‘ऊनको स्वीटर’ र ‘जार’ आजदेखि देशभर प्रदर्शन, नेपाली सिनेमामा फरक स्वाद

‘ऊनको स्वीटर’ र ‘जार’ आजदेखि देशभर प्रदर्शन, नेपाली सिनेमामा फरक स्वाद

काठमाडौं। नेपाली सिनेमाप्रेमीका लागि आजदेखि दुई फरक स्वादका चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’ देशभर प्रदर्शनमा आएका छन्। सामाजिक यथार्थदेखि ऐतिहासिक कथासम्मको चित्रण गर्ने यी दुई फिल्मले नेपाली सिनेमामा विविधता थप्ने अपेक्षा गरिएको छ।

नवीन चौहानको निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथरमा छायांकन गरिएको सामाजिक कथानक चलचित्र हो। विपिन कार्कीले लजालु युवक धरणीधर काफ्लेको भूमिका निर्वाह गरेका छन्। मिरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस , सुनिल पोखरेल र परीक्षा लिम्बूको अभिनयले फिल्मलाई थप सशक्त बनाएको छ।

बुधबार काठमाडौंको बिग मुभिजमा गरिएको प्रिमियरमा नेतादेखि कलाकारसम्मले चलचित्रको तारिफ गरेका थिए। २ घण्टा २७ मिनेट लामो यो चलचित्र युनिभर्सल सर्टिफिकेटसहित प्रदर्शनमा आएको हो। अग्रिम टिकट बिक्री र शो संख्या दुवै उत्साहजनक देखिएको छ।

फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र हो। अनुपविक्रम शाही, सौगात मल्ल र भारतीय अभिनेत्री गीताञ्जली थापाको अभिनय रहेको यो चलचित्र २२५ वर्षअघिको गोर्खाली समाजको कथामा आधारित छ।

ललितपुरको लबिम मल र सिक्किमको गान्तोकमा गरिएको प्रिमियरमा फिल्मको कथा, प्रस्तुति र प्रविधिको प्रशंसा गरिएको थियो। तर, केही हलहरूमा सीमित शो पाएको गुनासो सामाजिक सञ्जालमा देखिएको छ, जसले व्यापारमा असर पार्न सक्ने अनुमान गरिएको छ।

‘ऊनको स्वीटर’ ले नेपाली ग्रामीण जीवनशैली, संस्कृति र संवेदनालाई पर्दामा उतारेको छ भने ‘जार’ ले इतिहास र साहित्यको समिश्रणमार्फत गहिरो कथावस्तु पस्किएको छ। दुवै चलचित्र नेपाली सिने क्षेत्रको फरक स्वाद दर्शकसमक्ष ल्याउने प्रयास हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   1   =  

Protected by Spam Master