चितवन, ७ मङ्सिर । हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् ।
माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आएकी छिन् । आमाको निधनपछि उनका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो । आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उनले बताइन् । सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोडेकी सुनार अहिले आफ्नै खुट्टामा उभिन सीपमूलक तालिममा लागेकी छिन् ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा सुनारले सिलाइकटाइको तालिमसमेत लिएकी छिन् । सुरुआतमा गाउँमा नै हुँदा दिदीकोमा गएर सिलाइकटाइको काम सामान्यरुपमा गर्ने गरेको भए पनि अहिले त्यही पेसालाई अपनाउन खोजेको उनले बताइन् । सुनारले भनिन्, “सङ्क्रमित भनेर हेला गर्छन् । त्यसैले केही गरेर देखाउने इच्छा छ ।”
फाउण्डेसनको सहयोगमा तीन महिने तालिम केही दिन अघि मात्रै सम्पन्न गरेकी सुनार अब दिदीकै घरमा आफ्नै व्यवसाय गरेर बस्ने योजनामा छिन् । उनको स्वरोजगरका लागि संस्थाले कपडा सिलाउने मेसिनको व्यवस्था गर्दैछ । समाज परिवर्तन गर्दै अघि बढ्नुपर्ने समय आएको उनले सुनाइन् ।
फाउण्डेसनको सहयोगमा १२ वर्षदेखि २० वर्ष उमेरका सङ्क्रमित ३० किशोरकिशोरीले सीपमूलक तालिम लिएका छन् । फाउण्डेसनमा हाल नियमित औषधि सेवन गर्ने सङ्क्रमित एक हजार एक सय ५८ रहेका छन् । उनीहरुमध्ये ३८ बालबालिका रहेका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । रासस
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ कार्तिक ९, शुक्रबार १४:०६चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु
- समाचार२०८१ कार्तिक ४, आईतवार १२:२६पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य हिमलुङ् हिमाल
- कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता
- समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित