Home कला, विचार/मनोरञ्जन चुँदीमा चुलिएको चारुको चुचुरो : एक संस्मरण

चुँदीमा चुलिएको चारुको चुचुरो : एक संस्मरण

146
Google search engine

मेरा आतुर पाइला तनक्क तानिँदै तनहुँतिर बढिरहेका थिए । हो, भोलि असार उन्तिस अर्थात् भानु जयन्ती । आजैदेखि चारु साहित्य प्रतिष्ठानको सातौँ वार्षिकोत्सवको कार्यक्रम तथा श्री आदिकवि भानुभक्त जन्मस्थल विकास समिति अनि गीतल प्रतिष्ठानका विविध कार्यक्रमका लागि जानु थियो । यता फेरि आजै मेरो बाबु क्रिशान्तलाई पहिलो पटक विन्दुवासिनी मन्दिर दर्शन गर्न लानु थियो । त्यो काम सकेर इनड्राइभ गर्नु प¥यो भनेर यसो हेरेँ, तर मोबाइलमा इन्स्टल रहेनछ । त्यसैले एक मिनेटको बाटो हिँड्न पनि के एक घण्टाको दुःख गर्नु भनेर मालेपाटनबाट म बिहान ९ः ३० बजे पोखरा बाग्लुङ हाइवेमा निस्किएँ ।  


        बिजुली अफिसतिरबाट कछुवा गतिमा आइरहेको एउटा ट्याक्सीले मेरै अगाडि ल्याएर टक्क रोक्यो । सर, कहाँसम्म होला ? लगभग पैँतिस वर्षको जस्तो देखिने एउटा सुन्दर युवकले मलाई सोध्यो । खासमा म माइक्रो बस कुरिरहेको थिएँ । उसको सर शब्दमा कताकता मधुर आकर्षण भरिएको थियो । यत्तिकैमा पृथ्वीचोकसम्म भन्दै ढोका खोल्न पुगेछु । पृथ्वीचोकमा पुगेर यसो नजर अलि अगाडि एउटा विराटनगर जाने डिलक्समा गएर रोकियो । त्यतै जाँदै थिएँ दसौँ व्यक्तिहरू आइपुगे । सर कहाँ ? हेल्लो सर आउनुस्, काठमाडौँ काठमाडौँ, ए सुनौली सुनौली …. मेरा दुुवै कान छेडेर यी शब्दवाण मुटुमा पुगिरहेका थिए । म कसैलाई वास्ता नगरी मौन बेवास्ता गर्दै सरासर अगि बढेँ र बसमा बसेँ । केही बेरमै बस चिप्लेढुङ्गामा चिप्लिएको चिप्लेकिराझैँ सलल अगाडि बढ्यो ।


        बाटाबाटामा भेटेका मान्छे हाल्दै बस तालचोक पुग्यो । त्यहाँसम्म पुग्दा पनि मान्छेले भरिएको थिएन । सायद सबै अति आवश्यक भए मात्र यात्रा गर्ने अवस्थामा पुगेका थिए । लगातारको झरीले गर्दा प्रकृतिले आफ्नो रौद्र रूप देखाइरहेको थियो । सबैको मनमा कता कता डर लुकेको जस्तो भान हुन्थ्यो । तैपनि देवी पन्थी सरको हार्दिक आमन्त्रणलाई नकार्न नसकेर नराम्रो मौसम भए पनि म हिँडेको थिएँ तनहुँतिर । गगनगौैँडा, लामेआहाल, अनि कोत्रे, खैरेनीबजार हुँदै जामुने भन्ज्याङमा पुगेर पोखरा हाइवे रेस्टुरेन्ट एन्ड खाजा घरछेवैमा बसको बे्रक लाग्यो । सबै जना छोटो रिफ्रेसमेन्टका लागि ओर्ले । त्यसमा पनि म त झन् नओर्लने कुरै भएन । हल्का रिफ्रेस भएपछि गर्मीको उखुम छल्न मैले एउटा चिसोको चुस्की लिएँ । त्यहाँ अगाडिको बाटाको अवस्था बुझेर हामी फेरि उही गति र गन्तव्यतिर पूर्ववत् लाग्यौँ । बाटाबाटामा भलबाढी र पहिरोका अनेकन पदच्चापहरू थिए ।  जामुनेको जमिनमा जमेको जब्बर पहिरोले मन झसङ्ग नबनाएको होइन । तर पनि, चुनौतीका  चङ्गुलहरू चरक्क चिर्दै म पुष्पलाल मध्यपहाडी लोकमार्ग जोडिएको पृथ्वी राजमार्गमा सररर अगाडि बढेँ ।


