क्षयरोगका बिरामीलाई वरदान बन्दै ‘प्रेषण केन्द्र’

बाँके । नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र यस क्षेत्रका क्षयरोगका बिरामीका लागि वरदान सावित भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागमा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालन हुँदै आएको क्षयरोग प्रेषण केन्द्रमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । रोल्पा लिवाङकी ७६ वर्षीया तीरमला पुन छ महिनादेखि प्रेषण केन्द्रमा उपचाररत छन् । रोल्पा र दाङका विभिन्न अस्पतालमा जाँच गर्दै नेपालगञ्ज पुगेपछि उपचार पाएको उनले बताए ।
गुर्भाकोट नगरपालिका लेखफर्सा सुर्खेत निवासी ६८ वर्षीय तीलवीर सुनार छाती दुख्ने, ज्वरो आउने भएपछि नजिकैको मेहेलकुना अस्पतालमा पुगे । छ महिनासम्म औषधि खाँदा पनि निको नभएपछि उनी पाँच महिनादेखि क्षयरोग उपचारका लागि नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्रमा भर्ना भएका छन् ।
“यहाँ आएर भर्ना भएपछि सञ्चो हुँदै गएको छ, अहिले छाती दुख्ने, ज्वरो आउने समस्या ठीक भएको छ”, सुनारले भने, “अब चार महिनामा ठीक भएर घर फर्किन्छु, हामीजस्ता बिरामीलाई यो अस्पताल वरदान भएको छ ।”
दाङ हापुर निवासी धनीराम खाम्छामगरलाई दुई पटक क्षयरोग सङ्क्रमण भयो । नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्रमा उपचारपछि अहिले उनी घरमै स्वस्थ जीवनयापन गरिरहैका छन् । उनकी श्रीमती धनसरी खाम्छामगर र बुहारी पूर्णकला सोती मगरलाई क्षयरोग सङ्क्रमण देखिएपछि अहिले नेपालगञ्ज आएर उनीहरु उपचार प्रक्रियामा रहेका छन् ।
“हाम्रो परिवारका तीन जनालाई क्षयरोग देखिएर उपचार गराइरहेका छौँ, अहिले सुधार भइरहेको छ”, पूर्णकलाले भने, “बेलैमा यहाँ आएर उपचार गर्न पाएकाले अहिले सुधार हुँदै गएको छ ।” क्षयरोगका बिरामीलाई प्रत्यक्ष निगरानीमा उनीहरुको समस्याअनुसार औषधि र पोषिलो खानेकुरा खुवाइने भएकाले समयमै निको हुने गरेको प्रेषण केन्द्रकी नर्सिङ सुपरभाइजर मीना रेग्मीले बताए ।
क्षयरोगका बिरामीमा अन्य रोगसमेत हुने भएकाले उपचारमा समस्या आउने गरेको उनको भनाइ छ । क्षयरोगका बिरामीको निःशुल्क उपचार गर्ने सरकारी नीति छ । यहाँ आएका बिरामीलाई राख्नसक्ने भवन र उपचार गर्ने अस्पताल नहुँदा समस्या हुँदै आएको टिबी नेपाल क्षयरोग प्रेषण केन्द्रका प्रबन्धक हिक्मतबहादुर खड्काले बताए ।
भाडाको भवनमा सञ्चालित प्रेषण केन्द्रमा ४५ शय्यामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको प्रबन्धक खड्काले बताए । प्रेषण केन्द्रमा ३५ देखि ४० बिरामी नियमितरुपमा उपचार प्रक्रियामा रहँदै आएको उनको भनाइ छ । “टिबी परीक्षणका लागि चाहिने उपकरण भए पनि उपकरण राख्ने कोठा छैनन्, बिरामीका कुरुवा बस्ने ठाउँ, शौचालय र पार्किङ व्यवस्थित गर्न सकिएको छैन”, खड्काले भने, “बजेट अभावमा अस्पताल सञ्चालनका लागि चाहिने मापदण्ड पूरा भएको छैन ।”
सरकारले टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगञ्जमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यहाँ वार्षिक ३५ हजारभन्दा बढी मानिस क्षयरोगको परीक्षण गर्न आउँछन् । अहिले मासिक रु ८० हजार भाडामा अस्पताल सञ्चालन गर्दै आएको प्रबन्धक खड्काले बताए । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार ३०, सोमबार १६:२३स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री
कला, विचार/मनोरञ्जन२०८२ असार ३०, सोमबार १२:०३शान्तिश्री परियार र रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी
कला, विचार/मनोरञ्जन२०८२ असार ३०, सोमबार ०९:२१चाम्सको चलचित्र ‘सुम्निमा’ मा अभिनेता कुन्साङ अनुबन्ध
समाचार२०८२ असार २९, आईतवार १९:४०भोटेकोसी तथा त्रिशूली नदी छेउछाउका नागरिकलाई सावधानी अपनाउन अनुरोध