कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै नगद ५१ हजार एक सय ५१ र सम्मान पत्र प्राप्त गरे । उनले प्रतियोगितामा दुई सय २६ अङ्क प्राप्त गरे ।
यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै नगद ४१ हजार एक सय ४१ र सम्मान पत्र, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै नगद ३१ हजार एक सय ३१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे । पौडेलले दुई सय २५ र कार्कीले दुई सय १२ अङ्क प्राप्त गरेका थिए ।
यसै गरी कुस्मा पर्वतस्थित नमुना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रितिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै नगद २१ हजार एक सय २१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।
प्रतियोगितामा चार जना प्रतियोगितालाई उत्प्रेरण स्वरूप पुरस्कार प्रदान गरिएको थियो । यसरी उत्प्रेरण पुरस्कार पाउनेमा बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङ रहेका छन् । उनीहरुले जनही १० हजार र सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत विद्यार्थीलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।
जेठ ११ देखि सुरु भएको प्रतियोगिता १४ गते सम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट १ सय भन्दा बढीले नाम दर्ता गराए पनि ८० जना बिच प्रतिस्पर्धा भएको प्रतियोगिताका संयोजक संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगीहरूले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताको संयोजक तथा निर्णायकमा संस्कृतिविद् डा. तुलसी प्रभास, निर्णायकमा महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यौपाने रहेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विशाल भण्डारी, सुवास पौडेल र समीर कार्कीले हाम्रो संस्कृति र पहिचानलाई जीवन्त राखी पुस्तान्तरण गर्न काम कोटिहोमले गरेको बताए ।
यसै गरी कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता पनि समापन भएको प्रतियोगिता संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको नतिजा घोषणा सँगै पुरस्कार वितरण जेठ २० गते हुने छ ।
महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटीहोममा देशभरबाट भक्तजन आउने क्रम जारी छ । कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिचेकोले पनि सार्वजनिक यातायातका साधन बन्द हुँदा पनि भक्तजनको सहभागिता भने नघटेको ढकालले जानकारी दिए। कोटिहोममा आज र्चिर्चत लोक दोहोरी गायक विमलराज क्षेत्रीको भजन प्रस्तुति रहने छ ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।
कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मंगल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, मांगलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।
साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







