केटीएसको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको मन्तव्य

केटीएसको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको मन्तव्य

आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।
आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि हामीले सहयोग गरेका छौं ।
आज उद्घाटन गरिएको यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको छ ।
यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा यहाँहरुमा जानकारी गराउन चाहन्छु ।
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ ।
नेपालको परिप्रेक्षमा व्यक्तिगत तथा पारिवारिक समृद्धिका साथै देशको विकासमा दक्ष जनशक्तिको आवश्यकता र महत्वलाई दृष्टिगत गर्दै आइएमई ग्रूपले यस क्षेत्रमा कदम चालेको हो ।
आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्यका साथ हामीले यो पहल लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ ।

आधुनिक विश्वमा प्राविधिक शिक्षा विकल्प होइन, आवश्यकता बनिसकेको छ । पहिलेजस्तो विश्वविद्यालयको डिग्री लिनै पर्ने र त्यस्तो अध्ययन गर्न नसक्ने वा नभ्याउनेहरुले प्राविधिक शिक्षा पढ्ने अवस्था अहिले छैन ।
अझ अघिल्लो पुस्तासम्म त नेपालमा विद्यालय तहको पढाइमा राम्रो नतिजा हासिल गर्न नसक्नेले मात्र प्राविधिक शिक्षा वा तालिम लिने सोच थियो जुन कतिपयमा अद्यपि कायम छ ।
तर अहिले आफूलाई दक्ष र अब्बल साबित गर्न मात्र होइन आफूले चाहेको क्षेत्रमा जागिर पाउन वा आफ्नै व्यवसाय थाल्नका लागि प्राविधिक शिक्षा अपरिहार्य बनेको हामीले देखेका छौं । अभिभावक र विद्यार्थीहरु स्वस्फूर्तरुपमा यसतर्फ आकर्षित भइरहेका छन् ।
अबको शिक्षाको मोडल पनि यस्तै बन्नुपर्छ । विद्यालय तहको अनिवार्य शिक्षा हासिल गरिसकेपछि प्राविधिक विषयको अध्ययन वा तालिम सक्ने, अनि रोजगार वा स्वरोजगार बन्दै अन्य प्राज्ञिक विषयको अध्ययन अघि बढाउने ।
त्यसैले सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्छ । विश्वका अनेक मुलुकहरु र हाम्रा छिमकी भारत र चीनले इनोभेसन, उत्पादकत्व र आर्थिक वृद्धिलाई टेवा दिनका लागि सीपमूलक क्षिक्षाको उच्च उपयोग गरेको देखिन्छ ।
इञ्जिनियरिङ, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, होटल तथा पर्यटन, कृषि वा अन्य धेरै क्षेत्रमा प्राविधिक ज्ञानले उद्योगलाई आकार दिन र समाजलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
नेपालमा पनि सरकारले राष्ट्र निर्माण तथा आर्थिक उन्नतिमा प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको कुरालाई आत्मसाथ गरेको देखिन्छ । सीपमूलक शिक्षा तथा व्यावसायिक प्रशिक्षणलाई प्रवद्र्धन गर्न विभिन्न नीति तथा पहलहरु थालिएका छन् ।
यस्ता नीति तथा अभियानलाई सार्थक बनाउनका लागि नेपालमा उचित मूल्यमा गुणस्तरीय शिक्षा र प्रशिक्षण प्रदान गर्न सक्ने शिक्षालयहरुको आवश्यकता छ । सीटीईभीटीमा मात्र सिमित प्राविधिक तथा व्यावसायिक शिक्षामा अहिले स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुको समेत प्रवेश भइसकेको छ । यसबाट पनि यसको महत्व र गाम्भिर्यता पुष्टी हुन्छ ।
उपस्थित महानुभावहरु,
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति के हो ? भनेर सोध्यो भने यहाँहरुमध्ये अकिांशले सेकेन्ड पनि खेर नफाली जवाफ दिनुहुनेछ – बेरोजगारी तथा युवा शक्तिको पलायन ।
त्यसो भए हाम्रा युवाहरु किन यसरी देश छाडिरहेका छन् ? के यो उनीहरुको रहर हो ? परिवारबाट बिछोडिएर अनि देश र समाजबाट टाढिएर विरानो मुलुकमा बस्ने ?
हामी सबैलाई थाहा छ, यो उनीहरुको बाध्यता हो । हो केही संख्यामा युवाहरु विदेशिनु पर्छ । नयाँ नयाँ विषयहरुको अध्ययन गरी ज्ञान यहाँ भित्र्याउनु पर्छ । नयाँ रोजगारी तथा सीपका अवसरहरु भित्र्याउनुपर्छ । तर सकीनसकी रिनधन गरेर थ्रीडी भनिने डर्टी, डेन्जरस र डिमिनिङ काम गर्न अर्काको देशमा जानुपर्ने अवस्था पक्कै पनि सन्तोषको कुरा होइन ।
पछिल्ला तथ्यांकअनुसार गत आर्थिक वर्षमा नयाँ र नवीकरण गरी ७ लाख १४ हजारभन्दा बढीले श्रम स्विकृति लिएका छन् । त्यस्तै अनौपचारिक माध्यमबाट विदेशमा काम गर्न जाने नेपालको संख्या पनि उल्लेख्य छ । त्यसको अर्थ हो, एक दिनमा झण्डै २ हजार नेपालीले कामकै लागि मुलुक छाडिरहेका छन् । विदेशमा पढ्न र तालिम लिन जानेको संख्या पनि तिब्र गतिमा बढिरहेको छ ।
यो चिन्ताजनक अवस्था हो । तर मलाई लाग्छ, अझ बढी चिन्ताको अवस्था हामीसँग विद्यमान छ ।
त्यो भनेको के हो भने विदेशमा काम गर्न स्वीकृति लिनेमध्ये १ लाख ४५ हजार अदक्ष र ५ लाख ३२ हजार सामान्य सीप भएका छन् । यस्ता सीपविहीन वा सामान्य सीप भएका कामदारले पाउने तलब वा सुविधा ज्यादै कम हुने गरेको छ । उनीहरुले गर्ने काम पनि सहज हुँदैन ।
सात लाख भन्दा बढी नेपाली विदेशमा रोजगारी गर्न गएकोमा जम्मा ७ सय ३२ उच्च सीप भएका र २ हजार ७ सय ७२ प्रोफेशनल छन् ।
वैदेशिक रोजगारमा रहेको एक नेपालीले एक वर्षमा पठाउने रेमिट्यान्सको रकम भन्दा फिलिपिन्सको व्यक्तिले झण्डै चार गुणा बढी रहेको तथ्याङ्कले देखाउँछ ।
यी तथ्यांकले पनि यहाँ सीप विकासको आवश्यकता कति ठूलो रहेछ भन्ने प्रष्ट पार्छ । स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ ।
यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो ।
माननीय मन्त्रीज्यू, सीप सहित मात्र नेपालीलाई आन्तरिक रोजगारी तथा वैदेशिक रोजगारमा संलग्न हुने कानुनी प्रबन्ध गरेमा काठमाडौँ टेक्निकल स्कुल जस्ता प्राविधिक सीप दिने थप विद्यालयहरु देशै भरी खुल्ने अवस्था हुन्छ ।
जसरी प्राज्ञिक ज्ञानको तहगत सर्टिफिकेट हुन्छ । त्यसैगरी, प्राविधिक ज्ञान, सीपको पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता हुने गरी सीप परीक्षण मार्फत प्रमाणीकरण गर्न सहियो र निजी क्षेत्रले आन्तरिक रोजगारमा जनशक्ति लिँदा उक्त प्रमाणपत्र लाई आधार मान्ने र वैदेशिक रोजगारमा जाने व्यक्तिलाई पनि उक्त प्रमाण पत्रले आफ्नो दक्षता अनुसारको काम पाउने सुनिश्चितता हुन्छ । हो, रोजगारका सबै क्षेत्रमा स्किल सर्टिफिकेट एकै पटक अनिवार्य गर्न सकिदैन । तर कुनै कुनै निश्चित रोजगारीका क्षेत्र जस्तै हस्पिटालिटी, निर्माण क्षेत्रबाट तुरुन्तै सुरुवात गर्न सकिन्छ । वैदेशिक रोजगारबाट फर्किएका नेपाली युवाको पनि सीप परीक्षण गरी सर्टिफिकेट दिने व्यवस्था गर्न सकेमा त्यस सर्टिफिकेटले देश भित्रै सीप अनुसारको रोजगारी खोज्ने वा स्वरोजगार बन्ने पाटो समेत खुल्नेछ ।
आदरणीय महानुभावहरु,
यस केटीएसको माध्यमबाट हामीले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छौं जसले उनीहरुलाई केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ ।
सीपले युक्त कुशल व्यक्तिहरुले मात्र आफ्नै व्यवसाय स्थापना र सञ्चालन गर्न सक्छन् । स्थानीय अर्थतन्त्रको विकासमा योगदान दिन सक्छन् । राष्ट्रिय विकासलाई गति दिन सक्छन् । जब युवाहरु नेपालमै रहन्छन् तव त्यसले परिवार, समाज र समुदायको विकासमा सकारात्मक प्रभाव पार्नेछ । साथै, राष्ट्रिय पहिचानलाई मजबुत बनाउने छ ।
आर्थिक अवस्था राम्रो भएको परिवारको स्वास्थ्य र शिक्षा पनि राम्रो हुन्छ । त्यसले समाजमै खुशीयाली सिर्जना गर्छ ।
त्यसैले, केटीएसले कर्मचारी मात्र होइन, उद्यमी सिर्जना गर्ने लक्ष्य लिएको छ । आतिथ्य, प्राविधिक सेवा र एज केयरजस्ता उच्च माग भएका उद्योगहरुमा केन्द्रित पाठ्यक्रमहरुको सहयोगमा हामीले हाम्रा ग्रयाजुएटहरुलाई उच्च आय दिने दीर्घकालीन करियरका लागि तयार गरिरहेका छौं ।
उनीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन केटीएसले स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको छ । आफ्नो क्षेत्रमा सफल बनेका व्यक्तिहरुले यहाँ ज्ञान बाँड्नेछन् । यहाँको पाठ्यक्रम अहिलेको समयको बजारको मागलाई सम्बोधन गर्ने गरी तयार गरिएको पनि म जानकारी गराउन चाहन्छु ।
अन्त्यमा, शिक्षा प्रगतिको आधार हो भने प्राविधिक शिक्षा आर्थिक र सामाजिक परिवर्तनको इञ्जिन हो । काठमाडौं टेक्निकल स्कुल त्यही परिवर्तनको संवाहक बन्न चाहन्छ ।
धन्यवाद ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   3   =  

Protected by Spam Master