Home समाचार चितवन राष्ट्रिय निकुञ्जमा  ‘हात्ती स्वास्थ्य शिविर’ सुरु

चितवन राष्ट्रिय निकुञ्जमा  ‘हात्ती स्वास्थ्य शिविर’ सुरु

0
चितवन राष्ट्रिय निकुञ्जमा  ‘हात्ती स्वास्थ्य शिविर’ सुरु

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा पालिएका हात्तीहरूको स्वास्थ्य जाँचका लागि आज सोमबारबाट  (एलिफ्यान्ट हेल्थ क्याम्प २०२३) स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

सौराहा स्थित हात्ती प्रजनन केन्द्र  पालुवा हात्तीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र उपचार गर्ने उद्देश्यले हात्ती स्वास्थ्य शिविर सुरु भएको हो । त्यस लगतै व्यवसायीहरुले पालेका हात्तीहरुमा समेत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

शिविरमा सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रहेका  ५८ वटा हात्तीसहित ११५ वटा हात्तीको स्वास्थ्य परीक्षण हुनेछ ।

स्वास्थ्य शिविरमा हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउने लगायत अन्य चेकजाँचका कार्यहरू हुने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठले बताउनु भयो । उहाँले यसपटकदेखि प्रत्येक हात्तीलाई रेबिज र टिटानस विरुद्धको खोप पनि दिइने जानकारी दिनुभयो ।


स्वास्थ्य शिविरमा एउटा हात्तीको परीक्षणका लागि करिब एक घण्टा समय लाग्ने र चिकित्सकसहित दुईजना प्राविधिक (टेक्निसियन) लाग्ने वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका  संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेश तिवारीले पालुवा हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको बताउनु भयो ।

‘‘हात्तीको स्वास्थ्य अवस्था कस्तो छ, शरीरमा पौष्टिक तत्त्वको अवस्था के छ, अन्य कुनै रोग छ कि छैन भन्ने बुझ्न र उपचार गर्न शिविरको आयोजना गरिएको हो’’, प्रमुख संरक्षण अधिकृत तिवारीले भन्नुभयो ।

परिक्षणका क्रममा घाउ देखिएमा एन्टिबायोटीक औषधिको प्रयोग गरिने, मिनिरल्सहरु दिने समेत दिईने उहाँले जानकारी दिनुभयो ।  अमेरीकि संस्था कटी एडम्सन कन्जरभेसन फन्डको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले शिबिरको आयोजना गरेका हुन ।

अमेरिका र नेपालका पशु चिकित्सक र प्राबिधिकहरुले हात्तीको स्वास्थय परिक्षण र नङ मिलाउने काम गर्ने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राबिधिक किरणराज रिजालका अनुसार हात्तीको सबैभन्दा ठूलो समस्या नङ हो । हात्तीको खुट्टाको टेक्ने भागलाई प्याड भनिन्छ ।

हात्तीको अगाडिका खुट्टामा ५-५ वटा र पछाडिको खुट्टामा ४-४ वटा नङ हुन्छन । ती नङ प्याड भन्दा लामो हुँदै गर्दा नङ् फुट्ने, माटो छिर्ने, पाक्ने जस्ता समस्या आउने उहाँले जानकारी दिनुभयो । हात्तीको खुट्टाको नङ ४-४ महिनामा काट्नु पर्ने हुन्छ ।
शिबिरमा यसलाई प्राथमिकता दिइँदै छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार शिबिरमार्फत निकुञ्जमा हात्ती रहेका सबै ठाउँमा पशु चिकित्सक र प्राबिधिक पुगेर हात्तीको स्वास्थ्य परिक्षण गर्ने छन् ।

यस अघि नोभेम्बर १ देखि चार दिनसम्म बर्दियामा रहेका १३ वटा हात्तीको स्वास्थ्य परिक्षण गरिएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here