इलाममा बढ्यो कृषिमा प्रविधिको प्रयोग

इलाम – कृषिमा भएको यान्त्रीकरण इलामका किसानका लागी बालि उत्पादन वृद्धि गर्न सहयोगी बनेको छ । परम्परागत रुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा कृषि उत्पादनमा सहयोग पुगेको हो ।
किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आकर्षण बढेको छ । सन्दकपुर ५ का अर्जुन भट्टराईले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको गोरु पाल्न छाडेका छन् । भट्टराईले अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा पावर टिलर को प्रयोग गर्दै आएका छन् । कम श्रममा एकैपटक धेरै खेत जोत्न सकिने भएपछि गोरुको साटो पावर टिलर प्रयोग हुँदै आएको हो । गोरु पाल्नका लागि घरका घाँस काट्ने, खुवाउने र चराउने झन्झट पावर टिलरको प्रयोगले हटेको पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम ६ घन्टामा पूरा हुने किसानको अनुभव छ । कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत हुने गरेको हो । गोरुले जोत्दा दोहोर्याउनुपर्ने र डाल्ला फुटाउन खेताला खोज्नु पर्ने भएपनि पावर टिलरले जोत्दा एकै पटकमा हुने गरेको सूर्योदय नगरपालिकाका किसान दिपक भट्टराईले बताउनुभयो ।
पावर टिलरको प्रयोगले बारी जोत्दा कृषि उत्पादनमा विगतको तुलनामा वृद्धि हुने गरेको छ । पावर टिलरले जोतेको खेतमा माटो राम्ररी बन्ने भएकाले बाली धेरै उब्जनी हुने गरेको सन्दकपुर गाउँपालिकाका प्राविधिक सविन भट्टराईले बताउनुभयो । गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुने पावर टिलर संचालक लाक्पा तेन्जी सेर्पाले बताउनुभयो । किसानले ५ हर्जदेखि १० हर्जसम्मको पावर टिलरबाट खेत जोत्न प्रयोग गर्दै आएका छन् । पावर टिलरले जोतेको माटो मसिनो र एकनासले जोतिने भएकाले बाली लगाउनलाई सजिलो हुने र मेलो सजिलै सर्ने गरेको किसानको भनाइ छ । यसले कृषि उत्पादनमा समेत वृद्धि भएको सन्दकपुर ३ का कृषक खेमराज ढकालको भनाइ छ । धान, गहुँ लगायतका बाली भित्र्याउँदा विगतमा धेरै जनशक्ति प्रयोग गरेर बाली भित्र्याउनुपथ्र्यो ढकालले भने–‘गोरुको सहायताले दाईं गर्नुपथ्र्यो, खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्र्याउनका लागि पर्म गर्नुपर्ने अवस्था भएपनि अहिले खेतमै पावर टिलर, ट्र्याक्टरमा ट्राली जोडेर खलियानसम्म बाली ल्याउन सजिलो भएको छ । यन्त्रमा रिपर जडान गरेर धान गहुँ दाउन थ्रेसरको सहायताले छिटो काम गर्न इलामका किसानले थालेका छन् ।
कृषिमा परम्परागत साधनको प्रयोगले पहिलेपहिले मजदुरको सहयोग लिँदा धेरै खर्च हुने गरेको अनुभव भएपनि अहिले पावर टिलरको सहयोगले सहज भएको माई नगरपालिका ३ का किसान तेज बहादूर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो–‘आधुनिक कृषि यन्त्रको प्रयोगले समय र लागतसमेत कम भएको छ । मजदुर पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिएको छ घिमिरेले भन्नुभयो, “अब पहाडी क्षेत्रमा धान रोप्ने र काट्ने मेसिन पनि स्थानीय तहहरुले साझेदारीमा प्रदान गरे धेरै सहज हुनेछ ।
सन्दकपुर ५ इङ्ला जमुनाका लाक्पा तेन्जी सेर्पाले तीन वर्ष अघि आफ्नै खर्चमा ट्रयाक्टर खरिद गरि किसानको बारि जोत्दै आउनुभएको छ । सेर्पाले घण्टाको ७ रुपैयाँमा किसानको बारि जोत्दै आएका छन् । कृषिमा सहयोग पुगोस् भनेर पावर टिलर १ लाख १५ हजारमा ट्रयाक्टर खरिद गरि किसानको माग अनुसार खेतबारी खनजोत गर्दै आएको सेर्पाले बताउनुभयो । किसानको खेतबारी खनजोत गरेर पावर टिलर खरिद गर्दाको रकम एक वर्षमा नै उठाएको सेर्पाले बताउनुभयो ।
यन्त्रको प्रयोग भएपछि काममा सजिलो भएको मात्रै छनै, चुलाचुली किसान उद्धव न्यौपानेले भने–‘खनजोत गर्न ज्यालामा मजद्जुर खोज्न परेको छैन, घरपरिवारले मात्रै सजिलै काम गर्न सकेका छौँ ।
व्यवसायिक खेती गर्ने अधिकांशले परम्परागत रुपमा प्रयोग गर्दै आएका कृषि साधनको साटोमा आधुनिक कृषियन्त्रको प्रयोग गरेकाले सबैलाई खेती गर्न किसानलाई सजिलो भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले बताउनुभयो ।
अहिले यान्त्रिक हलो प्रयोग गर्न थालेपछि गाउँघरमा व्यावसायिक खेती गर्नेको संख्या बढेको उहाँले बताउनुभयो । खतजोत गर्न सजिलो भएपछि ग्रामीण क्षेत्रका कृषकले वर्षभरि नै मौसमी र बेमौसमी तरकारी उत्पादनमा किसानलाई सहज भएको छ ।
व्यावसायिक किसानलाई छनोट गरी उत्पादकत्व बढाउन सहयोग पुगोस् भनेर स्थानीय तहहरुले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गर्दै आएका छन् । किसानलाई आवश्यक परेका कृषि औजार माग गर्न किसानको जानकारीका लागि सूचना जारी गरेपछि किसानले मेसिन माग गरेअनुसार प्रक्रिया पु¥याएर कृषियन्त्र वितरण गर्ने काम हुँदै आएको इलाम नगरपालिका कार्यपालिका कुमारी लुवागुनले बताउनुभयो । त्यसमध्ये कम लागतमा साना व्यावसायिक किसानले किन्न सक्ने भएकाले अनुदानमा किसानले पावरटिलरको माग धेरै गरेका छन् ।
कृषि कार्यका लागि किसानले पावर टिलर र औजारको प्रयोग गर्न थालेपछि आम्दानीमा वृद्धि भएको र समयको बचत भएको किसानको भनाइ छ । पहाडी क्षेत्रमा कृषियन्त्र र औजारको प्रयोगले किसानलाई खेतीमा आकर्षण बढेको छ । जिल्लामा खनजोत गर्न पावर टिलरको प्रयोग बढेको छ भने गोरु र हलो विस्थापित हुने क्रममा छन् । जिल्लाको समथर फाँट भएको इलामको माई नगरपालिका, चुलाचुली गाउँपालिकामा ठूला ट्रयाक्टरको प्रयोग बढेको छ भने पहाडी, भिरालो र ससाना गरामा हाते ट्रयाक्टरको प्रयोग भएको पाइन्छ ।
कार्यालयको योजना र मागअनुसारको सहयोग सरकारबाट प्राप्त भइरहेमा अबको पाँच÷सात वर्षमा जिल्लामा यान्त्रिक खेती प्रणाली विकास हुने कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न