‘एक्लो’ मार्फत ठूलो पर्दामा कविता नेपाली, अभिनेत्रीको नयाँ परिचय थपिँदै

काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै चर्चामा आएकी कविता नेपालीको पहिचान पछिल्ला वर्षहरूमा निरन्तर फराकिलो बन्दै गएको छ। नृत्याङ्गनाका रूपमा स्थापित कविता विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै हिमाल आरोहीको परिचय बनाउन सफल भइन् भने विभिन्न रियालिटी शोमा निर्णायकको भूमिकामा पनि देखिइसकेकी छन्। अब उनको परिचयमा अर्को महत्वपूर्ण फुर्को थपिँदैछ अभिनेत्रीको।
नेपालकै पहिलो साइन्स फिक्सन भनिएको चलचित्र ‘एक्लो’ मार्फत कविता नेपाली ठूलो पर्दामा डेब्यु गर्दैछिन्। हाल चलचित्रको प्रचार–प्रसारमा व्यस्त रहेकी कविता आफ्नो पहिलो सिनेमालाई लिएर निकै उत्साहित देखिन्छिन्। उनका अनुसार म्युजिक भिडियोको प्रमोसनभन्दा चलचित्रको प्रमोसन निकै फरक र व्यापक हुन्छ। “मिडियामा अन्तर्वार्ताका क्रममा चलचित्रभन्दा बढी व्यक्तिगत कुरा हुँदा अलिक मजा नआउने रहेछ,” उनले अनुभव सुनाइन्।

कविताको विश्वासमा चलचित्र ‘एक्लो’ नेपाली दर्शकका लागि नयाँ स्वाद पस्कने फरक धारको साइन्स फिक्सन फिल्म हो। “विश्वभर यस प्रकारका फिल्म हेर्ने दर्शक छन्। त्यस्ता दर्शकलाई ‘एक्लो’ले अझै मजा दिनेछ,” उनी भन्छिन्। पुस १७ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा कविता ‘एरियल’ नामक कमान्डोको शक्तिशाली भूमिकामा देखिँदैछिन्। आफूलाई ‘एक्सिडेन्टल एक्टर’ भन्न रुचाउने कविता अब भने अभिनेत्रीको परिचयलाई नै अगाडि बढाउन चाहन्छिन्।
फिल्म निर्देशक प्रदीप शाहीसँग सुरुवातमा एउटा सानो एक्सन दृश्यका लागि मात्र कुरा भएको थियो। तर कविताले पठाएको अडिसन क्लिपमा देखिएको अभिनय र एक्सन एक्सप्रेसनबाट प्रभावित हुँदै निर्देशकले उनको भूमिका विस्तार गरी मुख्य पात्र बनाइदिएका हुन्। “पहिलो फिल्म फ्लप भयो भने करिअर सकिन्छ भन्ने कुरा सुन्दा डर लाग्छ,” कविता भन्छिन्, “फिल्मले कस्तो व्यापार गर्छ, कति दर्शक आउँछन् भन्ने विषयमा अलिक कन्फ्युजन पनि छ।”
फिल्मको मेकिङ र टेक्निकल पक्ष निकै बलियो रहेको बताउँदै उनले दर्शकले मन पराउने अपेक्षा गरेकी छन्। छायांकनका क्रममा मुस्ताङको पाँच हजार मिटरभन्दा माथिको उचाइमा एक्सन दृश्य खिच्नु निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ। “त्यस्तो उचाइमा रातभर सुटिङ गर्दा लेक लाग्ने रहेछ,” उनी भन्छिन्, “तर खेलाडी ब्याकग्राउन्ड भएकाले कठिन परिस्थितिलाई सहज बनाउन मद्दत मिल्यो।”
सबै किसिमका भूमिकामा काम गर्ने चाहना राखेकी कविता नेपाली स्क्रिप्ट पढ्दादेखि नै ‘एक्लो’प्रति आकर्षित भएको बताउँछिन्। “स्क्रिप्ट अनुसार नै फिल्म बनेको छ,” उनी भन्छिन्, “सिनेमा हेर्न निकै एक्साइटेड छु, अलिक डर पनि छ।” अब आफूलाई नृत्याङ्गना मात्र नभई अभिनेत्रीको रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘एक्लो-१’ मा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ। साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा









