आरोपको भरमा राजीनामा माग्नु अन्यायपूर्ण  

आरोपको भरमा राजीनामा माग्नु अन्यायपूर्ण   

काठमाडौं- अध्यागमन भिजिट भिषा प्रकरणमा मन्त्रालयको राजनीतिक नेतृत्वलाई जोडेर लगाइएको आरोप र त्यसका आधारमा उठाइएको राजनीतिक नेतृत्वको राजीनामा विषयले सामाजिक सञ्जालदेखि  संचार मध्यमामा बहस चुलिएको छ ।

मङ्गलबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत सहसचिव तीर्थराज भट्टराई सहित केही कर्मचारीहरुलाई भिजिट भिसा प्रकरणमा अख्तियारको टोलीले नियन्त्रण लिएसँगै यस घटनमा गृहप्रशासनको उच्च  राजनीतिक नेतृत्वनै संरक्षण रहेको हुन सक्ने अनुमान र तथ्यबिना खबरले जनमानसमा एउटा भ्रम सृजना गरेको छ ।जसको मारमा नैतिक क्षतिमा गृहमन्त्री रमेश लेखक पर्नु भएको छ । 

त्यसो त गृहमन्त्री लेखकले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु भएको छ भने र गृहमन्त्रालयले पनि पटक पटक खण्डन गरिसकेको छ । कर्मचारीमाथि अनुसन्धान हुँदैमा सम्बन्धित मन्त्रालयको राजनीति नेतृत्व माथि नै आरोप लगाउने र दुष्प्रचार गर्ने विषय राजनीतिक प्रेरित मात्र नभइ प्रतिशोधको रुपमा समेत अर्थ्याइएको छ। 

लोकतान्त्रिक संस्कृतिमा कानुन भन्दामाथि कोही हुँदैन तर प्राणबिनाको दबाबले दोषी करार गर्न सकिदैन । हाल अख्तियारले छानविन गरिरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले छानविनको क्रममा आफु दोषी देखिए राजनीतिबाटै सन्यास लिने बताइ सक्नु भएको छ । भिडियो

प्रतिशोधको राजनीति, अनुमानको भरमा आरोप लगाउने  र त्यसलाई मिडियाबाजी गर्ने परिपाटीले  न्यायपूर्ण समाजको परिकल्पना पनि गर्न सकिन्न । जुनसुकै आरोप पनि स्वतन्त्र र निष्पक्ष छानविनबाट पुष्टि नभएसम्म वा दोषी करार नगरेसम्म निर्दोष ठान्ने व्यवस्था हामीले अङ्गालेका छौ ।

 यो यथार्थ हुँदा हुँदै पनि छानविन नुहुँदै कुनै मिडियामा समाचार आएको भरमा र सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर आरोप लगाइ त्यो नै प्रमाण ठान्नु र त्यसैको आधारमा राजीनामा माग्नु कानुनी शासनको उपहास पनि हो ।त्यसो त  प्रतिशोधको राजनीतिमा हरेक राजनीतिक नेतृत्वको कुनै न कुनै आरोपले जेलिएको हुन्छ । यदि आरोप लगाउने मात्रै प्रमाण मान्ने हो भने कोही पनि सुरक्षित हुँदैन। न त नेता  न त नागरिक नै । 

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल उच्च राजनीतिक नेतृत्वको राजीनामाको विषय सामाजिक सञ्जालमा आएका सामाग्री र मिडियामा प्रकाशित समाचारको दवाव नभइ विवेकमा भरपर्ने बताउनु हुन्छ । ”सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र समाचारको दबाबले राजीनामा दिनुपर्छ भन्ने होइन । राजीनामाको विषय दवाव प्रभाव भन्दा नैतिकता र विवेकको विषय हो” पोखरेलले भन्नु हुन्छ ।

छानबिनका लागि अभिलेख उपलब्ध गराउन र समन्वय गर्न मन्त्रालय तयार छ: गृह मन्त्रालय 

भिजिट भिसा प्रकरणको विषयमा मन्त्रालयको उच्च नेतृत्वलाई जोडेर समाचारहरू आइरहँदा यस विषयमा गृहमन्त्रालय शनिवार नै विज्ञप्ति मार्फत नै स्पष्ट पारेको छ । कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।” ,” गृहको विज्ञप्तिमा भनिएको छ,

”विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं। साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सवैमा अनुरोध गर्दछौं। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी आज मात्र मन्त्रालयले यसबारे सञ्चारमाध्यममा आएका खबरहरू कुनै पुष्टि नभएको थप स्पष्ट पारेको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले  हाल विभिन्न सञ्चारमाध्यममा आएको सूचना तथ्यमा आधारित नरहेको स्पष्ट पार्नुभयो । यस बारे मन्त्रालयले कुनै पनि आधिकारिक पुष्टि गरिनसकेको बताउनुभयो । रिजालले अनुसन्धानको विषयको कुरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको यस प्रकरणमा मन्त्रालयले आवश्यक अभिलेख उपलब्ध गराउने र आवश्यक समन्वय गर्न तयार रहेको समेत बताउनुभयो । 

आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिबाट राजीनामा दिन्छु : गृह मन्त्री लेखक  

गृहमन्त्री गृहमन्त्री लेखकले समेत यस विषयमा थप खण्डन गर्नु भएको छ। गृहमन्त्रीको सचिवालयले राखेको भिडियोमा गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक र नियोजित रुपले षडयन्त्रमूलक ढंगले झुटा प्रचारबाजी भइरहेको दाबी गर्नु भएको छ । 

भिडियोका लागि….. 

“गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौँलाख कर्मचारीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्षम निकायले कुनैबेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,” गृहमन्त्री लेखकको भनाई छ, “कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? । आजसम्म त्यस्तो भाको छ ?” गृहमन्त्रीको प्रश्न छ । गृहमन्त्री लेखकले भिडियोमा भिजिट भिसाको विषय मात्रै नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू राजनीतिबाट सन्यास लिने घोषणा समेत गर्नु भएको छ । यस विषयमा आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय मागेको जानकारी पनि भिडियोमा गृहमन्त्री लेखकले बताउनु भएको छ ।

कर्मचारी प्रकाउ हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने होइन: सरकारका प्रवक्ता गुरुङ् 

प्रकरणबारे छानविन भइरहेको छ यसै बीच सरकारका प्रवक्ता एवम सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताउनु भएको छ ।

FILE PHOTO

एमाले सचिवालय बैठकअघि सञ्चारकर्मीहरुको जिज्ञासामा सरकारका प्रवक्ता गुरुङ्गले कर्मचारी पक्राउ पर्दैमा मन्त्रीले राजीनामा दिनु नपर्ने बताउनु भएको हो । ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो र ?’ गुरुङ्गले भन्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणबारे छानबिन भइरहेको पनि उहाँले जानकारी दिनु भयो । 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *