‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

फागुन २६, काठमाडौं
प्रेस काउन्सिल नेपालले ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिस्टम र समावेशी नेतृत्व’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महिला पत्रकारहरूको पेशागत सुरक्षा, समा
न अवसर, नेतृत्वमा पहुँच र लैङ्गिकमैत्री सञ्चार वातावरण निर्माणका विषयमा सरोकारवालाबिच विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले कार्यक्रममा उठेका सुझावहरूप्रति काउन्सिल प्रतिबद्ध रहने बताउँदै महिला पत्रकारसँग सम्बन्धित मुद्दाहरूलाई समयसापेक्षरूपमा तथा काउन्सिलको अधिकारक्षेत्रभित्र रहेर सम्बोधन गरिने र काउन्सिलले केवल नियमनकारी भूमिकामा सीमित नभई सञ्चार माध्यम तथा पत्रकारहरूको सीप र क्षमता अभिवृद्धिमा पनि प्राथमिकता दिने बताउनुभयो ।
काउन्सिलका सदस्य सचिव तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले महिला पत्रकारहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै पेशागत विकासमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारितामा नयाँ पुस्ताका महिलाहरूलाई आकर्षित गर्न आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताउँदै महिला पत्रकारहरूले समाजलाई सचेत र सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै काउन्सिल बोर्ड सदस्य आजको कार्यक्रमका संयोजक कुमारी निमा काफ्लेले अन्तर्राष्ट्रिय महिला दिवसलाई केवल उत्सव होइन, महिलाको योगदान, संघर्ष र उपलब्धि सम्झने र आगामी दिनका लागि मार्गनिर्देशन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले महिलाहरूले आफ्नो अधिकार र उपलब्धिका लागि सक्रिय भएर अघि बढ्नुपर्ने र परम्परागत मिडियाको सीमित दायराबाट बाहिर निस्केर अर्थपूर्ण नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । समावेशी र लैङ्गिकमैत्री सञ्चार वातावरण निर्माणका लागि नीति, अभ्यास र सोचमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रमकी मुख्य विषयवक्ता वरिष्ठ पत्रकार बबिता बस्नेतले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन र सञ्चार माध्यममा महिलासम्बन्धी सामग्रीको निगरानी गर्न काउन्सिलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अझै पनि धेरै महिला पत्रकारहरूले समाचार कक्षमा विभिन्न चुनौती र दबाब सामना गर्नुपरेको उल्लेख गर्दै समाचार कक्षमा समावेशी नेतृत्व आवश्यक रहेको औंल्याउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य निर्मला शर्माले महिला पत्रकारको संख्या बढ्दै गएको भए पनि नेतृत्व तहमा उनीहरूको उपस्थिति अझै पर्याप्त हुन नसकेको बताउनुभयो । उहाँले पत्रकारिता सम्बन्धी नीति र आचारसंहितालाई लैङ्गिक दृष्टिकोणबाट पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयोे ।
काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले विधागत पत्रकारिताको क्षमता अभिवृद्धि गर्ने विषयलाई काउन्सिलले प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले सञ्चार सामग्रीको नियमनका सन्दर्भमा काउन्सिलले विद्यमान नियमअनुसार आमसञ्चार माध्यम तथा पत्रकारको नियमन प्रक्रियागतरूपमा गरिरहेको जानकारी दिनुभयो ।
त्यसैगरी काउन्सिलका बोर्ड सदस्य नकुल अर्यालले सरोकारवालाबाट आएका सुझावहरूलाई काउन्सिलले ग्रहण गर्ने बताउँदै महिला प्रतिनिधित्वको लडाइँ सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा सञ्चार क्षेत्रमा पनि प्रभावशाली नेतृत्वमा महिलाहरूको सहभागिता बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले महिला पत्रकारहरुको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने जोड दिंदै नीति निर्माणको तहबाटै पत्रकार महिलाको सहजीकरण गरिनुपर्ने र सरकारको नीति कार्यक्रम नै महिलामैत्री हुनु आवश्यक रहेको विषय औंल्याउनु भएको थियो ।

