अहिलेको संविधान उत्कृष्ट विशेषताले भरिपूर्ण : प्रथम राष्ट्रपति यादव

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानको सही कार्यान्वयन गरेर देशको उज्ज्वल भविष्य निर्माणमा लाग्न राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ ।
नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको संविधान उत्कृष्ट विशेषताले भरिपूर्ण भएको संबिधान भएकाले यसको सही कार्यान्वयन भए मुलुक समृद्धितर्फ लम्कने विश्वास व्यक्त गर्नुभयो ।
“विभिन्न राजनीतिक कालखण्डपछि अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक सिद्धान्तका विषयलाई संविधानमा नै प्रष्टसँग उल्लेख गरिएको छ ।” उहाँले भन्नुभयो, “जनताको आशीर्वाद लिएर दलका प्रतिनिधिले समय अनुकूल सही व्यवस्थापन गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्ने जिम्मेवारी आएको छ ।”
उहाँले मुलुकको विकासको लागि शिक्षा र कृषिमा सुधारको परिवर्तन आवश्यक रहेको आँैल्याउनुभयो । नुवाकोटको भूमि तराईको फाँट सरह रहेको भन्दै यहाँको भूमिमा कृषि खेती गरेर यहीँ रमाउने लक्ष्य लिन विद्यार्थी र युवा वर्गलाई पूर्वराष्ट्रपति यादवले अनुरोध गर्नुभयो ।
“म किसान परिवारमा हुर्किएर देशको राष्ट्रप्रमुख भए पनि हरियाली फाँट देख्दा आनन्दित भएको छु । अहिलेका विद्यार्थीलाई भविष्यमा यहीँको भूमिमा कृषि कर्ममा देख्न पाएमा अझै आनन्दित हुनेछु ।” उहाँले भन्नुभयो ।
शिक्षा र सीप भए स्वदेशमा प्रशस्त सम्भावनाः नेका प्रवक्ता डा महत
सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताउनुभएको छ । उहाँले अभिभावकलाई आफ्ना सन्तती पढाउन कुनै कन्जुस्याइ नगर्न आग्रह गर्दै विद्यार्थीलाई पनि राज्यले उपलब्ध गराएको सुविधा र परिवारबाट पाएको सहयोगको सही रुपमा सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
“शिक्षाको लागि राज्यले सुविधा सम्पन्न भौतिक संरचना, आवश्यक जनशक्ति, शैक्षिक गुणस्तर वृद्धिको लागी सहयोगी माध्यम प्रशस्त उपलब्ध गराएको छ ।” पूर्व अर्थमन्त्री महतले भन्नुभयो “सीपयुक्त शिक्षाको ग्रहणबाट स्वदेशमा नै रोजगारको प्रशस्त सम्भावना छ ।”
देशमा राजनीतिक अस्थिरता भए पनि त्यसलाई अनावश्यक भ्रम फैलाउन खोज्नेहरुसँग सचेत भएर अहिलेका विद्यार्थी र युवा पुस्तालाई धैर्यता, इमान्दारिता र सहनशीलता कायम राख्न उहाँले आग्रह गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार २०:१६इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका
समाचार२०८२ फाल्गुन १०, आईतवार १७:३२प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक








