आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनको आपत्ति, देशभरको सेवा ठप्प पार्ने चेतावनी

आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनको आपत्ति, देशभरको सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं, ३ जेठ । नेपाल डेन्टल एशोसिएशन नेपालले ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड–२०८१’ माथि आपत्ति जनाउँदै आन्दोलनका उत्रिने घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले गत वैशाख ९ गते जारी गरिएको उक्त मापदण्डमा दन्त चिकित्सकहरुको मागलाई बेवास्ता गरिएको बताएको हो । स्थानीय तहमा बन्ने ५, १० र १५ शैय्याको अस्पतालमा दन्त चिकित्सक र सहायकको दरबन्दी सिर्जना गरिनुपर्ने एशोसिएशनको माग छ ।

एशोसिएशनका अध्यक्ष डा.प्रणयरत्न शाक्यले देशभरका दन्त चिकित्सकहरुले अहिले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए । डा.शाक्यका अनुसार अहिले देशभरका दन्त चिकित्सकहरुकाले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । आफूहरुको माग पूरा नभएको खण्डमा इमरजेन्सीबाहेकका सबै सेवा ठप्प पार्ने र त्यति गर्दा पनि माग पूरा गर्न सरकार तयार नभएको खण्डमा इमरजेन्सी सेवा पनि रोक्ने अध्यक्ष शाक्यले चेतावनी दिए ।

‘हामी देशभरका दन्त चिकित्सकहरुसँग मिलेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छौं । अहिले कालोपट्टी बाधेर काम गरिरहेका छौं । नागरिकले राम्रो उपचार पाउन् भन्ने हाम्रो माग हो,’– उनले भने ।

एशोसिएशनका महासचिव डा.विश्वप्रकाश ठाकुरले आफूहरुले ३ वर्ष पहिलादेखि सरकारसँग उक्त मागबारे ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएको बताए । भर्खरै बनाइएको मापदण्डले दन्त चिकित्सकहरुलाई समेट्न नसकेको उनको भनाइ छ ।

‘२०८२ वैशाख ९ गते मापदण्ड बनाइयो । ५, १० र १५ शैयाका आधारभूत अस्पतालको सञ्चालन मापदण्ड २०८१ बनेको छ । त्यसमा हामी दन्त चिकित्सकलाई कतै पनि राखिएन । सरकारले हामीलाई धोका दिएको जस्तो देखिएको छ । हामी यसपाली चुपचाप रहँदैनौं,’– उनले भने ।

महासचिव ठाकुरले मापदण्डमा दन्त चिकित्सकहरुको माग नसमेटिएको भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्रसमेत बुझाइसकिएको बताए । गत वैशाख २८ गतेबाट आफूहरुको कालोपट्टी हातमा बाँधेर शान्तिपूर्ण आन्दोलन सुरु गरिसकेको र सरकारले नजरअन्दाज गरेको खण्डमा देशभरका दन्त चिकित्सकहरु रोडमा आउने तयारी रहेको पनि बताए । उनले स्वास्थ्य मन्त्रालय घोराउ गर्नेसमेत चेतावनी दिए ।

‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले नजरअन्दाज गर्ने हो भने देशव्यापी रुपमा सबै दन्त चिकित्सकहरु रोडमा आएर स्वास्थ्य मन्त्रालयले घेराउ गर्न पनि पछि हट्ने छैनौं । कडा कदम चाल्न हामी बाध्य हुनेछौं,’– उनले भने ।

महासचिव ठाकुरका अनुसार अहिले नेपालका ६ हजारभन्दा बढी दन्त चिकित्सक भए पनि ५०/६० भन्दा बढी सरकारी दरबन्दी छैन । महासचिव ठाकुरले आफूहरुको लागिभन्दा पनि नागरिकहरुले सुविधा पाउन् भन्ने आशयले माग अगाडि सारिएको बताए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   10   =  

Protected by Spam Master