हरियो खर्क अस्पतालको नमूना काम: कुष्ठरोग बिरामीलाई आत्मनिर्भर बनाउँदै समाजमा पुनःस्थापना

हरियो खर्क अस्पतालको नमूना काम: कुष्ठरोग बिरामीलाई आत्मनिर्भर बनाउँदै समाजमा पुनःस्थापना

पोखरा । गण्डकी प्रदेशको पोखरामा अवस्थित हरियो खर्क अस्पताल (Green Pastures Hospital) ले कुष्ठरोग (लेप्रोसी) को उपचारमा मात्र सीमित नभई प्रभावितहरूको पुनःस्थापना र सामाजिक सम्मानका लागि उदाहरणीय काम गर्दै आएको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘आईएनएफ नेपाल’ (INF Nepal) द्वारा सञ्चालित यो अस्पतालले कुष्ठरोग प्रभावितहरूको शारीरिक उपचारका साथै उनीहरूको आत्मबल बढाउन र समाजमा पुनःस्थापना गराउन विशेष सेवा प्रदान गरिरहेको छ।

अस्पतालले कुष्ठरोगको प्रारम्भिक पहिचान, औषधि उपचार, र जटिल अवस्थाका बिरामीहरूको शल्यक्रिया तथा बाह्य उपचार सेवा निरन्तर उपलब्ध गराउँदै आएको छ। यसका अतिरिक्त, रोगका कारण शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई फिजियोथेरापी, अकुपेशनल थेरापी र कृत्रिम अङ्गको सहायताले दैनिक जीवनयापन सहज बनाउन अस्पतालले महत्वपूर्ण भूमिका खेलिरहेको छ।

कुष्ठरोग प्रभावितहरूलाई समाजमा स्थापित गराउन र विभेद अन्त्य गर्न अस्पतालले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम र स्वास्थ्यकर्मी तालिम सञ्चालन गर्दै आएको छ। अस्पतालकी लेप्रोसी प्रोग्राम असिस्टेन्ट (कन्मुनिटी) गीता गौतम शर्माका अनुसार, दीर्घकालीन उपचार र पुनःस्थापनामार्फत बिरामीहरूलाई आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने लक्ष्य राखिएको छ।

उपचारका क्रममा बिरामीहरूलाई ‘सेल्फ कुकिङ’ (आफैँ खाना पकाउने) र ‘सेल्फ फार्मिङ’ (खेती गर्ने) जस्ता सीपहरू सिकाइन्छ। यद्यपि, यो प्रक्रियामा विशेष सावधानी अपनाइने गरिन्छ। शर्माले भन्नुभयो, “कुष्ठरोगका कारण हातखुट्टा लाटो हुने भएकाले तातोले पोलेको वा घाउ भएको बिरामीलाई थाहा नहुन सक्छ। त्यसैले नर्सिङ स्टाफको प्रत्यक्ष निगरानीमा मात्र उहाँहरूलाई सेल्फ कुकिङको अभ्यास गराइन्छ, ताकि औँला जल्ने वा घाउ हुने जोखिम नहोस्।”

कुष्ठरोग प्रभावितहरूका लागि नियमित सरसफाइ र हेरचाह (Self Care) अत्यन्त संवेदनशील हुन्छ। यसका लागि अस्पतालले ‘SSO’ (Soaking, Scraping, Oiling – भिजाउने, सफा गर्ने र तेल लगाउने) विधि अपनाउने गरेको छ।

बिरामीहरूको हातखुट्टा कमजोर वा लाटो हुने र छाला फुट्ने समस्या हुने भएकाले पानीमा भिजाउँदा छाला नरम हुने शर्माले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “खुट्टा भिजाउँदा छाला नरम हुन्छ, जसले गर्दा फुट्ने समस्या कम हुन्छ। साथै, लाटो खुट्टामा काँडा बिझेको वा अन्य घाउचोट लागेको छ भने भिजाउने क्रममा थाहा पाउन सजिलो हुन्छ। त्यसैले बिरामीका लागि सेल्फ केयर उपचार जत्तिकै महत्त्वपूर्ण छ।”

शारीरिक उपचारसँगै बिरामीहरूको मानसिक स्वास्थ्यलाई पनि अस्पतालले प्राथमिकतामा राखेको छ। रोग लाग्दा समाजबाट अपहेलित हुनुपर्ने डर, आत्मविश्वासको कमी र मानसिक तनाव कम गर्न अस्पतालले व्यक्तिगत तथा पारिवारिक परामर्श (Counseling) सेवा प्रदान गर्दै आएको छ।

अस्पतालका काउन्सिलर थम बहादुर गुरुङका अनुसार, कुष्ठरोग समयमै उपचार गरे पूर्ण रूपमा निको हुने र अपाङ्गताबाट जोगिन सकिने रोग हो। उहाँले भन्नुभयो, “समाजले कुष्ठरोग प्रभावितलाई विभेद होइन, सहयोग र हौसला दिनुपर्छ। हामीले बिरामी र उहाँका परिवारलाई काउन्सिलिङ मार्फत रोगप्रतिको भ्रम हटाई आत्मबल बढाउने काम गरिरहेका छौँ।”

आईएनएफ नेपाल अन्तर्गतको हरियो खर्क अस्पतालले उपचार, परामर्श र जीविकोपार्जन सहयोगलाई एकीकृत रूपमा अघि बढाउँदै आएको छ। सकारात्मक सोच, समयमै उपचार र सामुदायिक सहकार्यले मात्र कुष्ठरोगमुक्त र विभेद रहित समाज निर्माण सम्भव हुने सन्देश अस्पतालले प्रवाह गरिरहेको अस्पतालकी लेप्रोसी प्रोग्राम असिस्टेन्ट (कन्मुनिटी) गीता गौतम शर्माले जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =  

Protected by Spam Master