ओलीलाई दिएको समयसीमा सकिँदै माधव–झलनाथ समूहले

ओलीलाई दिएको समयसीमा सकिँदै माधव–झलनाथ समूहले
Share this

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा आज सकिँदै छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको हो । सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ पक्षको चेतावनी छ ।

ओली इतर पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ । यद्यपि ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएकाले सहमतिको सम्भावना तत्काल नदेखिएको एक नेताले बताए ।

नेकपा एमाले विभाजनको स्थितिमा पुगेपछि दुवै पक्षका नेताहरुबीच छलफल तीव्र हुँदै आएको छ । यद्यपि समस्या समाधानको बाटो पहिल्याउन दुवै पक्षले सकेका छैनन् । त्यसैले ओलीले आजको संसद बैठकमा विश्वासको मत पाउने सम्भावना पनि देखिएको छैन ।

ओलीले सरकार र पार्टीमा एकलौटी गरेको तथा विधिसम्मत ढंगले नचलेको आरोप लगाउँदै माधव–झलनाथ पक्ष उनीविरुद्ध आन्दोलनमै उत्रिएको थियो । ओलीले भने विपक्षी दलहरुसँग गठजोड गरेर माधव–झलनाथ पक्षले पार्टीमा फुट ल्याएको आरोप लगाउँदै आएका छन् ।

 

अन्तिम अपडेट: 2021-May-10 समय 9:10 AM

142 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media