खुला अर्थतन्त्र भएको देशमा सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ ।
काँग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउँदै यसले चोरी तस्करी नियन्त्रण हुने धारणा व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा उहाँले नेपाल अहिले जलवायु परिवर्तनको असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको बताउँदै यस्तो प्रभावबाट जोगाउन नेपालको प्रयाससँगै विश्वको सहयोगको आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको प्राथमिकतामा आर्थिक सुधार, सुशासन, लगानी अभिवृद्धि र संविधान संशोधनको विषय रहेको बताउनुभयो ।
उहाँले कांग्रेसले जनजिविकाका सवालमा छलफल तथा वकालत गर्नका लागि विभिन्न विभागमार्फत काम गरिरहेको जानकारी गराउँदै पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका विषयका साथै उपभोक्ताको अधिकारको छनोट पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आपूर्ति शङ्खलाका कुनै पनि चरणमा समस्या भएमा उपभोक्ता मारमा पर्ने बताउँदै त्यसको सम्बोधनका लागि सरकार लागिपरेको बताउनुभयो । साथै उहाँले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँग उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गर्नुभयो ।
कृषि तथा पशुपन्छीमन्त्री एवं कांग्रेस नेता रामनाथ अधिकारीले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा आधारित रहेको परिवेशमा सरकारले कृषिमा परिवर्तनका लागि बजेटमा सुधारका थुप्र्रै कार्यक्रम ल्याएको जानकारी गराउँदै आफ्नो मन्त्रालयले बजेट कार्यान्वयन ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राजनीतिक दलहरूले राजनीतिमात्र होइन जनजिविकाका सवालमा एकमतका साथ काम गरेमा मात्र मुलुक समृद्ध हुने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रमेशजङ्ग रायमाझी, अलिन रुङ्गटा, दिनेश कोइराला, पार्टीको उपभोक्ता विभागका संयोजक एवं केन्द्रीय सदस्य गुरु बराल, पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल सरकारका पूर्वसचिव केवल भण्डारीलगायतले बजेटले उपभोक्ता आपूर्ति शृङ्खलामा पार्ने प्रभाव र उपभोक्ताका हकहितका विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ चैत्र ९, सोमबार २०:२६तयार भए संसदीय दलका कार्यालयहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ९, सोमबार १८:५८चलचित्र ‘बा : एक योद्धा’ को छायांकन प्रारम्भ
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ९, सोमबार १८:५३चलचित्र विकास बोर्डमा एआई फिल्ममेकिङ र ड्रोन तालिम सुरु, १७६ जना सहभागी








