कांग्रेस बलियो भए मात्रै संविधानको रक्षा हुन्छ : सभापति देउवा

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताउनुभएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने धारणा राख्नुभयो । त्यसका लागि सबैले एकजुट भएर पार्टी सङ्गठन निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सम्मेलनमा पार्टी उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेशलगायत प्रदेश सरकारले सङ्घीयताको कार्यान्वनका सन्दर्भमा व्यक्त भएका असन्तुष्टि सम्बोधन गर्न कांग्रेससहितको वर्तमान सरकारले छिट्टै आवश्यक प्रक्रिया टुङ्गोमा पु¥याउने बताउनुभयो । उहाँले विगतमा मधेशवादी दलहरुले संविधान संशोधनका लागि उठाएका माग सम्बोधन गर्न कांग्रेसले दोस्रो पटक संविधान संशोधनको प्रस्ताव पेश गरे पनि अन्य दलका कारणले सफल नभएको स्मरण गर्दै फेरि पनि कांग्रेसले नै मधेसका चिन्ता र चासो सम्बोधन गर्न नेतृत्व गर्ने बताउनुभयो ।

त्यसैगरी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता कार्यान्वयनका लागि बाँकी रहेका काम टुङ्ग्याउन आवश्यक कानुन बनाउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । उहाँले संसद्को आउँदो अधिवशेनमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका धेरै कानुन निर्माण गरिसक्ने र तत्काल गर्नुपर्ने कामका लागि अध्यादेशको सहारा लिन सकिने पनि बताउनुभयो ।

महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताउनुभयो । पछिल्लो समय बढेका आक्रोसका आवाजलाई विभिन्न कोणबाट समीक्षा गरे पनि त्यस्तो तागत जनअसन्तुष्टिका कारण प्राप्त भइरहेको भन्दै महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्न काम गरेर देखाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनता रिसाएका छन् । बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ । तर त्यसको जिम्मा कसले लिने हो ? चार प्रदेशमा मुख्यमन्त्री, सात प्रदेशमा कांग्रेससहितका सरकार, सबैभन्दा बढी पालिकामा कांग्रेसकै जनप्रतिनिधि छन् । त्यसैले हामीले बोलेर होइन काम गरेर देखाउनुपर्छ ।”

त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा सङ्घीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा सङ्घीयता आएको भन्दै यसको रक्षाको दायित्व पनि मधेस र कांग्रेसको काँधमा रहेको बताउनुभयो । उहाँले मधेसमा कांगे्रस बलियो भएका बेला देशले कांग्रेसको नेतृत्व पाएको र त्यही तागतमा सधैँ परिवर्तन सम्भव भएको बताउनुभयो । “अहिले पनि मधेसका गुनासो, असन्तुष्टिहरु छन् । तिनको सम्बोधनका लागि कांग्रेसले समन्वय गर्छ । मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्छ, सामाजिक रुपान्तरणसहितको यात्रा सफल हुनसक्छ । त्यसमा हामी सचेत छौँ”, महामन्त्री शर्माले भन्नुभयो ।

लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा
समाचार२०८२ असार २२, आईतवार १६:३५राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार १४:४५‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या