काठमाडौँ- सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसक्नुभएको बताउनुभएको छ ।
उद्धार, उपचार, राहत र पुनःस्थापनाका सन्दर्भमा सूचना तथा सञ्चारको क्षेत्रबाट कुनै पनि कमी आउन नदिने सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्कटको बेलामा आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालबाट सत्य तथ्य सूचना प्रवाह गर्नु सबैको दायित्व रहने स्मरण गराउँदै उहाँले जोखिम मोलेर प्रभावितस्थलबाट रिपोर्टिङ गरिरहेका सम्पूर्ण सञ्चारकर्मीप्रति धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । मन्त्री शर्माले दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । भूकम्पका कारण केही सञ्चारमाध्यममा समेत क्षति पुग्न गएकामा मन्त्री शर्माले दुःख व्यक्त गर्नुभएको छ ।
मन्त्रालयले दुःखको यो अवस्थामा मन्त्रालयअन्तर्गतका निकायबाट नियमित र सहुलियतरूपमा सेवा प्रवाह गर्न, सही र सत्यतथ्य सूचना प्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न आग्रह गरेको छ । यस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकसँग छलफल गरी भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै हाल सो क्षेत्रमा सेवा अवरुद्ध नभएको र उप्रान्त आउनसक्ने पराकम्पनबाट सुरक्षित गरी सेवा प्रदायकलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी आकस्मिक टेलिकम्युनिकेसन क्लष्टर (इटिसी) लाई सक्रिय बनाई भूकम्प प्रभावित क्षेत्रको दूरसञ्चार सेवाको अवस्था र सेवाप्रवाहलाई थप सहज बनाउने विषयमा मन्त्रालयमा छलफल गरी आवश्यक निर्णय गरिएको छ ।
प्रभावित क्षेत्रमा रहेका पीडित, उद्धारकर्मी र आम नागरिकलाई सहज सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयको आग्रहमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पाँच दिनसम्म टेलिफोन, म्यासेज र डाटा निःशुल्क गर्ने तथा निजी क्षेत्रको सेवा प्रदायक एनसेलले राहत कोषमा रु ५० लाख सहयोग र रु ४० लाखसम्मको कल र डाटा निःशुल्क गर्ने निर्णय गरेकामा धन्यवाद दिइएको छ ।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ कार्तिक ९, शुक्रबार १४:०६चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु
- समाचार२०८१ कार्तिक ४, आईतवार १२:२६पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य हिमलुङ् हिमाल
- कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता
- समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित