तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा

तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा

काठमाडौं । भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी तीनदिने भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन गर्न काठमाडौं आइपुगेका छन्। चलचित्र विकास बोर्डको आयोजनामा सञ्चालन हुन लागेको उक्त तालिमका लागि उनी शनिबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नेपाल पहिलोपटक आएका अमितले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले विश्वभरका कन्टेन्ट सजिलै हेर्न सकिने भएकाले भाषाको भूमिका अझ महत्वपूर्ण बनेको बताए। उनले भने, “आजको डिजिटल युगमा विभिन्न देशका कन्टेन्ट हेर्न सहज भएको छ। त्यसमा डबिङले ठूलो भूमिका खेल्छ। नेपाली भाषामा पनि भ्वाइस डबिङका धेरै सम्भावना छन्। यो तीन दिनमा मैले सिकेका अनुभव र केही प्राविधिक पक्ष सहभागीहरूसँग बाँड्ने प्रयास गर्नेछु।”

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले कलाकार तथा प्राविधिकहरूको दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार १४ वटा विषय समेटेर तालिमहरू आयोजना गरिएको छ, जसमा भ्वाइस एक्टिङलाई पनि विशेष प्राथमिकता दिइएको छ।
“दक्षता अभिवृद्धि कार्यक्रम अन्तर्गत बजेट छुट्याएरै विभिन्न तालिम सञ्चालन गरिरहेका छौँ। नेपालमा भ्वाइस एक्टिङको आवश्यकता बढ्दै गएकोले भारतका अनुभवी भ्वाइस आर्टिष्ट अमित डिओंडीलाई निमन्त्रणा गरेका हौँ। उहाँबाट सहभागीहरूले भ्वाइस एक्टिङका महत्वपूर्ण प्रविधि सिक्ने अवसर पाउनेछन्,” अध्यक्ष डिसीले बताए। उनले यसअघि पनि साउन्ड र डबिङसम्बन्धी तालिमका लागि भारतबाटै अनुभवी प्रशिक्षक ल्याइएको स्मरण गरे।

अध्यक्ष डिसीका अनुसार बोर्डले चैत महिनाभित्रै ड्रोन सञ्चालन, फिल्म लाइट ग्याफर, मेकअप, एआई वर्कसप, फोटो तथा भिडियो पत्रकारिता प्रशिक्षण र पौडीसम्बन्धी तालिम पनि सञ्चालन गर्ने तयारी गरेको छ।

आइतबार बिहान १०:३० बजेबाट सुरु हुने भ्वाइस एक्टिङ तथा डबिङ तालिम तीन दिनसम्म दैनिक दुई घण्टा सञ्चालन हुनेछ। तालिम व्यवस्थापनको जिम्मा सम्राट फिल्मस्ले लिएको छ। पछिल्लो समय नेपालमा विभिन्न फिल्महरूको डबिङ र साउन्ड मिक्सिङ गर्दै आएको सम्राट फिल्मस्ले अन्तर्राष्ट्रिय स्तरका कन्टेन्टमा समेत काम गरिरहेको छ। यस कम्पनीका सञ्चालक भरत कँडेल करिब १५ वर्षभन्दा बढी समय मुम्बईमा साउन्ड क्षेत्रमै कार्यरत रहेका अनुभवी प्राविधिक हुन्। विश्वप्रसिद्ध युट्युबर ‘मिस्टर बिस्ट’का सामग्रीको नेपाली डबिङसमेत सम्राट फिल्मस्ले गर्दै आएको छ।

अमित डिओंडीलाई स्वागत गर्न चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीका निजी सचिव जनक खड्का, सम्राट फिल्मस्का सञ्चालक भरत कँडेल लगायतको टोली विमानस्थल पुगेको थियो।

भ्वाइस आर्टिष्ट अमित डिओंडीले अमेजन, नेटफ्लिक्स लगायत विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्मका लागि तीन हजारभन्दा बढी सिरिज र फिल्ममा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन्। साथै चर्चित कार्टुन सिरिज ‘मोटु पत्लु’को ‘मिक्की अनलाइन’ पात्रमा पनि उनले नै आवाज दिँदै आएका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   9   =  

Protected by Spam Master