         दमौलीको गर्मीमा पनि बस भित्र चलेको एसीका कारण खासै फरक परेन । बस सररर घाँसीकुवा हुँदै डुम्रेमा गएर रोकियो । अब भने पृथ्वी राजमार्गलाई त्यागेर अर्काे बसबाट पूर्वोत्तर दिशाको उत्तारुमय उत्तरार्ध यात्रा गर्दै जानुपर्ने भयो । अलिक अगाडि गएँ एउटा बस थियो । यसो भित्र हेरेको अनेक कुखुराको भोज गरेर भुँडी टनक्क टन्किएको अजिँगर जस्तो देखिने गरी मान्छे हालेको रहेछ । अचम्म लाग्यो, के डुम्रेका ट्राफिकलाई घुसले डामेकै हो त ? यदि होइन भने त्यो हर्कत किन बन्द हुँदैन त ? तातो गर्मीमा उकुसमुकुस हुँदै अनि उसिनिँदै र पसिनिँदै आधा घण्टा उभिएपछि लगभग साढे एक बजेतिर बस सेपा बगैँचाका लागि रमाना भयो । केही भोका टेम्पोहरूलाई छेवैमा छोडेर म बस चढेको थिएँ । डुम्रे बेसीसहर चामे राजमार्ग हुँदै अब एउटै आशा थियो सेपा बगैँचा ।


        एकातिर बाटोमा भानुकै नामका स्कुल र चोकचोकमा भानुका प्रतिमूर्ति देख्दा सबै गाउँ नै भानुमय भएको भान हुन्थ्यो भने अर्काेतिर पुराना शैलीका घरहरू देख्दा यतै कतै भानु दौरासुरुवाल र बिर्के टोपीमा हिँड्दै छन् कि भने हालुसिनेसन भएको थियो । केहीबेरपछि तल्लो पिपलटारमा रहेको भन्सार चोकबाट अझै उत्तर लाग्नुपर्ने रहेछ । बाटोमा चुँदी खोला निर्मल जल लिएर एकतमाससँग बगिरहेको थियो ।  बसबाट झरेर भानुका बाबाको नामबाट राखिएको धनञ्जय मार्ग लागेँ ।


वरिपरि भर्खर भर्खर रोपिएका धानको हरियो फाँट अतिथि स्वागतका लागि मौन पस्रिरहेको थियो भने माथिबाट शिखरकटेरी डाँडा एक तपस्वीझैँ भानुको प्रतीक्षारत देखिन्थ्यो । बाटोमा भारतको प्रयागराजबाट आउनुभएका विजयानन्दजी र उहाँका साथीसँग भेट भो । बडा रमाइलो कुराकनी गर्दै हामी अगाडि बढ्यौँ । साहसिक यात्रापछि म भानुको जन्मस्थल पुगेको थिएँ ।


गाउँको मुखैमा भानु स्मृति सङ्ग्रहालय राखिएको रहेछ । स्वागतम् लेखेको प्रवेशद्वारबाट हामी सबै भित्र छि¥यौँ । सङ्ग्रहालय र भानुभक्त हलका बिचमा आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको शालिक रहेछ । खुब मज्जा आयो । एउटा सेल्फी खिचिहालेँ । भानुभक्त हलमा कार्यक्रम भइरहेको रहेछ । धनञ्जय मार्गमा भेटिएका मिनबहादुर श्रेष्ठ दाजुसँग भलाकुसारी गर्दै हलभित्र छिरियो ।


