सहयोगका पर्खाइमा कलाकार निर्मोही « रिपोर्टर्स नेपाल

राँझा (बाँके), ५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ ।
तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहेका छन् । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी लामो समयदेखि नेपालगञ्ज–१० स्थित आफ्नै घरको ओछ्यानमा सीमित छन् ।
कुनैबेला रेडियो कार्यक्रम सञ्चालन गर्दा जोसिलो आवाजले सबैलाई मोहित पार्ने निर्मोही अहिले धेरैबेर बोल्दा बोली पनि लर्वराउँछ । स्वर अहिले पीडाले भरिएको छ । शरीर कमजोर भइसकेको छ । हिँडडुल गर्न सक्नुहुँदैन । रेडियो नेपाल र नेपालगञ्जस्थित रेडियो बागेश्वरीसहित अन्य एफएमहरुमा उनले लामो समय काम गरे ।
निर्मोहीले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गरे । स्रोताको मन छुने लोकगीत गाएर स्थानीय कलाकारलाई पनि मञ्चमा ल्याउन सहयोग गरे । उनका गीतहरु पश्चिम नेपालको गाउँघरमा आज पनि गुञ्जिन्छन् । उच्च रक्तचाप र सुगरले सताउँदै जाँदा, पछि मिर्गौलाले काम गर्न छोडेको उनले जानकारी दिए ।
“विगत छ महिनादेखि उपचारमै छु, तर आर्थिक अभावले उपचार निरन्तरता दिन सकिरहेका छैन”, कलाकार निर्मोहीले भने, “जीवनभर म बोलिरहेँ, अब सबै मौन छन्, मलाई सबैको माया चाहियो, जीवनका यी अन्तिम क्षणमा उपचारका लागि सहयोगको हात बढोस् ।”
उनको परिवारले सम्भव सबै प्रयास ग¥यो, तर अब खर्च धान्नसक्ने स्थिति छैन । नेपालगञ्जस्थित भेरी अस्पतालमा हप्तामा दुई पटक उनले डायलाइसिस गर्दै आएका छन् । कलाकार निर्मोहीले आफ्ना साथी, शुभेच्छुक र देशभरका कलाकार, स्रोता र दाताहरुसँग सहयोगको आग्रह गरे ।
दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही हाल नेपालगञ्जमा बस्दै आएका छन् । कलाकार निर्मोहीको योगदानको कदर गर्दै निर्मोहीलाई सम्झने वातावरण बनाउनेदेखि उपचारमा सहयोग जुटाउने प्रयासमा आफूहरु लागिपरेको स्थानीय बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाहले बताए ।
निर्मोहीलाई सहयोगार्थ ‘तिहारका रङहरु’
मिर्गौला रोगबाट पीडित कलाकार कमल विके निर्मोहीको सहयोगार्थ नेपालगञ्जमा ‘तिहारका रङ्गहरु’ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
बागेश्वरी असल शासन क्लबको आयोजनामा उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले तिहारका मौलिक संस्कृति र मान्यतालाई प्रवद्र्धन गर्दै गएराति ‘तिहारका रङहरु’कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सामूहिक देउसी, भैलो, सांस्कृतिक प्रस्तुति, नृत्य, नाटकलगायत प्रस्तुतिहरु गरिएको थियो । स्थानीय फरकफरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको उक्त कार्यक्रममा अस्वस्थ अवस्थामै पुगेका कलाकार निर्मोहीले सहयोगी हातहरु अघि बढेको देख्दा खुसी लागेको बताए ।
कार्यक्रममा गायक सुनीलसिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाईं, कलाकार श्यामानन्द सिंह, जितबहादुर थापा, सन्तोष सोतीमगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनरअप सुरज सिञ्जालीमगर, डान्सर रुविना अधिकारी, मौसमी रानामगर, आरुसी मगर र एक्टिङ स्टार नवीना रानाभाटलगायतको प्रस्तुति रहेको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा








