नेपाल–भारत मैत्री केन्द्रद्वारा लुम्बिनीका १०१ जना छात्रालाई साइकल वितरण

रूपन्देही- नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समिति, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसईई उत्तीर्ण १ सय १ छात्रालाई साइकल वितरण गरेको छ । मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार लुम्बिनीमा एसईई उत्तीर्ण छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले छात्रा विद्यार्थीलाई प्रोत्सहन गर्न साइकल उपलब्ध गराइएको जानकारी दिनुभयो । ‘सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन र उच्च शिक्षा अध्ययनका लागि विद्यालयसम्म पुग्न सहज होस् भने साइकल उपहार दिएका हौं’, अग्रवालले भन्नुभयो ।
उहाँले आगामी दिनमा पनि मैत्री केन्द्रले यस्ता सामाजिक कामलाई निरन्तरता दिने जनाउनु भयो । नगरपालिकाका अनुसार २०८१ को एसईईमा पालिकाबाट १ सय ९४ जना छात्राले एसईई उत्तीर्ण गरेका थिए । तीमध्ये आवश्यकता पहिचान गरेर १ सय १ जनालाई साइकल वितरण गरिएको अध्यक्ष अग्रवालले बताउनु भयो ।
लुम्बिनीमा आयोजित छात्रा विद्यार्थीलाई साइकल वितरण समारोहमा बोल्दै पूर्वअर्थ राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सरकारी विद्यालयका छात्रा विद्यार्थीहरुलाई प्रोत्साहन हुनेगरी मैत्री केन्द्रले साइकल वितरण गरेर विद्यार्थीलाई ऊर्जा प्रदान गरेको जनाउनु भयो । उहाँले साइकल वितरणले नेपाल–भारतको मैत्री सम्बन्धलाई ताजा तुल्याएको जनाउनुभयो।
विद्यार्थीहरुलाई हामी गाउँका, हामी फलाना जातका, सरकारी विद्यालयमा पढेका भनेर आफैंलाई निरुत्साहित नगर्न उनले आग्रह गरर्नुभयो। ‘संसारमा जसले मिहिनत गर्छ उहीँ अगाडि बढ्छ,’ उहाँले भन्नभयो, ‘जात, धर्मले नभइ शिक्षा, इमान्दारीता र मिहिनतले मानिस ठूलो हुने भएकाले पढाइमा केन्द्रित हुनुस् ।’ ग्रामीण क्षेत्रका बालबालिकालाई अगाडि बढाउन साइकल वितरणसँगै छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिनुपर्ने शाहले जोड दिनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले साइकल वितरण गरेर मैत्री केन्द्रले छोरीहरुलाई पढ्न प्रेरित गरेको बताउनुभयो। साइकल वितरण सानो मायाको चिनो जस्तो भए पनि यसले नेपाल–भारतबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने उहाँले बताउनु भयो । उहाँले धेरैजसो दाताहरु सुविधा रहेकै क्षेत्रमा केन्द्रित हुने गरेको उल्लेख गर्दै जहाँ अभाव छ, त्यहीँ सहयोगका कार्यक्रम गर्न अनुरोध गर्नुभयो।
सिद्वार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अभिभावकको दायित्व छोरीको पखेटा काट्ने नभई उनीहरूका लागि गोरेटो कोर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। शिक्षा नै छोरीहरुका लागि लक्ष्य प्राप्तिका गर्ने हतियार भएकाले पढाइमा केन्द्रित हुन उहाँको आग्रह गर्नुभयो। छोरीको इच्छा बुझेर शिक्षामा लगानी गर्न अधिकारीले अनुरोध गर्नुभयो।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले उत्कृष्ट नतिजासहित उत्तीर्ण छात्राका लागि साइकल वितरण गरिएकोमा केन्द्रलाई धन्यवाद दिनुभयो। उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई पालिकाले पनि पुरस्कार र प्रोत्साहनका कार्यक्रम गरिरहेका जनाउँदै आउँदा दिन पालिकासँग हातेमालो गर्न केन्द्रलाई आग्रह गर्नुभयो। जीवनमा सफलता प्राप्त गर्न उच्च शिक्षा जरुरी रहेकाले त्यसका लागि साइकल वितरणले प्रेरणा प्रदान गरेको ज्ञवालीको भनाई छ ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नेपाल–भारत भूतपूर्व गोर्खा सैनिक परिवारका अध्यक्ष रेशम केसी, मैत्री केन्द्रका उपाध्यक्ष उमापति न्यौपाने, मैत्री केन्द्रका सचिव प्रशान्तविक्रम मल्लले छात्राहरुको शिक्षालाई यस्ता सहयोगले थप प्रेरित गर्ने जनाउनुभयो । उहाँहरुले मैत्री केन्द्रले मैत्रीभाव राखेर विद्यार्थीहरुलाई साइकल उपहार दिएको जनाउँदै आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाउनुभयो ।
कार्यक्रममा साइकल उपहार पाएका छात्रा विद्यार्थी, उनीहरुका परिवार, जनप्रतिनिधि, स्थानीय अगुवाहरुले यस्ता प्रोत्साहनका कार्यक्रमले छात्राहरुलाईलाई उच्च शिक्षा हासिल गर्न र व्यक्तित्व बिकासमा सकारात्मक सहयोग पुर्याउने जनाउनुभयो। उहाँहरुले मैत्री केन्द्रले सह्रानीय कार्य गरेको भन्दै सहयोग र सहकार्यलाई निरन्तर गर्न आग्रह गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ११, बुधबार १८:५२सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
समाचार२०८२ चैत्र ११, बुधबार १६:१३जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र ११, बुधबार ०९:३०कीर्तिपुरमा ६८ काग मृत फेला, बर्डफ्लु संक्रमण पुष्टि
खेलकुद२०८२ चैत्र ११, बुधबार ०८:३५साम्बाले न्युजिल्यान्डमै गरिन् घुँडाको शल्यक्रिया, यस्तो छ कतार नजानुको कारण