मञ्च अतिथिले खचाखच भरिएको थियो । हामी तीन जना थियौँ । भिडको भुँडी काँक्राको चिरोझैँ बिचबाट चरक्क चिरेर अलिक अगि गएर बस्यौँ । एकछिन हामी कुर्सीमा बसेपछि डा. देवी पन्थीले चिनिहाल्नुभो अनि आसन ग्रहणसँगै अर्गानिक पूmलपातको माला र बिर्के टोपीले सम्मान गराउनुभो । बडो आनन्द लाग्यो यो बिर्के टोपी पहिलो पटक लगाउँदा त कतै आफू नै भानुभक्त पो हुँ कि जस्तो भान भइरहेको थियो । गडगडाहट करतल ध्वनिले भानुभक्त हल एकैछिन गुन्जायमान भयो । आखिर जीवनको कमाइ यही त रहेछ । स्वर्गीय आनन्दानुभूति मससुस भयो ।


विद्यालयस्तरीय तथा खुला कविता प्रतियोगिताका साथमा रामायण वाचन प्रतियोगिता चलिरहेको थियो । एकैछिनको काव्यविलासपछि म फुत्त बाहिर निस्किएँ अनि सङ्ग्रहालयभित्र छिरेँ । चारैतिर नजर लगाएँ । भानुले प्रयोग गर्ने गरेका विभिन्न प्राचीन सामग्रीसँगै सबैभन्दा महत्त्वपूर्ण त भानुले सर्वप्रथम लेखेको रामायणको पाण्डुलिपि दर्शन गर्ने महिम अवसर जुट्यो । फेरि हलतिरै फर्केँ । यतिबेला हल चारुको चहकले चहकिलो बनिसकेको थियो । नेपाल भारतका विभिन्न ठाउँबाट आएका साहित्यकारको जमघटले कार्यक्रम अन्तराष्ट्रिय चारु महोत्सवमय बनेको थियो । यस्तो पवित्र भूमिमा यस्तो महान् कार्य आँट्ने प्रमुख श्रेय संस्थापक डा. देवी पन्थीज्यूलाई जान्छ ।
धेरै वरिष्ठ साहित्यकारहरू हुनुहुन्थ्यो । त्यसमा पनि सर्वप्रथम मलाई चारुवाचनसहित सम्मानको अवसर जुटाउनुभएकोमा हृदयको मन्दिरबाट हार्दिक आभारका पुष्पगुच्छा अर्पण गर्दछु । मैले भानुको सम्मानमा चार हरफ र दुई ओटा रागविराग वाचन गर्ने मौका पाएँ । यसैबिचमा नेपाली गजलका विद्वच्छिरोमणि तथा चारु साहित्य प्रतिष्ठानका प्रमुख सल्लाहकार एवम् कार्यक्रमका प्रमुख अतिथि आदरणीय श्री घनश्याम न्यौपाने परिश्रमीज्यू, संस्थापक डा. देवी पन्थीज्यू तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक आदरणीय शङ्कर रानाभाटज्यूले संयुक्तरूपमा मलाई आदिकवि भानुभक्त आचार्य चारु साहित्य सम्मान २०८१ प्रदान गर्नुभयो । यसबेला मलाई सगरमाथा चढेको गौरवमय अनुभूति भइरहेको थियो । बाढीपहिरोको जोखिम पार गर्दै पनि यतिको कार्यक्रममा सहभागी हुन पाउँदा तेस्रो विश्वयुद्ध नै जितेको महसुस भइरहेको थियो ।


त्यसपछि लगातार हल नेपाली र हिन्दी चारुको वाचन र गायनले श्रुतिमधुर बन्दै गयो । विभिन्न पुस्तकको विमोचन तथा स्रष्टा सम्मान चलिरह्यो । कतिबेला रातको दस बजेछ, मैले पत्तै पाइन । सबै रोमाञ्चित र उमङ्गित थिए । यतिको गर्व गर्न लायक ठाउँमा यो व्यवस्थासहितको ऐतिहासिक कार्यक्रम गर्ने आँट जो कोहीले गर्ने सक्दैनन् । सबै अतिथि स्रष्टालाई खाने र बस्ने उपयुक्त प्रबन्ध पनि मिलाइएको रहेछ । कहाँ बस्ने के गर्ने भन्ने बारेमा मथिङ्गल घुमाउनै नपर्ने रहेछ । कार्यक्रमको मूल उद्देश्य भने भानु जन्मस्थल अवलोकन तथा साहित्यिक पर्यटन विकास गर्ने पवित्र लक्ष्य रहेको थियो ।


. भोलिपल्ट बिहानै प्रभातफेरिका लागि पञ्चकन्या अगाडि लगाएर बाजागाजाका साथमा हामी सालको बाक्लो वनबाट उक्लँदै माथि शिखरकटेरी पुग्यौँ । त्यहाँ भानुभक्तको वास्तविक जन्मस्थल पुग्दा एउटा भग्नावशेष घर रहेछ । त्यहीँ भानुभक्तको घर रहेको स्थानीय बताउँछन् । त्यही घरमा नै भानुले बालकाण्ड लेख्नुभएको थियो । त्यो भग्नावशेष पनि यादव खरेल निर्मित चलचित्र भानुभक्तको छायङ्कनका क्रममा बनाइएको र एकसट्ठी सालतिर आगलागीबाट ध्वस्त भएको रहेछ । त्यसकै छेउमा अलि आधुनिक तरिकाले सरकारले बनाएकोे रामायण घर अर्थात् धर्माशाला रहेछ । त्यस धर्मशालाको भित्तामा सातै काण्ड रामायण लेख्ने योजना पूरा भइनसकेको पाएँ । जे होस्, त्यहाँ गीत गायौँ, सिलोक वाच्यौँ, लाग्यो भानुको सुकर्मका कारण आज कति पवित्र छ है पूरा चुँदी रम्घा । एकपटक भानुलाई आत्मिक श्रद्धाञ्जली अर्पण गरेर फेरि माथि उकालो चढ्यौँ ।


लगभग डेढ घण्टाको निरन्तर उकालो हिँडेर हामी माथि रम्घा डाँडामा पुग्यौँ, जहाँ भानुको प्रतिमास्थल थियो । त्यहाँ पुगेर पञ्चकन्याद्वारा रामायण वाचन गराइयो अनि भानुको प्रतीमामा सबैले मालार्पण गरी पूजाअर्चना गरियो । साथै वाटिका चारु सङ्ग्रहको विमोचन पनि गरियो त्यसपछि कार्यक्रम कोण सभामा परिवर्तन भएको थियो । यसरी फेरि हामी भानु जन्मस्थल विकास समितको प्राङ्गणमा फर्क्यौँ । त्यहाँ आयोजित विविध कार्यक्रममा नाटक मञ्चन, झाँकी प्रदर्शन तथा विविध साहित्यिक कार्यक्रममा रमायौँ ।


संसारमा सबै कुरा परिवर्तनशील छन् । मात्र परिवर्तनको परिवर्तन हुँदैन भनिन्छ । हो, कति छिटो दुई दिनको बसाइँ सकिइसकेछ । म अब फर्कनुपर्ने बेला भइसकेको थियो । एक पटक तलदेखि माथि डाँडसम्म हेरेँ । लाग्यो, भानुसँगै चुँदीरम्घामा चारुको चुचुरो चुलिएको छ, अब यसलाई झन् उचाइ दिनु छ । यसरी दुई दिनको कार्यक्रमलाई यहीँ बिट मार्दै म सबैसँग बिदा भएर फेरि पोखराको माया र माछाप्च्छ«ेको छायामा फेवातालसँगै रमाउन दक्षिणपश्चिमको यात्राका लागि पोको पुन्तुरो बोकेर हिँडेको सबैले देखे ।

श्रीकृष्ण शर्मा
पोखरा–५, मालेपाटन

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here