जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

कैलाली, १७ कात्तिक । यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।

गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर” भनेर सम्बोधन गर्छन् । तर उनी न त डाक्टर न वैद्य नै हुन । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् ।

हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउन्छन । छामेरै भन्छन, “यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।” त्यसपछि उपचार सुरु गर्छन्। आजसम्म कति बिरामी निको पारे भन्ने यकिन तथ्याङ्क छैन । 

त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका होइन । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य रहेका थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे। त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे। अहिले त्यही सीप उनको परिचय बनेको हो ।

४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् ।

कठरियाको उपचार शैली पनि सरल छ । उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउन्छन । उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन् । उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उनले उपचारको शुल्क निर्धारण गरेका छैनन । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उनले धन्यवादसहित ग्रहण गर्ने गरेका छन।

भजनीका भागिलाल चौधरीले आफ्नो अनुभव सुनाउँदै भने, “मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।” हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उहाँकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् ।

उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन । कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउन्छन । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउन्छन । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । “मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,” उनले भने, “उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो ।”

उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहान्छन । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उनले भने “अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।” रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   9   =  

Protected by Spam Master