आन्तरिक पर्यटकको गन्तव्य बन्दै बेलढुङ्गा (फोटोफिचर)

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली र छिमेकी बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३, धम्जास्थित ओख्लेको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै जान थालेको छ ।
समुन्द्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा रहेको बेलढुङ्गा आन्तरिक पर्यटकहरुले रमाइलो गर्ने थलोको रुपमा विकास हुँदै गएको हो । बेलढुङ्गाको भ्रमण गर्नका लागि त्यहाँ पुग्ने जो कोही पर्यटकहरुले पनि फरक खालको अनुभूति गर्न पाउँछन् । पछिल्लो समय बेलढुङ्गा आन्तरिक पर्यटकहरुको रोजाइमा परेपछि म्याग्दीको भकिम्ली र बागलुङको धम्जामा कार्यक्रम लिएर जानेहरु एकपटक बेलढुङ्गा पुगेर फर्किने गर्दछन् ।
पहाडको टुप्पोमा रहेको बेलढुङ्गाबाट धौलागिरि रेञ्ज र अन्नपूर्ण रेञ्जमा पर्ने सबै हिमालहरु स्पष्टसँग देख्न सकिन्छ । यहाँबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमाल, दशौं अग्लो चुचुरो अन्नपूर्णसहित पूर्वी रुकुममा पर्ने सिस्ने हिमाल तथा सैपाल, चुरेन, गूर्जा, मानापाथी, धौलागिरि प्रथम, चौथो, निलगिरी नर्थ, साउथ, अन्नपूर्ण नर्थ, साउथ, लमजुङ, मनास्लु, माछापुच्छे«, गङ्गापूर्ण, बराहशिखरलगायत डेढ दर्जन बढी हिमालहरु हेर्न पाइन्छ । म्याग्दी र बागलुङका अधिकांश भू–भाग, पर्वत, मुस्ताङ, गुल्मी, पूर्वी रुकुमलगायत जिल्लाको डाँडाकाँडाहरु पनि देखिन्छन् ।
बेलढुङ्गा क्षेत्रमा एकपटक पुगेकाहरु पटकपटक आउने गरेको स्थानीयवासीको भनाइ छ । बेलढुङ्गाको पर्यटन प्रवद्र्धन गर्नको लागि बेनी नगरपालिका र काठेखोला गाउँपालिकाको लगानीमा पर्यटकीयस्थल बेलढुङ्गासम्म पुग्न सडकको पहुँच विस्तार, पदमार्ग निर्माण, भ्यू–प्वाइन्ट स्थापनालगायत संरचनाहरु निर्माण गरिएको भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । बेलढुङ्गा क्षेत्रमा खानेपानी तथा शौचालयको निर्माण, खानेबस्ने ठाउँको व्यवस्था र पर्यटकलक्षित थप संरचनाहरु बनाउन आवश्यक पहल थालिएको छ । मनोरम हिमश्रृङ्खलासहितको दृश्य अवलोकन गर्नका लागि बेलढुङ्गा निकै उत्कृष्ट स्थानको रुपमा रहेको पाइन्छ ।
बेलढुङ्गा आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । बेलढुङ्गाको विकास गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यमा भकिम्लीवासी र धम्जावासीहरु लागेका छन् । बेलढुङ्गासम्म सडकको पहुँच विस्तारसँगै पदमार्ग र गेट निर्माणपछि अहिले आन्तरिक पर्यटकहरुको आकर्षण बढेको छ । म्याग्दी र बागलुङबाट नजिकको दूरीमा पर्ने बेलढुङ्गामा शनिवार, विदाको दिन र चाडपर्वको समयमा पर्यटकहरु रमाइलो गर्न पुग्छन् । पर्यटकीयस्थल भएर पनि सुनसान जस्तै रहेको बेलढुङ्गाको विकासका लागि छ वर्षअघि भकिम्ली वडाले एकलाख रुपैयाँ बजेट विनियोजन गरी पदमार्ग निर्माण थालेको थियो ।
म्याग्दी र बागलुङबाट सडकको पहुँच पुगेपछि गाउँमा होमस्टे, पार्किङको सुविधा तथा बेलढुङ्गासम्म पदमार्ग बनेपछि पछिल्लोपटक भ्रमणमा जाने पर्यटकहरुको सङ्ख्या बढेको छ । देउराली धुरीदेखि बेलढुङ्गासम्म स्लेट ढुङ्गा बिच्छ्याएर रेलिङसहित ५ सय २५ वटा सिँढीसहित पक्की पदमार्ग बनाइएको छ । सडकबाट पदमार्ग हुँदै १० मिनेटमा बेलढुङ्गाको टुप्पोमा पुगेर धित मरुन्जेल रमाउन सकिन्छ । पहाडको टुप्पोमा बेलको जस्तो आकारमा ढुङ्गा बसेकाले बेलढुङ्गा नामकरण भएको स्थानीयवासी बताउँछन् ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पले बेलढुङ्गामा समेत क्षति पु¥याएको थियो । स्थानीयवासीले भूकम्पले क्षति पु¥याएको बेलढुङ्गाको मर्मतसम्भार समेत गरेका थिए । पर्यटकीयस्थल बेलढुङ्गाको भ्रमण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर भकिम्ली र ओख्लेमा होमस्टे कार्यक्रम सञ्चालन भैरहेको छ ।
आन्तरिक पर्यटक कृष्ण जिसीले म्याग्दीको धेरै ठाउँको भ्रमण गरेको भए पनि बेलढुङ्गाबाट देखिने हिमालको मनोरम दृश्यावलोकनसहित डाँडाकाँडा र ग्रामीण वस्तीको सौन्दर्य निकै आकर्षक देखिएको अनुभव सुनाउनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २५, बुधबार २०:४४वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
समाचार२०८२ असार २५, बुधबार २०:४३सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २५, बुधबार १९:३५लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने
समाचार२०८२ असार २५, बुधबार १६:२३पोखरा विश्वविद्यालयको बजेट र नीति कार्यक्रम पारित