Home कला, विचार/मनोरञ्जन मोदीबेनी’को गीत ‘मन्जुरी’ कोरियोग्राफर किरण थापाको सुटिंग अनुभव

मोदीबेनी’को गीत ‘मन्जुरी’ कोरियोग्राफर किरण थापाको सुटिंग अनुभव

5
Google search engine

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को रोमान्टिक गीत ‘मन्जुरी’ यति बेला चर्चामा छ। फेसबुक, इन्स्टाग्राम, र युट्युबमा यो गीतको क्लिपबाट बनाइएका थुप्रै सामग्रीहरू भाइरल भएका छन्। गीतको शब्द, सङ्गीत, र अभिनयको सङ्गमले दर्शकको मन जितिरहेको छ भने यसको कोरियोग्राफीको जादु पनि कम छैन। यो सबैको पृष्ठभूमिमा छन् कोरियोग्राफर किरण थापा, जसले यो गीतलाई विशेष बनाए।

किरणलाई सुरुमा नै यस गीतका शब्दले अत्यन्तै प्रभावित बनाएको थियो। “मन्जुरी गीतको शब्दले मलाई एकदम आकर्षित गरेको थियो। गीतको ‘फिरफिर’ रिबन भाग अत्यन्त मन परेको थियो,” उनले भने। गीतको हर शब्दले एउटा कथा बुनिरहेको थियो, जसलाई दृश्य भाषामा उतार्न पाउँदा किरण निकै उत्साहित थिए। “मैले यो गीतलाई न्याय गर्न सक्छु भनेर कोरियोग्राफीको लागि मन्जुर भएको थिएँ,” उनी थप्छन्।

गीत सुन्नासाथ यो गीतले विभिन्न रङ्गहरूको माग गरिरहेको महसुस किरणलाई थियो। “यो गीतले विभिन्न किसिमको ‘कलर’हरू मागिरहेको थियो। यो चलचित्रको जुन ‘सेट अप’ छ, जुन ठाउँको कथा छ, त्यसलाई नै मिलाएर मैले दृश्य भाषा निर्माण गर्न खोजेको छु,” किरण बताउँछन्, “भिडियोको ‘हुकस्टेप’लाई सामान्य रूपमा नृत्य गर्दा आफ्नो भावलाई व्यक्त गर्न सक्ने गरी बनाएको छु। यसमा प्रयोग भएका विभिन्न ‘प्रप्स’हरू र प्राकृतिक सौन्दर्यले दुई कलाकारको केमेस्ट्रीलाई वर्णन गर्छन्।”

किरणले वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठसँगको कामलाई स्मरण गर्दै उनीहरूको व्यावसायिकताको प्रशंसा गरे। “दुवै जना प्रोफेसनल नै हुनुहुन्छ तर कहिले काहीँ सिक्ने सिलसिलामा सधैँ नयाँ सिक्नुपर्ने हुन्छ,” उनी भन्छन्। “मैले नयाँ र पुरानो कलाकार भनेर सिकाउने प्रक्रियालाई अलग-अलग बनाउँदिन। उहाँहरू दुवै जना मैले सिकाएको सबै कुरा सिक्न खुला हुनुहुन्थ्यो,” किरणले थपे।

गीतको छायाङ्कनको क्रममा अनेकौँ प्राविधिक चुनौतीहरू पनि आएका थिए। “सुरुमा हामीले एउटा पुलमा छायाङ्कन गर्ने सोच बनाएका थियौँ। त्यही समयमा अविरल वर्षा भयो। पुल पानीले डुबायो, छायाङ्कन गर्न सकिएन,” किरण सम्झन्छन्। पहाडको टुप्पोमा छायाङ्कन गर्नुपर्ने थियो, जहाँ प्राविधिक सामग्रीहरू पुर्‍याउनु आफैमा चुनौती थियो। किरण टिमप्रति कृतज्ञ सुनिन्छन्, “पानी पर्ने कारण आधा दिन समय जान्थ्यो। तर प्राविधिक टिम र कलाकारहरूको साथले सबै समस्यालाई पन्छाएर काम सम्पन्न भयो।”

किरणको नेपालमा अत्याधुनिक प्राविधिक सामग्री र प्रविधि प्रयोग गरेर छायाङ्कन गर्ने इच्छा राखेका छन्। “म आफूलाई पनि अझै निखारेर अध्ययन अनुसन्धान गरेर र नेपाली चलचित्रको कोरियोग्राफीमा केही नयाँ क्रान्ति गर्ने इच्छा छ,” किरणले बताए।

‘मोदीबेनी’का निर्देशक शङ्कर कोइराला हुन्। पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रमा अमर र वर्षाको साथमा प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here