Home राजनीति समस्याको सूची बनाएर समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

समस्याको सूची बनाएर समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

4
Google search engine
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायमा भौतिक तथा वित्तीय प्रगति हुन नसक्नुका कारण तत्काल पहिचान गरी समाधान गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले समस्याका सूची बनाएर समाधान गर्दै जान निर्देशन दिनुभयो ।
मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्रालय र मातहत निकायको लक्ष्य हासिलमा भइरहेको ढिलाइको कारण पहिचान गरी अवगत गराउन निर्देशन दिनुभएको हो ।
                          “हामीले अब समीक्षा बैठकमा प्रगति गर्न सकेनौँ भनेर मात्रै हुँदैन, के कति कारणले प्रगति गर्न सकेनौँ भनेर समस्याको पहिचान गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो मन्त्रालयको आन्तरिक कारणले नभएका के–के हुन् ? हामीले गर्न नसकेका काम के–के हुन् ? हाम्रो समन्वय नभएर अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहयोग नगरेका विषय के–के हुन् ? यस्तै समग्र हिजोका सरकार, हिजोका दायित्वलगायतका नभएका काम के–के हुन् ?” यसको पहिचान गरी काम गर्न मन्त्री शर्माले निर्देशन दिनुभयो ।
उहाँले अघिल्लोपटकका सरकारले सिर्जना गरेको दायित्वसमेत फछ्र्योट गर्न नसकेको अवस्थामा नयाँ कार्यक्रम सञ्चालन गर्न भएका समस्याबारे समेत समीक्षा हुनुपर्ने बताउनुभयो । अब सूचना प्रविधिको क्षेत्रमा प्रवेश नगरी देशमा डिजिटल अर्थतन्त्रको विकास नहुने र समृद्धिको बाटो नखुल्ने उहाँको भनाइ छ ।
मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा २६ दशमलव २२ प्रतिशत चालु खर्च र दुई दशमलव ७८ प्रतिशत पुँजीगत खर्च भएको छ । आव २०८०-८१ को बजेट वक्तव्य र बजेट कार्यान्वयनका उपलब्धिमध्ये असोज महिनासम्म ३२ वटा उपलब्धि सम्पन्न हुनुपर्ने भएता पनि  चारवटा मात्र सम्पन्न भएको छ । मन्त्रालयका अनुसार ३१ वटा काम चालु रहेको छ भने ११ वटा सुरु नै भएको छैन । मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा रु चार अर्ब ५४ करोड एक लाख बजेट विनियोजित छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुङ्गानाले नागरिकसँग प्रत्यक्ष जोडिएको सञ्चार मन्त्रालयले प्रगतिको क्रम बढाउनुपर्ने बताउनुभयो । एकातिर सूचना प्रविधिमार्फत डिजिटल अर्थतन्त्रको आधार तयार पार्ने र अर्कोतिर आम सञ्चारमार्फत सिङ्गो राज्यको अनुहार प्रस्तुत गर्ने मन्त्रालय भएकाले आफ्नो कार्यसम्पादन क्षमता बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले आधारभूत टेलिफोन, इन्टरनेट र आमसञ्चारको पहुँच बढाउँदै लैजानुपर्नेमा जोड दिँदै यी सबै क्षेत्रलाई यो वर्ष प्रभावकारी बनाएर लैजाने बताउनुभयो । राष्ट्रिय साइबर सुरक्षा नीति र राष्ट्रिय फ्रिक्वेन्सी नीति जारी गरिएको उल्लेख गर्दै उहाँले नीति, कानुन र निर्देशिका बनाउनतिर बढी ध्यान केन्द्रित गरिएको बताउनुभयो । योजना तथा कार्यक्रम समयमा सम्पन्न गर्न अहिलेदेखि कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि, मन्त्रालय मातहतका विभिन्न विभाग र निकायका प्रमुख एवं प्रतिनिधिले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here