कार्यक्रममा महासंघकी उपाध्यक्ष नितु पाण्डितले आमसञ्चार नीतिमा सहभागिताको विषय स्पष्ट रूपमा उल्लेख नभएको बताउँदै महिला पत्रकारहरूको सुरक्षा केवल भौतिक सुरक्षासम्म सीमित नभई पेशागत, कानुनी तथा दण्डहीनतासम्बन्धी विषयसँग पनि जोडिएको बताउनुभयो । उहाँले नियमित तथा न्यूनतम पारिश्रमिक सुनिश्चित नभएसम्म महिला पत्रकारिता सशक्त हुन नसक्ने धारणा राख्दै समाचार कक्षको सम्पादकीय नेतृत्वमा महिलाको उपस्थिति अझै कमजोर रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा काउन्सिलको आचारसंहिता अनुगमन तथा उजुरी महाशाखा प्रमुख रामशरण बोहराले महिला पत्रकारहरूको पेशागत सुरक्षा अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो । उहाँले आक्रमण, धम्की, रोजगार असुरक्षा, पारिश्रमिक असमानता तथा लैङ्गिक विभेदजस्ता समस्याहरू सामना गर्नुपरेको अवस्था अझै कायम रहेको उल्लेख गर्दै महिला पत्रकारसँग सम्बन्धित चरित्रहत्या, व्यक्तिगत गोपनीयता उल्लङ्घन तथा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमणका बारेमा काउन्सिलमा अभिलेख भएका घटनाहरू जानकारी गराउनु भएको थियो । यस्तै, कार्यक्रम सञ्चालक तथा काउन्सिलका उपप्रशासकीय अधिकृत सविता ढकालले महिला पत्रकारहरूले परम्परागत मिडियाको सीमित दायराबाट बाहिर निस्केर अर्थपूर्ण नेतृत्व स्थापित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको सुरक्षा शारीरिक र मानसिक मात्र नभई डिजिटल रूपमा पनि सुनिश्चित गरिनुपर्नेमा जोड दिएका थिए । उहाँहरूले समाचार कक्षमा समावेशी र सुरक्षित वातावरण, समान अवसर, उचित पारिश्रमिक तथा पेशागत सम्मानको अभावले महिला पत्रकारहरूलाई दीर्घकालीनरूपमा पेशामा टिकिरहन कठिन बनाएको धारणा व्यक्त गर्नु भएको थियो । सहभागी पत्रकारहरूले विशेषगरी डिजिटल प्लेटफर्ममा हुने दुव्र्यवहार, अनलाइन ट्रोलिङ, लैङ्गिक पूर्वाग्रह तथा असमान व्यवहारलाई महिला पत्रकारहरूले दैनिक रूपमा सामना गर्नुपरेको उल्लेख गरेका थिए । यसका साथै नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउन स्पष्ट नीतिगत व्यवस्था, क्षमता अभिवृद्धिका तालिम, डिजिटल सीप विकास, पदोन्नतिमा समान अवसर र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँहरुको सुझाव रहेको थियो । साथै, महिला पत्रकारहरूले समान अवसर, समावेशी नेतृत्व र सुरक्षित कार्य वातावरण सुनिश्चित भएमा मात्र पत्रकारिता क्षेत्र थप सशक्त बन्ने र लोकतान्त्रिक मूल्यहरू अझ मजबुत हुने धारणा थियो ।

प्रेस काउन्सिल नेपालको सभाहलमा पत्रकार महासंघका अध्यक्षको प्रमुख आतिथ्यता, प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको समुपस्थिति र काउन्सिलका सदस्य कुमारी निमा काफ्लेको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा ३० भन्दा बढी सक्रिय महिला पत्रकारहरूको सहभागिता रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/03/10/11621/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २६, मंगलवार १८:२३‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
समाचार२०८२ फाल्गुन २६, मंगलवार १२:२५मध्यपूर्व तनाव घट्ने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो
समाचार२०८२ फाल्गुन २३, शनिबार १८:२३झापा–५ मा बालेनको ऐतिहासिक जित
समाचार२०८२ फाल्गुन २३, शनिबार ०३:०४रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्ड विजयी






