योजना अघि बढाउने जनाएको छ ।

पूर्वाधार विकासमा विशेष प्राथमिकता
प्रतिबद्धता पत्रमा सडक सञ्जाल विस्तार, खानेपानी, विद्युत, दूरसञ्चार, ढल निकास तथा फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । पोखराको बागलुङ बसपार्कलाई आधुनिक ट्रान्जिट हबका रूपमा विकास गर्ने, फेवाताल परिक्रमा पैदलमार्ग निर्माण गर्ने तथा सेती, मोदी र मर्दी नदीमा करिडोर निर्माण गर्ने योजना उल्लेख गरिएको छ ।
त्यसैगरी सुरुङमार्गसहित चक्रपथ निर्माण, पुल तथा तटबन्ध निर्माण, खेल मैदान स्तरोन्नति, हेलिपोर्ट निर्माण तथा खानेपानी आयोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

कृषि, रोजगारी र आर्थिक विकास
एमालेले सहकारीमार्फत स्थानीय पूँजी परिचालन, कृषि आधुनिकीकरण, जडीबुटी खेती प्रवद्र्धन, दुग्ध प्रशोधन केन्द्र स्थापना तथा कृषि तथा पशु बीमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘एक घर एक रोजगार’ कार्यक्रममार्फत युवालाई सीपमूलक तालिम, सहुलियत ऋण तथा उद्यमशीलतामा प्रोत्साहन गर्ने योजना समेटिएको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
प्रतिबद्धता पत्रमा आधारभूत तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा, विद्यालयमा प्राविधिक तथा कम्प्युटर शिक्षा विस्तार तथा उच्च शिक्षाको प्रवद्र्धन गर्ने योजना उल्लेख गरिएको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार, घुम्ती स्वास्थ्य शिविर सञ्चालन तथा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गका लागि विशेष स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ ।

पर्यटन र सांस्कृतिक प्रवद्र्धन
पोखरा तथा आसपासका क्षेत्रलाई पर्यापर्यटन, साहसिक पर्यटन र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने एमालेको योजना छ । पञ्चासे, मर्दी, अन्नपूर्ण र माछापुच्छ्रे क्षेत्रका पदमार्गहरूको संरक्षण र प्रवद्र्धन, होमस्टे विकास तथा पर्यटन पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ । फेवाताल संरक्षण, पर्यावरण संरक्षण, वृक्षारोपण तथा विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ ।

सुशासन र सेवा प्रवाह सुधार
एमालेले प्रशासनिक सुधार, पारदर्शिता र जनमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने, भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने तथा सरकारी सेवामा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएको छ । जनप्रतिनिधिको सम्पर्क कार्यालय स्थापना गरी जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्ने योजना पनि उल्लेख गरिएको छ ।

एमालेले कास्की क्षेत्र नम्बर ३ का मतदातासँग सूर्य चिन्हमा मतदान गरी आफ्नो उम्मेदवारलाई विजयी गराउन आह्वान गर्दै समग्र क्षेत्रको विकास र समृद्धिका लागि निर्णायक जनमत आवश्यक रहेको जनाएको छ ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20909, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =  

Protected by Spam Master