अझै रोकिएन असुरक्षित गर्भपतन :आफूखुसी औषधि नखाऔँ

-डम्मर बुढा
ढोरपाटन (बागलुङ), १७ कात्तिक । बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७ जना २० वर्ष मुनिका रहेका बताइएको छ । आव २०८०/८१ मा एक हजार १५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।
अर्कोतर्फ अझै पनि ‘लाज र डर’का कारण औषधि मार्फत् ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गराउने कायम रहेको छ । यस्ता सेवा लिनेमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला समेत छन् । जिल्लाका १० स्थानीय तहका २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने गर्दछन् । ती मध्ये बागलुङमा ३ , गलकोटमा चार , जैमिनीमा दुई , ढोरपाटनमा तीन , काठेखोलामा ७ , निसीखोलाा दुई , तमानखोलामा एक , ताराखोलामा दुई , बडिगाडामा एक र बरेङको एउटा स्वास्थ्य संस्था छन् । असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण सेवाग्राहीले सूचिकृत स्वास्थ्य सस्थाबाट गर्भपतन सेवा लिने जनाइएको छ ।
कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले चालु आर्थिक वर्षको तीन महिनामा १७२ जनाले सूचिकृत स्वास्थ्य सस्था मार्फत् गर्भपतन सेवा लिएको जानकारी दिए । उनका अनुसार जसमा २० वर्ष मुनिका छ जना रहेका छन् ।
सूचिकृत स्वास्थ्य संस्थामा भन्दा अन्यत्र गर्भपतन सेवा लिने जिल्लामा कायमै रहेको जनाइएको छ । सूचना घिमिरेले भने, “कतिपयले आफ्नो स्वास्थ्य नै जोखिममा पर्ने गरी असुरक्षित गर्भपतन गराउने गरेको छन् । धेरै समस्या भएपछि सूचिकृत स्वास्थ्य सस्थामा आउने सेवाग्राही समेत हुन्छन् ।”
बुर्तिबाङ अस्पतालकी नर्सिङ अधिकृत निरीक्षक पार्वती अर्यालले सूचिकृत स्वास्थ्य सस्थामा दोहोरिएर गर्भपतन सेवा लिन आउनेको पनि सङ्ख्यामा बृद्धि भइरहेको जानकारी दिए । उनका अनुसार पछिल्ला समय परिवार व्यवस्थापनका लागि स्थायी तथा अस्थायी साधन प्रयोग नगर्दा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या मा बृद्धि भएको हो । अस्पतालमा अविवाहित किशोरी पनि गर्भपतन सेवाका लागि अस्पतालमा आउने गरेको जनाइएको छ ।
“उमेर पुगेका महिलादेखि अविवाहित किशोरी र अन्य महिला पनि गर्भपतन सेवा लिन आउनुहुन्छ, अशिक्षा र असाबधानीका कारण गर्भपतन गराउनुपर्ने बाध्यतामा उनीहरु हुन्छन्” उनले भने “असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्यामा अहिले केही कमी आएको छ, तर अस्पताल बाहिर असुरक्षित रुपमा गर्भपतन गराउनेहरु पनि हुन्छन्, लाज र डरले गर्दा उनीहरु अस्पताल आउँदैनन्, औषधि खाएर गर्भपतन गराउँदछन् ।”
औषधि पसलमा जथाभावि पाइने गर्भपतनका अनाधिकृत औषधि उपयोग गर्दा महिलाको ज्यान समेत जोखिममा पर्ने गरेको छ । औषधि व्यवस्था विभागले सूचीकृत गरेका औषधि पसलमा मात्र गर्भपतनका औषधि बिक्री गर्न पाइन्छ । तर अनाधिकृत औषधि पसलमा यस्ता औषधि बिक्री वितरण नरोकिएको बताइएको छ ।
पटक पटक गर्भपतन गराउँदा स्वास्थ्यमा समस्या
बजारमा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि प्रयोग गर्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा असर पार्ने धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख डा किरण तिवारीले जानकारी दिए । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउने जनाउँदै यसले स्वास्थ्यमा गम्भीर असर पु¥याउने उनको भनाइ छ ।
असुरक्षित गर्भपतन गराउँदा अधिक रक्तस्राब भएर ज्यानसमेत जान सक्ने चिकित्सक बताउँदछन् । पटक पटक गर्भपतन हुँदा महिलाको शरीरमा रगतको कमी हुने र विभिन्न सङ्क्रमण हुनसक्ने जनाउँदै उनी पछि चाँहदा चाँहदै पनि गर्भ नरहे समस्या आउने उनस् बताउँछन् । प्रमुख डा तिवारी गर्भपतन गराउनुभन्दा परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोग गर्नु उत्तम विकल्प रहेको सुझाव दिन्छन् ।
“गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपत्कालीन अवस्थामा मात्रै गर्नुपर्छ, परिवार व्यवस्थापनको साधन प्रयोग गर्नुनै राम्रो हुन्छ, यत्ति सजकता अपनाइयो भने समस्या हुँदैन” प्रमुख डा तिवारीले भने “धेरै पटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भवना हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ ।”
उनले पछिल्लो समय बजारमा जथाभावी रुपमा गर्भपतन गराउने विभिन्न औषधि पाइने र महिलाले आफूखुसी खाने गर्ने गरेको बताए । आफूखुसी गर्भपतनको औषधि खान नहुने जनाउँदै गर्भपतन गराउनै परे सूचिकृत स्वास्थ्य सस्थामा दक्ष स्वास्थ्यकर्मीको सुझाव लिएर मात्रै गर्नुपर्ने प्रमुख डा तिवारी बताउँछन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई








